किसानलाई बिना धितो २ लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर

विराटनगर । किसानलाई बिना धितो २ लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जयपति कृषि फर्म र डी.भी. एक्सलेसले एन.आई.एम.बी.एस. बैंकमार्फत कामधेनु डेरीका एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा भएको आध्यन्त एक्सिलेरेटर कोशीको लगानी सम्मेलनमा उक्त हस्ताक्षर गरीएको हो ।

सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीहरूले लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।

आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले आफ्नो कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँको लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरले व्यवसाय विकास सेवा खोज्ने उद्यमहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने बताए ।

बुधबार, ०५ चैत, २०८१, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर