विराटनगर । कोरोना भाइरसका कारण नेपालमा पाँचौ व्यक्तिको मृत्यु भएको छ । बुधबार ललितपुरका एक व्यक्तिको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभएको छ ।
जेठ, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।
मृतक ललितपुरको बुङमतीका स्थायी निवासी हुन् । उनको शव अस्पतालमै रहेको छ । उनको कोरोनाबाट मृत्यु भएको ललितपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पम्फा भुषालले पनि पुष्टि गर्नुभएको छ ।
उनमा कोरोना संक्रमण भएको पुष्टि मृत्युपछि मात्रै भएको थियो। मृतकमा कोरोना पुष्टि भएसँगै बुङमती क्षेत्रमा मानिसहरुको हिँडडुलमा कडाई गरिएको छ। कसैलाई पनि घरबाहिर ननिस्कन भनिएको उनले बताए।
यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। अनलाईनखबरबाट