विराटनगर । नेकपा एमाले मोरङको गत फागुन १७ गते सम्पन्न दशौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको छ । अधिवेशनबाट संस्थापन (अध्यक्ष केपी शर्मा ओली) पक्ष पराजित भयो भने मोरङका एमाले नेता विनोद ढकाल पक्षबाट सबै पदाधिकारी विजयी भए ।

अधिवेशनले १६५ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिएको छ । सो समितिको पहिलो बैठक बिहीबार विराटनगरस्थित होटल श्री कृष्णामा बस्ने तय भएको छ । तर, त्यस अगाडि नै संस्थापन पक्षबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार ओझा, प्रदेश समिति सदस्य पर्शुराम बस्नेतको अगुवाईमा सो पक्षको छुट्टै बैठक बुधबार विराटनगरको होटल नमस्कारमा बसेको छ ।
गोप्य रुपमा राखिएको सो बैठकमा प्रदेश समितिका केही एमाले नेताहरुको पनि उपस्थिति थियो । उता, अधिवेशनबाट विजयी बनेका अध्यक्ष अजम्बर राईसहितको पदाधिकारीको टोलीले भने जिल्ला समितिको बैठकको पूर्व सन्ध्यामा बुधबार पार्टी कार्यालय पाञ्चालीमा छुट्टै छलफल बसेको थियो । एमाले मोरङका उपाध्यक्ष सागर थापाले जिल्ला समितिको बैठकको तयारीका लागि जिल्ला इन्चार्ज, प्रदेशका अध्यक्ष तथा पदाधिकारीहरुसहितको बैठक बसेको जानकारी दिए ।
उता, संस्थापन समूहले भने निर्वाचनमा पराजय हुनुको कारणबारे पनि समीक्षा गरेको छ । बैठकमा विनोद ढकाल समूह विद्या भण्डारी लाइन नै भएको र आफूहरुलाई गाउँगाउँमा पेलानमा पारिएको विषय कतिपय जिल्ला सदस्यहरुले उठाएका थिए । जिल्ला सदस्यमा पराजित बेलबारीका दुई जना राजन पोखरेल र मित्रप्रसाद घिमिरे तथा सुन्दरहरैंचाकी उर्मिला रिजालले चुनावमा षड्यन्त्र पूर्वक निर्वाचन समितिले नै आफूहरुलाई हराएको भन्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागलाई संस्थापन समूहले अनुमोदन गर्दै निर्वाचन समितिमा दिएको निवेदनको पक्षमा लविङ गर्ने बताएका थिए ।
यस्तै उक्त पक्षले बिहीबार बस्ने जिल्ला समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आवश्यक रणनीति बनाएको छ । ‘बैठकमा एक जना टोली नेताले बोल्ने, त्यसमा सबैले समर्थन गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘हामीले भोलीको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आवश्यक गृहकार्य गरेका छौं ।’
इन्चार्ज जीवन घिमिरे संस्थापन पक्षकै भएकोले बढी बोल्न नहुने भन्दै उनीहरुले फ्लोरबाटै इतर समूहलाई तह लगाउने रणनीति बनाएको बुझिएको छ । ‘पार्टीलाई एकताबद्ध बनाउने, संस्थागत रूपमा सञ्चालन गर्न सस्थापन पक्षले पहल कदमी लिने नीति लिने र नेतृत्वको रक्षा गर्ने निर्णय भएको छ,’ अर्का एक नेताले भने, ‘नेतृत्वविरुद्ध छरिएका भ्रमहरू चिर्ने, विधि बनाएर कार्यविभाजन गर्ने लगायतमा छलफल भएको छ ।’
संस्थापन पक्षले आफ्नो पक्षमा १०९ जना जिल्ला सदस्य रहेको दाबी गरेको छ । १६५ सदस्यीय जिल्ला समितिमा इतर पक्षको भने ३३ जनामात्रै रहेको र बाँकी तटस्थ रहेको दाबी गरेको छ । यद्यपि सो पक्षको छुट्टै भेलामा बहुमत सदस्यहरु नगएको ढकाल पक्षले दाबी गरेको छ । बहुमत आफूहरुसँगै रहेको ढकाल समूहको दाबी छ ।
सो पक्षले जिल्लाको अधिवेशनबाट निर्वाचित अध्यक्ष अजम्बर राई भएपनि विनोद ढकाल नै अध्यक्ष भएको निष्कर्ष पनि निकालेका छन् । सो पक्षले जसरी भएपनि ढकाल समूहलाई तह लगाएर आफ्नो लाइनमा हिंडाउन सक्नु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा ढकाल समूहबाट अध्यक्षमा राई, उपाध्यक्षमा थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका थिए । संस्थापन पक्षबाट अध्यक्षका उम्मेद्वार बनेका ओझा, उपाध्यक्ष शान्ति लिम्बू, सचिव रविन थापा र उपसचिवमा इर्जालाल राजवंशी तथा शिल्पा निराला कार्की उम्मेद्वार थिए । संस्थापन पक्षलाई ओली समूहका नेताहरु महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, गुरुप्रसाद बराल, उपमहासचिव प्रदिप ज्ञावाली, स्थायी समिति सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका हिक्मतकुमार कार्की, प्रदेश इन्चार्ज शेरधन राई, मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले सहयोग गरेका थिए भने इतर समूहलाई एमाले नेता ढकालसहित केन्द्रीय सदस्यहरु रामलाल साह, युवराज बाँस्कोटा र नैनकला ओझा लगायतले सहयोग गरेका थिए ।