विराटनगर । नेपाल–भारत सिमा नाका जोगवनीमा अलपत्र बनेका ३ सय ४ जना नेपालीलाई मंगलबार राति नेपाल प्रवेश गराइएको छ ।
भारतको विभिन्न स्थानबाट जोगवनी आएर अलपत्र बनेका र केही दिनदेखि त्यहिको क्वारेन्टाइनमा रहेका उनीहरुलाई प्रदेश सरकार, विराटनगर महानगरपालिका र स्थानीय प्रशासनको समन्वयमा नेपाल प्रवेश गराइएको हो ।
लकडाउनको कारण भारतका विभिन्न स्थानमा अलपत्र बनेका उनीहरु भारतले रेलसेवा सञ्चालन गरेपछि जोगवनी आइपुगेका थिए । कतिपय भने धेरै दिनको कष्टकर पैदल र कतिपय साईकल यात्रा गरी सीमा क्षेत्रसम्म आएका थिए ।
नेपाल प्रवेश गराइएका कसैको पनि कोरोना परीक्षण भएको छैन । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार एउटा देशबाट अर्को देशमा प्रवेश गर्दा सम्बन्धित देशले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्नेमा भारतले त्यसो नगरी नेपाली नागरिकलाई पठाउने गरेको छ ।
प्रवेश गराइएका सबैलाई विराटनगर–१३ स्थित डिएभी स्कूलमा निर्माण गरिएको होल्डिङ स्टेशनमा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । उनीहरुमध्ये सुनसरीको दुहबी ४का २३ जनालाई भने सोही वडाका वडाअध्यक्ष राजनकुमार बस्नेतले जिम्मा लिएर उत्तै लगेको मोरङ प्रहरीले जनाएको छ ।
नजिकै घर हुनेलाई सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा राख्नेगरी जिम्मा लगाउने र टाढा घर भएकालाई विराटनगरमा होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणपछि मात्र पठाउने प्रजिअ भुजेलले जानकारी दिनुभयो । नेपाल प्रवेश गर्नेहरुमा रुकुम, स्याङ्जा, गोरखा, सिन्धुली, पाँचथर, झापा, सुनसरी, मोरङसँगै विभिन्न जिल्लामा घर भएकाहरु छन् ।
लकडाउन सुरु भएपछि लुकिछिपी भारतबाट प्रवेश गर्नेहरु रहेपनि ठूलो संख्यामा नेपालीहरुलाई पहिलो पटक प्रवेश गराइएको हो ।