विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाका ५५ वर्षीय सेमानन्द यादवको हत्यामा संलग्न भएको आरोप लागेका विराटनगर १८ का वडाअध्यक्ष सञ्जयकुमार साहले मोरङ अदालतमा आत्मसमर्पण गरेका छन् ।
हत्याको घटनापछि फरार भएका ३५ वर्षीय साह बुधबार दिउँसो सुटक्क उपस्थित भएपछि मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलाशमा थुनछेक बहस भइरहेको छ ।
अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतमा वाादीको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्दकुमार रेग्मीले बहस सकेपछि प्रतिवादीतर्फका कानून व्यवसायीहरुले बहस गर्नेछन् । बहसपछि अदालतले थुनछेक आदेश दिनेछ ।
हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएकामध्ये मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द यादव केही दिन अगाडि अदालतमा उपस्थित भएका थिए । उनलाई न्यायधीश तेजबहादुर खड्काको इजालशले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । सोही घटनमा मुछिएका विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादव भने अझै फरार छन् ।
विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो । तीन वडाध्यक्षसहित वडाअध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षीय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र मोरङ जहदा १ का ४२ वर्षीय दिनेशप्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीपछि फरार रहेकाहरु खोज्न प्रहरी भारतसम्म पुगेको थियो । तर। प्रहरीले उनीहरूलाई पक्रिन सकेको थिएन । घटनामा संलग्न विराटनगर १४ का २७ वर्षीय दिपेश यादव भने गत भदौ १८ गते नै अदालतमा हाजिर भएका थिए । अदालतमा असोज १० गते दिपेशलाई थुनामा पठाउँदै अन्य ९ जनालाई अदालतले फरार प्रतिवादी किटान गर्दै पक्राउ पुर्जी जारी गरेको थियो ।