विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा एमाले मोरङका सदस्य किरण लामा आइतबार मध्यराति प्रवेश गर्न खोजेपछि झडप भएको छ ।
लामाको नेतृत्वमा पुगेको एउटा समूह नै राति क्यासिनोभित्र पस्न खोजेको थियो । क्यासिनामा प्रवेश गर्न खोजेका लामासहितको समूहलाई क्यासिनोमा कार्यरत निकेश गिरीले रोकेका थिए । तर जबरजस्ती गरेपछि गिरीले लामासहित उनको समूहमाथि आक्रमण गरेको थियो । निकेश क्यासिनो संचालक अभिषेक गिरीका भतिजा हुन् । आक्रमण गर्ने लामा एमाले मोरङको दशौं अधिवेशनबाट विराटनगर भुगोलको युवाबाट सदस्यमा निर्वाचित जिल्ला सदस्य हुन् । उनी एमाले नेता विनोद ढकाल र संस्थापन दुवै प्यानलका साझा उम्मेदवार बनेका थिए ।
यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटल भित्रको सम्राट क्यासिनमा जाने गरेका थिए । भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका मान्छेहरुमाथि हातपात गरिदिन थालेपछि लामासहितको टिमलाई क्यासिनो संचालक गिरीले प्रवेशमा रोक लगाए ।
नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरेको भएपनि उनीहरू सहित विराटनगरका केही मारवाडी सामुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नियमित विराटनगरको क्यासिनो जाने गरेका थिए । त्यही भएर उनीहरु पनि जाने गरेका थिए । ‘आइतबार मध्यरातमा लामासहित कँडेल र उनका केटाहरू सम्राट क्यासिनोमा प्रवेश गर्न खोजेपछि क्यासिनोमा काम गर्दै आएका निकेशले गेटमा रोकेका थिए । त्यसपछि लामाले एक मुक्का ठोके । लगत्तै गिरीका केटाहरु पनि प्रतिकारमा उत्रिए । लामासहित उनीहरुको केटाहरुमाथि पनि आक्रमण भयो,’ घटनास्थलमा पुगेका एक जना प्रत्यक्षदर्शीले भने, ‘आक्रमण भएपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोली पुग्यो । उनीहरुको टोलीले भीडलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारयण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठसहित क्यासिनोमा पुगे । त्यसबेलासम्म लामाको समूह भागिसकेको थियो ।’
झडपमा परेर लामा र गिरी दुवै जनालाई चोट लागेको बताइएको छ । क्यासिनो संचालक गिरीले लामा विरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् । कँडेलकीे पत्नीले पनि गिरी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए । ‘क्यासिनो बाहिर दुई समूहको झगडा भएको रहेछ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । जाहेरी दुवै समूहबाट आएको छ । अहिले हामीले घटनाको सिसी टिभीलगायतका विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं,’ डिएसपी जोशीले भने । प्रहरीले यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन ।
रेगन कँडेल क्यासिनो भित्र र बाहिर पटक पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर– ११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाए । कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भए । कँडेल गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् । यसअघि पनि मध्यरातमा विराटनगर सम्राट क्यासिनोमा जुवा खेलर बाहिरिदा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते रत्ना होटलको ‘सम्राट’ नामक क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए ।
मोरङ प्रहरीको रेकर्ड अनुसार कँडेल यसअघि सात पटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।
विराटनगरको क्यासिनोमा निर्वाध नेपाली
विराटनगरको दुई वटा क्यासिनामो नेपालीको निर्वाध रुपमा प्रवेश गरेको गरेको छ । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो) र रत्ना होटल भित्रको सम्राट क्यासिनमा नेपालीको प्रवेश खुल्लेआम हुने गरेको हो । नेपालीलाई क्यासिनो प्रवेशमा निषेध गरेपनि विराटनगरका स्वास्थ्य, मारवाडी सामुदायका केही व्यक्तिहरु नियमित जस्तो क्यासिनो जाने गरेका छन् । ‘प्रहरीले कडाई नगरिदिँदा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुदेखि मारवाडी समुदायका युवा व्यवसायी र मधेसी समुदायका व्यापारिक घरानाका युवाहरू क्यासिनोको जाने गरेका छन्,’ नियमित क्यासिनो जाने ती साथीले भने, ‘सार्वजनिक ढङ्गले क्यासिनोले डुबायो भन्न सक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो ।’
क्यासिनोमा निर्बाध नेपाली छिराइरहेको अवस्था छ । मेसिनबाट खेलाउनु पर्ने क्यासिनो तास र कौडाको रुपमा हातैले खेलाउने गरेको बुझिएको छ । क्यासिनो नियमावलीमा अटोमेटिक मेसिनमा मात्रै खेलाउन पाइने नियम छ ।उता, रत्ना होटल भित्र रहेको सम्राट क्यासिनोका संचालक अभिषेक गिरीले क्यासिनोमा नेपाली नआएको दाबी गर्दछन् । ‘क्यासिनोमा काम गर्ने नेपाली रहेका छन् । उनीहरुनै भित्र जाने हो । नेपाली हामी छिराउँदैनौँ । आधार कार्डवाला मात्रै छिराउँछौँ,’ उनले भने ।
क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरबापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ ।
इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर, क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैंक ग्यारेन्टी विभागमा बुझाउनुपर्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।