विराटनगर । मोरङको लेटाङ नगरपालिका ३ स्थित श्री आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म कपडाको दराज बनाएर कक्षा कोठाको कुनामा विद्यार्थीका लागि विभिन्न रङ्गिचङ्गी किताबहरु राखिएका छन् ।
मोरङको केराबारी गाउँपालिका ३ स्थित कुवापानी आधारभूत बिद्यालयमा कक्षा १ देखि ३ सम्म कक्षा कोठाको कुनामा काठको आर्कषक दराज बनाएर विद्यार्थीका लागि विभिन्न रङ्गिचङ्गी अतिरिक्त किताबहरु राखिएको छ ।
कक्षा कोठाको कुनामा राखिएका किताबहरुले गर्दा कक्षामा पढाउने शिक्षक नभएको बेला बिद्यार्थीहरु ती किताबहरु चलाउने गर्दछन् । कोही पाना पल्टाउदै पढ्ने कोशिस गर्छन् भने कोही त्यहाँ भएको चित्र जस्तै आफनो कापीमा उतार्न खोज्छन् । कोही साथीहरुको समूह बनाएर किताबमा जस्तै खेल खेल्न रुचाउँछन् ।
केराबारी र लेटाङमा मात्र नभएर मोरङको १६ वटा पालिकाहरुमा रहेका बिद्यालयहरुमा कक्षा १ देखि ३ सम्म कक्षा कोठामा ‘बुक कर्नर’ किताब कुना स्थापना गर्नेक्रम बढेको. छ । तर, दाताको सहयोगमा सञ्चालन भैरहेको परियोजनाको सहयोगमा बिद्यालयहरुले ‘बुक कर्नर’ स्थापना गराउन थालेपनि ‘बुक कर्नर’ का लागि सरकारले दिएको सशर्त अनुदान भने सदुपयोग गर्ने गरेका छैनन् ।
शिक्षकहरुका अनुसार कक्षा कोठामा ‘बुक कर्नर’ स्थापना भएपछि बिद्यार्थीहरुमा सिकाइप्रति रुचि पनि बढदै गएको छ । आधारभूत विद्यालय लेटाङकी प्रधानाध्यापक धनकुमारी लिङ्खा किताबको कुना राखेपछि बिद्यार्थीहरु बाहिर निस्कने, कक्षामा झै–झगडा र होहल्ला गर्ने बानीमा धेरै सुधार आएको बताउनुहुन्छ । अनुसार बालबालिकाहरुमा कुनामा भएको किताब हेरेर चित्र बनाउने, गुनगुनाउने, नयाँ कुरा जान्न खोज्ने सृजनशीलता बढेको उहाँको अनुभव छ ।
केराबारी कुवापानी आधारभूत बिद्यालयका प्रअ नारायणप्रसाद ढकाल पनि कक्षा कोठामा किताबको कुनाले विद्यार्थीहरुमा उत्प्रेरण बढाएर सकारात्मक परिवर्तन ल्याउन धेरै सहयोग पुरयाएको बताउँनुहुन्छ । उहाँका अनुसार किताबको कुनामा राखिएका किताब हाम्रो हो भनेर सुरक्षा गर्नुपर्छ भन्ने दायित्व बोध पनि विद्यार्थीहरुमा हुनेगरेको छ ।
तर, शिक्षण सिकाइमा ‘बुक कर्नर’ प्रभावकारी भएपनि विद्यालयहरुले प्राप्त भएको सशर्त अनुदानको रकम सदुपयोग गरेर सबै कक्षामा ‘बुक कर्नर’ स्थापना गराउन समेत चासो दिएका छन् । मोरङका सबै विद्यालयहरुमा दाताको सहयोगमा स्थापना भएको १ देखि ३ कक्षासम्म मात्र ‘बुक कर्नर’ सीमित छ ।
बाध्यकारी नहुँदा ससर्त अनुदानको रकम सदुपयोग भएन
मोरङमा बुक कर्नरको महत्व बुझाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजन र राष्ट्रिय सामुदायिक बिकास केन्द्रको साझेदारीमा तीन वर्षदेखी किताबको कुना परियोजना सञ्चालन भैरहेको छ । परियोजनाले स्थानीय पालिकाहरुलाई सहभागी गराएर विद्यालयमा किताबको कुना स्थापना गराइरहेको छ । मोरङ संयोजक शोभा बजगाँईका अनुसार किताब कुनाका लागि परियोजनाले अर्डर अनुसार किताब किनेर विद्यालयहरुलाई सहयोग गरिदिने गरेको छ । हालसम्म मोरङ्गका १६ वटा स्थानीय तहका ५०२ विद्यालयले कक्षा १ देखि ३ सम्मका लागि किताब अर्डर गरिसकेका छन् । तर, पर्याप्त पुस्तक थप्न, माथिल्ला कक्षाहरुमा बुक कर्नर स्थापना गराउदै लान आर्कषक र सुरक्षित ¥याक, झोला र दराज बनाउन आनाकानी भैरहेको छ । विद्यालयहरुले बुक कर्नरको महत्वलाई बुझे पनि आफ्नै स्रोतमा किताब खरिद गर्दैनन् । सबैले दाताकै आश गर्ने गरेका छन् । पालिकाहरुले पनि बुक कर्नरका लागि सरकारले दिएको सशर्त अनुदान सदुपोग गराउन अनुगमन गरेर निर्देशन गर्ने गरेका छैनन् । न त आफंैले कार्यक्रम बनाएर बजेट बिनियोजन गराउने गरेका छन् ।
सरकारले हरेक बिद्यालयमा बुक कर्नर राख्न र सिकाई सामग्रीका लागि कक्षा १ देखि १२ सम्म प्रतिविद्यार्थी सशर्त अनुदान दिदै आएको छ । तर, मोरङका कुनै पनि विद्यालयले त्यो पैसा बुक कर्नरमा लगानी गर्ने गरेका छैन् । बरु प्राप्त भएको रकम शिक्षकलाई तलब खुवाउन वा अत्यावश्यक भन्दै अन्य विविध बिषयमा रकमान्तर गरेर खर्चने गरेका छन् ।
ससर्त अनुदान कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/०७८ अनुसार विद्यालयहरुले कक्षा १ देखि ५ सम्म १५० रुपैयाँ कक्षा ६ देखि ८ सम्म २०० रुपैयाँ कक्षा ९ र १० मा २०० रुपैयाँ र कक्षा ११ र १२ मा २५० रुपैयाँ प्रतिविद्यार्थी बुक कर्नर सिकाइ सामग्रीका लागि रकम प्राप्त गर्दछन् ।
लेटाङ नगरपालिका शिक्षा शाखाका उपसचिव कृष्णराज राईका अनुसार सशर्त अनुदान प्राप्त भएपनि झिनो बिषय ठानेर बिद्यालयहरुले बुक कर्नरमा लगानी गर्ने गरेका छैन् । उनका अनुसार बिद्यालयका शिक्षक र व्यवस्थापन समितिले बुक कर्नरको महत्वबारे अझै धेरैले बुझेकै छैनन् । बुझेकाहरुले पनि आर्थिक अभावको बहाना बनाउदै रकमान्तर गरेर खर्च गर्ने गरेका छन् । बाध्यकारी नभएकोले बुक कर्नरको रकमान्तर खर्च रोक्न नसकेको उपसचिव राई बताउनुहुन्छ । ‘हामीले धेरै विद्यालयलाई सम्झाउने पनि गरेका छांै तर बाध्यकारी नहुँदा रकम अन्यत्र खर्च हुनबाट रोक्न सकेका छैनांै सरकारले अनुदान दिँदा सिकाइ सामग्री नभनी बुक कर्नरकै लागि भनेर निकासा दिँदा नियमन गर्न सजिलो. हुने थियो ।’
केरागाउँपालिका शिक्षा शाखा अधिकृत बसन्त चिमोरिया पनि सशर्त अनुदान मार्फत बुक कर्नरका लागि निकासा भएको रकम केमा खर्च गर्ने भन्ने पूर्ण जिम्मा प्रअकै हुनेभएकोले आफुहरुले बाध्यकारी बनाउन नसकेको बताउँछन् । अधिकृत चिमोरीया पनि सरकारले बाध्यकारी नियम बनाए मात्र किताबको कुनाका लागि निकासा भएको रकम सदुपयोग हुनसक्ने बताउनुहुन्छ ।
विद्यालयका प्रअहरु सरकारले बुक कर्नरका लागि सशर्त अनुदान मार्फत रकम दिने गरेको र त्यो रकमान्तर गरेर खर्चने गरेको खुलेर भन्न चाहदैनन् । केराबारी ३ रामपुर माविका प्रअ अरुणकुमार यादव आर्थिक अभावले गर्दा वर्षेनी किताब थप्न स्रोत अभाव भएकोले किताबको कुना भनेजति प्रभावकारी बनाएर निरन्तरता दिन गाह्रो हुने बताउनुहुन्छ । पालिकाहरुले नीति बनाएर बुक कर्नरका लागि बजेट बिनियोजन गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै भनाइ कुवापानी आधारभूत विद्यालयका प्रअ नारायण ढकालको पनि छ । भन्नुहुन्छ, ‘सरकारले नीति बनाएर पालिकाहरुलाई नै बुक कर्नरका लागि बजेट बिनियोजन गराउन लगाउनुपर्छ ।’
मोरङको उत्तरी क्षेत्रका विद्यालयहरुमा ‘बुक कर्नर’ परियोजना अनुगमन गरिरहेका फिल्ड संयोजक अर्जुन विश्वकर्मा शिक्षक र व्यवास्थापन समितिहरुले भर्खर भर्खर ‘बुक कर्नर’को प्रभावकारिता बुभ्mन थालेपनि निरन्तता दिन अझै बहाना बनाइरहेको पाइएको बताउनुहुन्छ । भन्नुहुन्छ ‘नीति निर्माण गर्ने मात्र नभएर नियमनकारी निकाय पनि भएकोले पालिकाहरुले ‘बुक कर्नर’को सर्सत अनुदानको रकम सदुयोग गराउन सके मात्र पनि शिक्षण सिकाइमा विद्यार्थीहरुलाई धेरै उपलिब्ध हासिल हुनेथियो ।’
के हो किताबको कुना ?
किताब कुना भनेको सामुदायिक विद्यालयका कक्षाकोठामा शिक्षण सिकाइका लागि रहेको पुरक सामग्री संग्रहित कुना हो । हरेक कक्षा कोठाको कुनामा झोला, ¥याक वा दराजमा विद्यार्थीको पहुँच हुनेगरि कम्तिमा ५० प्रकारका बाल कविता, कथा, चित्रकला, बर्णमाला आदि प्रकारका सचित्र रङ्गीन पुस्तकहरु राखिएका हुन्छन् । जसले विद्यार्थीको आधारभूत पढाइ सीप, अक्षर चिनारी, ध्वनी सचेतीकरण, शव्द भण्डार, पठनवेग बोधको विकास गर्न सघाउँछ ।