विराटनगर । बुधबार प्रदेश १ को झापामा १७ सहित देशभर ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित बुधबार थपिएका हुन् ।
मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा सप्तरीका ११ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कुल संक्रमित संख्या ८८६ पुगेको छ । उनीहरुमध्ये १८३ जना उपचारपछि निको भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् ।
झापामा देखिएका संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज भएका छन् ।