विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत मोरङको रतुवामाई घर भएका एक जना बन्दीको मंगलबार मृत्यु भएको छ ।मुद्दाको किनारा लाग्ने पर्खाइमा रहेर जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि किसुनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मंगलबार दिउँसो १ः४५ बजेतिर मृत्यु भएको ढुंगेलले बताए ।
जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएपछि कारागार चलान गरिएका उनको आफूविरुद्ध दर्ता भएको मुद्दाको फैसला नहुँदै मृत्यु भएको हो ।
मृतकको शव कोशी अस्पतालमै छ । परिवारका सदस्य सम्पर्कमा आएपछि जिम्मा लगाइने जेलर ढुंगेलले बताए ।