विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन् । खोला ठेक्का नलागेको भन्दै माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् ।
लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए । लोहन्द्रा खोलाबाट पालिकाले १ करोड ३५ लाख आम्दानी हुने अनुमान गरेको थियो । तर ठकेदार सम्पर्कमा नआएपछि पुन ठेक्का आह्वान गर्ने निर्णय भएको थियो । सो निर्णय अदालतको आदेशपछि रोकिएको छ ।
गत माघ ३० गते कार्यपालिका बैठकले लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गरेको थियो । तर कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्चले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
आज पनि ग्रामथानको कार्यपालिका बैठक बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले कार्यकर्ता खटाएर चाबी खोसेका थिए ।
अध्यक्ष माझीले भने आफ्नो बाध्यता रहेको बताए । ‘उपाध्यक्ष र वडा अध्यक्षले प्रयोग गर्ने गाडी र बाइक चिट्ठी दिएर फिर्ता ल्याए, यो मेरो पूर्वाग्रह होइन,’ उनले भने, ‘यो बाध्यता हो, म पनि स्करपिओ चढ्दिन् ।’ गत मंसिर १६ को उपनिर्वाचनमा माझी नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा बिजयी भएका थिए ।
‘ग्रामथानलाई भ्रष्टाचारमुक्त बनाउँछु’
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाले कार्यालयको सेवा प्रवाहको बारेमा सर्वसाधारण पालिकावासीलाई जानकारी दिने उद्देश्यले मंगलबार सार्वजनिक सुनवाइ गरेको छ ।

सार्वजनिक सुनुवाइमा शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण, लोहन्द्रा खोला सामुदायिक भवन संग्रहालय, पालिकाको प्रशासनिक कार्यलगायतका विषयमा सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा दुई दर्जन बढी राय सुझाव प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ग्रामथान गाउँपालिका नेपालकै नमूना गाउँपालिकाका रूपमा विकास गर्ने बताए । सुझाव तथा राय गाउँपालिकाको सम्पत्ति भएको र पालिकाका जनता सार्वभौमसत्ता भएकाले जनताको चाहना र इच्छाअनुसार काम गर्ने बताए । कसैको दबाबमा कुनै पनि काम नगरिने उनको भनाइ थियो । उनले गाउँपालिकाको प्रशासनिक कार्य ढिलासुस्ती नहुने जवाफ दिएका थिए ।
थारु संग्राहलयको विषयमा उनले आलोचना गर्दै आम नेपाली जनताको संग्रहालय हुनुपर्नेमा जोड दिए । आफूलाई भोट दिने तथा भोट नदिने भनेर नछुट्याउने र सबैलाई बराबर व्यवहार गरिने उनको भनाइ थियो ।सार्वजनिक सुनवाई कार्यक्रममा नेपाली कांग्रेस तथा नेकपा एमालेका जनप्रतिनिधिहरु सहभागी नभएकोप्रति उनले दुखेसो पोखे । सम्पूर्ण ग्रामथानबासीका लागि दिनरात नभनी काम गर्ने उनले उद्घोष गरे । तेतरिया हटियाको प्राङ्गणमा भएको सार्वजनिक सुनवाइमा शिक्षक बुद्धिजीवी राजनीतिकर्मी नागरिक समाजका अगुवा पालिकाका कर्मचारीहरू लगायतको सहभागिता थियो । गाउँपालिकाकी उपाध्यक्ष गुणावती धामी थारु प्रतिलक्षित गर्दै उनले कुनै असहमति भए वार्ता छलफलबाट निष्कर्षमा पुग्न र निरन्तर जनताको सेवा गर्न आग्रह गरे । आम जनसरोकारका विकासमूलक कार्यक्रममा राजनीति नगर्न उनले सबै पक्षसँग आग्रह गरे।
