विराटनगर । विराटनगर– १४ जतुवाका ५५ ववर्षीया सेमानन्द यादवको हत्यामा मुछिएका विराटनगर १८ का वडाअध्यक्ष ३५ वर्षीय सञ्जयकुमार साह कारागार चलान भएका छन् ।
यादवको हत्यापछि लामो समय फरार भएर बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएका साहलाई अदालतले पुर्पक्षको लागि कारागार पठाएको हो ।
मोरङ जिल्ला अदालतका मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलकोे इजालाशले वडाअध्यक्ष साहलाई पुर्पक्षको लागि थुनामा राख्न बुधबार आदेश गरेको हो । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि मोरङ कारागार चलान भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।
हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये यदाव लकडाउनको समयमा बुधबार सुटुक्क अदालतमा हाजिर भएका थिए ।
विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।
यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडाअध्यक्ष बलदेव यादव, १८ का वडा अध्यक्ष संजय साह र जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवसहित ९ जना फरार थिए । फरार हुनेहरुमा, वडाअध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षीय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र मोरङ जहदा १ का ४२ वर्षीय दिनेशप्रसाद यादव छन् । पीडित परिवारले किटानी जाहेरी दिएपछि उनीहरु फरार भएका थिए ।
हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षीय दिपेश यादव गत १८ भदौ अदालतमा हाजिर भएका थिए । यस्तै जहदा १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादव पनि अदालतमा हाजिर भए । उनीहरु दुबै पुपक्षको लागि थुनामा छन् ।