डिडिसीले गरेन भुक्तानी,दुध किसानको हात ६ महिनादेखि रित्तै

८ जिल्लाका किसानलाई १५ करोड भुक्तानी दिन बाँकी

विराटनगर । स्वदेशमै स्वरोजगार बन्ने सपना देखेर पशुपालन व्यवसायमा लगानी गरेका र जीवीकोपार्जन गर्न पशुपालनलाई आधार बनाएका किसानहरु आफूले बेचेको दुधको भुक्तानी नपाउँदा अप्ठ्यारोमा परेका छन् । त्यसमा पनि सरकारी स्वामित्वकै दुग्ध विकास संस्थानले नै किसानहरुलाई लामो समयदेखि दुधको भुक्तानी नदिँदा उनीहरु समस्यामा परेका हुन् ।

सरकारी संस्थानलाई दुध दिँदा नियमित भुक्तानी हुन्छ भन्ने विश्वासले निरन्तर दुध दिइरहेका किसानहरुले संस्थानबाट महिनौंसम्म भुक्तानी नपाउँदा सर्वसाधारण किसानहरु सरकारलाई विश्वास गर्न नसक्ने अवस्था आउन लागेको बताउँछन् ।

संस्थानको विराटनगर दुग्ध वितरण आयोजनालाई दुध बिक्री गरेका कोशी प्रदेशका सात र मधेश प्रदेशको सप्तरी जिल्लाका किसानहरुले गएको भदौ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । गएको भदौ महिनासम्म डिडिसीले यहाँका ८ जिल्लाका किसानहरुलाई ११ करोड रुपैयाँ भुक्तानी दिन बाँकी थियो । नेपाल सरकार भूमिव्यवस्था तथा कृषि मन्त्रालयले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि ६० करोड रुपैयाँ उपलब्ध गराएपछि केही महिनाको बक्यौता भुक्तानी भएको थियो । त्यसपछि भने किसानले दुधको भुक्तानी पाउन सकेका छैनन् ।

भदौदेखि माघ मसान्तसम्म विराटनगर आयोजनाले किसानलाई झण्डै १५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । दुध बेचेर मासिक आम्दानी गरी घर व्यवहार चलाउने सर्वसाधारण किसानहरु डिडिसीको यो व्यवहारबाट सबैभन्दा धेरै प्रताडित बन्न पुगेका छन् । धनकुटाका स्थानीय किसान एकराज प्रधान यस्तो अवस्थाबाट किसानहरुले काम गर्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘दूध उत्पादन गर्न नियमित लगानी गर्नुपर्छ, गाई, भैंसीलाई चाहिने दाना, औषधि आदि किन्न पनि नियमित लगानी हुन्छ पर्छ । तर आधा वर्षसम्म बेचेको दुधको पैसा नआएपछि हामी किसानले कसरी थेग्न सक्छौं ? यस्तो व्यवहारले कसरी किसानहरु प्रोत्साहित हुन्छन् र सरकारलाई कसरी विश्वास गर्छन् ?’

विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले १५ दिनको रकम भुक्तानी गर्ने तयारी गरेको जानकारी दिए । डिडिसी विराटनगर आयोजनाले १५ दिनको रकम भुक्तानी गर्दा पनि सवा करोड रुपैयाँ भन्दा बढी जोहो गर्नुपर्ने बताए ।
डिडिसीले नियमित भुक्तानी नगरेपछि पछिल्लो समय निजी डेरीहरुले पनि नियमित भुक्तानी दिन छोडेका छन् । पहिले डिडिसीलाई दुध बिक्री नगर्न किसानलाई बढी मूल्य दिएर दुध किन्ने गरेका निजी डेरीहरुले अहिले सस्तोमा दुध किन्ने र ढिला भुक्तानी गर्न थालेका छन् । जसले गर्दा सरकारी र निजी दुवै क्षेत्रबाट किसानहरुमाथि नै शोषण भइरहेको गुनासो किसानहरुको गुनासो छ ।

आयोजनाले इलामको फिक्कल, तीनघरे, विपल्याटे, शान्ति डाँडा, झापाको गारामुनी, धनकुटाको हिले तथा धनकुटा र तेह्रथुमको संगमस्थल चित्रे चिस्यान केन्द्र सहित सप्तरी, उदयपुर, सुनसरी र मोरङवाट अहिलेको अफ सिजन(दुध कम उत्पादन हुने समय) मा दैनिक १७ हजार लिटरभन्दा बढी दुध संकलन गर्दै आएको छ ।

आयोजनामा ११० वटा दुग्ध संकलन, फर्म र सहकारी संस्थाका साथै ६ हजारभन्दा बढि किसान आवद्ध छन । आयोजनाले अफ सिजनमा दैनिक १७ हजार र सिजनमा २२ हजार लिटरसम्म दुध किसानबाट खरिद गर्दैआएको आयोजनाका निमित्त प्रमुख मगरले जानकारी दिए । आफूले उत्पादन गरेको डेरी प्रोडक्ट बजारमा बिक्री नभई गोदाममा थन्किएका कारण किसानलाई भुक्तानी दिन नसकेको डिडिसीले बताउँदै आएको छ ।

उत्पादित उत्पादनले बजार नपाउँदा किसानलाई समयमा भुक्तानी दिन नसकेको दावी गरेका छन् ।‘उत्पादित उत्पादन विक्री हुन नसक्नु र निजी क्षेत्रको उत्पादनसँग बजारमा प्रतिस्र्पधा गर्न नसकेका कारण किसानलाई समयमा भुक्तानी दिन कठिनाई भएको हो,’ मगरले भने, ‘आयोजनाले उत्पादन गरेको ठूलो परिमाणमा मख्खन(वटर) र पाउडर दुध विक्री भएको छैन जसले गर्दा भुक्तानीमा समस्या आएको हो ।’

कोशी प्रदेशमा एनएमसी, ऋतिका, कामधेनु, जीवन विकास, सूर्योदय, शिवम र परम डेरी सहित दर्जनभन्दा बढी निजी डेरी सञ्चालनमा छन् ।मगरका अनुसार प्रतिकिलो ९०० रुपैयाँको दरले १५ करोड ५७ लाख रुपैयाँबराबरको १ लाख ७३ हजार किलो मख्खन र प्रतिकिलो ७ सय रुपैयाँका दरले ५ करोड ५३ लाख रुपैयाँबराबरको ७९ हजार किलो पाउडर दुध समयमा बिक्री हुन नसक्दा गोदाममा थन्किएको छ ।

आयोजनाले गोदाममा रहेका कुनै पनि मख्खनमा ढुसी लागेर गुणस्तरहीन नभएको दाबी गरेको छ । तर केही मख्खन काठमाडौंस्थित बालाजु आयोजना र हेटौंडा आयोजनामा पठाइएको मगरले जानकारी दिए ।मगरका अनुसार डीडीसीको उत्पादनले निजी क्षेत्रको उत्पादनसँग बजारमा प्रतिस्र्पधा गर्न नसक्दा किसानलाई समयमा भुक्तानी गर्न नसकिएको हो ।
उनका अनुसार डीडीसीबाट डाइभर्ट भएका किसानले सस्तो मूल्यमा निजी डेरी र छुर्पी उत्पादन गर्ने उद्योगलाई दुध बिक्री गर्न बाध्य भएका छन ।

एकताका नियमित भुक्तानी प्राप्त गर्नका लागि किसानको पहिलो रोजाईमा डीडीसी पर्ने गरेको जानकारी गराउँदै मगरले पछिल्लो समयमा सिर्जना भएको भुक्तानीसम्बन्धी समस्याले किसानले डीडीसीलाई दुध बिक्री गर्न हच्किन थालेको बताए ।
आयोजनाले अफ सिजनमा मासिक ६ लाख लिटर तरल दुधबाट पाउडर दुध र दैनिक ५ सय किलो मख्खन उत्पादन गर्दैआएको जनाएको छ । दुधको सिजन भदौदेखि माघसम्ममा भने दैनिक ३० हजार लिटर दुधबाट पाउडर दुध र १५ हजार लिटर दुधबाट मख्खन उत्पादन गर्दैआएको छ ।

आइतबार, २५ फागुन, २०८१, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर