विराटनगर । कोशी प्रदेशसभाका सांसदहरुले निर्धारित समयमा प्रदेशसभा बैठक नबसेकोप्रति आपत्ती जनाएका छन् । प्रदेशसभा सदस्य गणेश उप्रेतीले प्रदेशसभा ढिलो सञ्चालन गरेर प्रदेश सांसदलाई २ घन्टासम्म बेरोजगार बनाएको भन्दै बैठकमै विरोध गरे ।
मंगलबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उप्रेतीले सांसद आएर २ घन्टासम्म गफ लगाएर बस्नु परेको बताए । १२ बजेको लागि बोलाएको बैठक २ बजेसम्म पनि सुरु नभएपछि उनले आपत्ति जनाएका हुन् ।
‘कुनै मन्त्रीलाई पर्खिनु पर्ने भयो, कुनै सत्तारुढ दलका सांसदलाई पर्खिनु पर्ने भयो, अनि हामी सारा सांसदहरू कामै नपाएर बेरोजगार भएर गफ गर्नको लागि आएको त हैन नि’ उनले भने, ‘समयको अनुशासनलाई कायम राख्नुपर्छ । कानुन बनाएर समाजलाई अनुशासन र मर्यादा सिकाउने सभाले अनुशासन र मर्यादा कायम नगरेकोमा मेरो गम्भीर आपत्ति छ ।’
समयमै संसद् चल्नु पर्नेमा नचलाइ कुनै राजा महाराजालाई पर्खिएर बस्नु परेको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले संसदीय समितिका बैठकहरू सदन नचलेको बेला राख्नसमेत आग्रह गरे । कोशी प्रदेशसभाले गलत परम्परा बसाउन खोजेको भन्दै उनले त्यसलाई अन्त्य गर्न माग गरे ।
प्रदेश सांसद र सरकारप्रति मानिसको वितृष्णा पैदा भइरहेको अवस्थामा सांसदहरू भत्ता पकाउनको लागि कसैलाई दुई–दुई घन्टा पर्खिनुपर्ने विधि गलत भएको भन्दै उप्रेतीले गम्भीरतापूर्वक सच्याउन माग गरे ।