विराटनगर । भारतको विभिन्न स्थानबाट आएका २ सय ५० जना नेपालीलाई मंगलबार विराटनगर प्रवेश गराइएको छ ।
जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
नेपाल भित्र्याईकाहरुमध्ये नजिकै घर हुनेलाई सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा राख्नेगरी जिम्मा लगाउने र टाढा घर भएकालाई विराटनगरमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ । नेपाल प्रवेश गरेकाहरु सबैको स्वास्थ्य परीक्षण गरिने प्रजिअ भुजेलले जानकारी दिनुभयो ।
भारतमा लकडाउनको कारण अलपत्र भई रेल सेवा सञ्चालन भएपछि जोगवनी आएका नागरिकहरु देशको विभिन्न स्थानमा घर भएकाहरु छन् । प्रदेश १ बाहेक अन्यत्र घर भएका पनि धेरै जना रहेको बताउँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने जिम्मा हामी सबैको हो ।
जोगबनी नाकाबाट आएकाहरुलाई विराटनगर १३ स्थित डीएभी स्कूलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ । महाराष्ट्रसहित विभिन्न राज्यबाट नेपाली र जोगबनी क्षेत्रमै बनाइएको क्वारेन्टाइनमा बसेकाहरुलाई नेपाल प्रवेश गराइएको हो ।
नेपाल प्रवेश गर्नेहरुमा रुकुम, स्याङ्जा, गोरखा, सिन्धुली, पाँचथर, झापा, सुनसरी, मोरङसँगै विभिन्न जिल्लामा घर भएकाहरु छन् । उनीहरुमध्ये कतिपय चार दिनदेखि साइकलको यात्राबाट सीमासम्म आएको पाइएको छ ।
\लकडाउन सुरु भएपछि लुकिछिपी भारतबाट प्रवेश गर्नेहरु रहेपनि ठूलो संख्यामा नेपालीहरुलाई पहिलो पटक प्रवेश गराइएको हो । भारतबाट आउने मानिसलाई राख्नको लागि प्रदेश १ सरकारको पहलमा विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाइएको छ ।
सरकारले १५ हजार जना अटाउनेगरी यस्ता सेन्टर बनाइरहेको जनाएको छ । यसैबीच मोरङका विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा बस्नेको संख्या मंगलबारसम्म ४२३ पुगेको छ ।