प्राकृतिक होस् वा मानवीय कारण अन्यत्र जस्तै मोरङको विराटनगर महानगरपालिकाका नागरिकले पनि विविध विपद्का घटनाको जोखिमपूर्ण सामना गर्नु परिरहेको छ । विराटनगर महानगरपालिकामा विपद्का मुख्य विषयमा वर्षाद्का समयमा बाढी (डुवान) को प्रकोप र हिँउदमा शीतलहरी तथा अतिगर्मी (‘लु’ समेत) को उच्च जोखिम रहेको छ । यस्ता घटनाबाट जनधनको ठूलै क्षति हुने गरेका छन् । त्यसैगरी सधैं भइरहने जोखिमपूर्ण घटनाहरूमा हावाहुरी तथा आगलागी, जनावार आतङ्क, लामखुट्टे (मच्छड) आतङ्क, चोरी डकैती, सडक दुर्घटना र दुषित पिउने पानी आदि पर्दछन् ।
वाढी तथा डुवानको विपद् :
धेरै वर्ष पहिलेदेखि नै विराटनगरको जनजीवन ठूला–ठूला बाढी र डुबानका घटनाबाट प्रभावित भएको इतिहास छ । होचो भू–भाग भएको स्थानमा लामो समयसम्मै पानी जम्ने विगतदेखिको समस्या कायम छ । विराटनगर कोशी नदी नजिकै पर्ने भएकाले हरेकवर्ष वर्षाद् सुरु हुनासाथ यस क्षेत्रका वासिन्दाको मन सन्त्रासले भरिन्छ । विराटनगर निकटका केशलिया र सिंघिया खोला तथा नहरहरू मनसुनका समयमा भरिभराउ हुँदा खोला तथा नहरमा नअटेको पानी होचो बस्तीमा पस्नाले वा खोलाले तटबन्ध भत्काएपछि तत्काल बाढी र लामो समयसम्म डुबानको उच्च जोखिम उत्पन्न हुन्छ ।
विराटनगरमा बाढी र डुबानको समस्या हुनुमा अपर्याप्त तथा कमजोर ढल निकास प्रणाली मुख्य कारण मानिएको छ । विगतको तुलनामा पछिल्लो समय बस्ती डुबानमा केही कमि आएको त देखिन्छ, यद्यपि भारी वर्षाद्को समयमा गम्भीर असर सामना गर्नुपर्ने अवस्था कायमै छ । महानगरको पूर्वी भागबाट बग्ने सिंघिया खोलाको डुबानबाट आसपासका वस्तीहरू वर्षौदेखि उच्च जोखिममा छन् । यसबाट वडा नं. १, २, ७, ८, १४, १८, १९ का करिव ३ हजार घरपरिवारका करिव १४ हजार मानिस डुबानबाट प्रभावित हुने गरेको छ । त्यसैगरी पश्चिमतर्फ बग्ने केशलिया खोलाको आसपासको वस्ती यसको मार सहन वाध्य छ । यस क्षेत्रमा वडा नं. ४, ५, ६, ११, १२ र १६ पर्दछन् । यहाँका करिव १ हजार ५ सय घरपरिवार डुबानको जोखिममा रहेको मानिन्छ ।
खोला र पैनी आसपासको क्षेत्रमा बस्ती पर्ने वडा नं. ६, ७ र ८ का झण्डै दुईहजार घरपरिवार प्रभावित हुने गरेको अनुमान छ । बजार क्षेत्रको हिमालय रोड लगायत हिमाली रोड, फिफा रोड, त्रिमार्ग, आस्था रोड, मिटररोड क्षेत्रहरूमा कमजोर ढल निकासका कारण डुबानको समस्या देखिने गरेको छ । विराटनगर महानगरपालिकाका वडा नं. ९ र १० डुबानको जोखिमबाट अपेक्षाकृत सुरक्षित मानिएको छ भने वडा नं. ८ को तल्लो भेग नदी कटानको सङ्कटमा छ ।
डुबानको उच्च जोखिममा रहेका वडाहरू ६, ११, १२, १५, १६ सिंघिया र केशलिया खोलामा तटबन्ध नहुनाका कारण सङ्कटमा छन् । वर्षायाममा यहाँ खोलाको पानी बारम्बार बस्तीमा पस्ने समस्या देखिन्छ । लगातार भारी वर्षा हुँदा वडा न..५, ६, ११ र १२ का ३०० भन्दा बढी घरहरू डुबानमा पर्ने गरेका छन् । वडा नं. ३, ४, ६, ८, ११, १५, १६, १७, १८ मा ढल निकास प्रणाली कमजोर भएको कारणले पानी जम्ने समस्या देखिन्छ ।
२०७४ सालको बाढी र डुवानको असर
भीषण पानी पर्दा २०७४ साल २६ साउनदेखि ५ दिन निरन्तर आएको बाढीले विराटनगर महानगरस्थित खोला नहर आसपासका दर्जनौं बस्ती झण्डै महिना दिन डुबानमा परे । यसबाट हजारौं मानिस प्रभावित भए । अरवौंको भौत्तिक पूर्वाधार घर, सडक, विद्यालय, मठ मन्दिर, हाटवजार, नाला, कलभर्ट र पुलपुलेसा आदिको ठूलो क्षति भयो । सम्भवतः पछिल्लो समयको यो सर्वाधिक क्षतियुक्त घटना थियो ।
विराटनगर महानगरपालिकालद्वारा तयार पारिएको स्थिति मूल्याङ्कन पाश्र्वचित्र अनुसार त्यसबेलाको वाढीले विराटनगरका अधिकाँश वडाका वस्तीहरूमा गम्भीर असर पु¥यायो । सो घटनाबाट वडा नं. ३, ४, ९ र १० का वस्तीहरूमा त्यति ठूलो असर परेको देखिएन भने वडा नं. १९ मा दुईजनाले ज्यान गुमाउनुका साथै अधिकाँश वासिन्दाले सर्वाधिक क्षति व्यहोर्नु परेको तथ्य अभिलेखित छ । विराटनगरका वडाका प्राय सवैजसो बस्तीहरू डुबानमा परे, दर्जनौं घाइते र सयौं विरामी समेत भएका थिए ।
शीतलहरको विपद्
विराटनगरमा हरेक वर्ष जाडोमा शीतलहरको असर देखिन्छ । खुला खेत र कम जनघनत्व भएका क्षेत्रमा चिसो हावा बढी फैलिन्छ । शीतलहरको चपेटामा गरीब तथा झुपडी बस्तीहरू पर्दछन् । शीतलहरको प्रभाव विराटनगरका केही विशेष क्षेत्रहरूमा बढी देखिन्छ । विराटनगर–१६ को दरैया, रानी, जोगबनी सीमावर्ती क्षेत्र, गणेशचोक, केशलिया आसपासका क्षेत्र विशेषः शीतलहरबाट प्रभावित हुने गरेका छन् । बालबालिका, दैनिक मजदुरी गर्ने वर्ग, ज्येष्ठनागरिक र अस्थायी आवासमा बस्ने व्यक्ति शीतलहरबाट आक्रान्त हुन्छन् ।
पशुपंक्षीजन्य विपद्
सडकमा खुला छाडिएका जनावर र सडक तथा चोकहरूमा सामुहिक झुण्डमा बस्ने कुकुरहरू पनि बेलाबखत विपद्को कारण बन्ने गर्दछन् । सामुदायिक कुकुर आतंक विराटनगरकमा गम्भीर विपद्को कारण बन्न पुगेको छ । विराटनगरमा सामुहिक कुकुर आतङ्क बढ्दो समस्या हो । सामुदायिक कुकुरहरूले पैदलयात्री, बालबालिका, वृद्धवृद्धा र साइकल÷मोटरसाइकल सवारहरूलाई अप्रत्यासित आक्रमण गर्ने गर्दछन् । कुकुरबाहेक घरपालुवा चौपाय, सर्प, बाँदर, बँदेल तथा सुँगुर जस्ता पशुहरूले पनि विराटनगरमा विपद् उत्पन्न गर्दै आएका छन् । छाडा जनावरबाट हुने दुर्घटना, रोग प्रसार र वातावरणीय प्रदूषण मुख्य हुन् । सर्पको आक्रमण पनि विपद्को विषय बन्न पुगेको छ । विराटनगर लामखुट्टे प्रभावित ठाउँ पनि हो । यहाँ विभिन्न प्रजातिका लामखुट्टेको टोकाईबाट हुने रोगको प्रकोप पनि विपद्को विषय बन्ने गर्दछ ।
आगलागीजन्य विपद् :
विराटनगरका लागि आगलागी अर्काे गम्भीर विपद््को विषय हो । चुरोट सल्काउने, गोबरको गुँइठो प्रयोग गर्ने, ग्यास चुहावट, विद्युत् सर्ट हुने जस्ता मानवीय लापरवाहीका कारणले आगलागी हुने गरेको छ । २०८० मङ्सिर २० गते विराटनगर ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा तीनजनाको मृत्यु नै भएको थियो भने ४० लाख रुपियाँ बराबरको क्षति भएको थियो । त्यसैगरी चैत ४ गते २०८१ विराटनगर शङ्करपुरमा गोबरको गुँइठाबाट सल्किएको आगोले चार घर जलेर नष्ट भए ।
हावाहुरीजन्य विपद् :
विराटनगर समथर भूभाग र खुला क्षेत्र बढी भएको ठाउँ हो त्यसैले यहाँ हावाहुरीको सम्भावना बढी छ । कमजोर निर्माण सामग्री प्रयोग भएका असुरक्षित संरचना र कमजोर प्रविधि प्रयोग गरिएका घरहरू हावाहुरीको वेला बढी जोखिममा पर्छन् । विद्युत् पोल, सञ्चार टावर, सडक र अन्य पूर्वाधारमा क्षति पु¥याउँछ । बासस्थान गुमाउने, सञ्चार अवरुद्ध हुने र आपतकालीन सेवामा बाधा पुग्ने सम्भावना हुन्छ । विराटनगरका प्रायः सबैजसो वडाहरू हावाहुरीबाट प्रभावित हुने गरेका छन् ।
विपद््का अन्य घटनाहरूमा भूकम्पको जोखिम अधिक रहने गर्दछ । सडक दुर्घटना पनि विपदजन्य हुने गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने अनियन्त्रित सवारीका कारण दुर्घटनाको जोखिम बढी छ । औद्योगिक प्रदूषण, धुलो प्रदूषण, ध्वनी प्रदुषण र जल प्रदूषण लगायत प्रदूषणजन्य समस्याले जनस्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । ग्यास चुहावट, विद्युत् सर्ट भई हुने आगलागी आदि प्राविधिक दुर्घटनाको जोखिमले पनि विपद्का घटना निम्त्याउने गरेको छ । विराटनगरमा केहीवर्ष अघिका कोरोना र जण्डिसको महामारीलाई स्वास्थ्य सम्बन्धी विपद््को प्रतिनिधिमूलक घटना मान्न सकिन्छ ।
विपद् र विपद् व्यवस्थापन
भूकम्प, बाढी, डुवान, शीतलहर, लामो खडेरी, आँधीबेहरी, असिना, सर्पदंश, पहिरो, चट्याङ् प्राकृतिक प्रकोप अनि आगलागी, सडक दुर्घटना, औद्योगिक दुर्घटना, मानव तथा प्रकृतिजन्य जोखिमयुक्त घटनाहरू विपद्् मानिन्छन् । विपद्मा परेकाको जीवन बचाउने, क्षति कम गर्ने र जीवनलाई सामन्यीकरण गर्न गरिने सामूहिक जिम्मेवारीपूर्ण कामलाई विपद्् व्यवस्थापन भनिएको छ ।
पूर्वतयारी, पूर्व–चेतावनी र जोखिम न्यूनीकरण, प्रतिक्रिया र पुनःस्थापना तथा पुनर्निर्माण गरी मूलभूतरुपमा चार किसिमले व्यवस्थापनको कार्य गरिन्छ । पूर्वतयारी अन्तर्गत सम्भावित जोखिमहरूको पहिचान गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने, विपद्् व्यवस्थापन योजना बनाउने, खोज तथा उद्धार तालिमहरू दिने, आपतकालीन सम्पर्क र सञ्चार प्रणाली बनाउने तथा आवश्यक स्रोत सहितको सामग्री सङ्कलन गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छ ।
तत्काल उद्धार र राहत कार्यहरू सञ्चालन गर्ने, घाइतेको उपचार र सुरक्षित स्थानमा स्थानान्तरण, आपतकालीन सेवाहरूको समन्वय तथा खाद्यान्न, लत्ता कपडा, औषधि वितरण आदिको काम ‘प्रतिक्रिया’को चरण अन्तर्गत पर्दछ । त्यसरी नै क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण, पीडितलाई मानसिक, सामाजिक, आर्थिक सहयोग, दीर्घकालीन पुनःस्थापनाको योजना बनाउने र भविष्यमा यस्तो विपद्् नदोहोरियोस् भनेर उपायहरू अवलम्बन गर्ने गराउने चरणलाई ‘पुनःस्थापना र पुनर्निर्माण’ भनेर परिभाषित गरिएको छ ।
विपद्मा सतर्कता
सम्भावित वा अप्रत्यासित विपद््का घटनाप्रति सम्वन्धित व्यक्ति वा समुह सदैव सतर्क रहनु जरुरी छ । विपद्् आइपर्दा त्यसको व्यवस्थापन गर्नु सरकारको मात्र नभई समाजका प्रत्येक व्यक्तिको कर्तव्य हो । विपद्् रोक्न सकिँदैन तर तिनीहरूको प्रभावलाई निश्चित रूपमा कम गर्न सकिन्छ ।
विपद् व्यवस्थापनमा सरोकारवालाको भूमिका
विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र विपद्् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीति तथा ऐन बनाएर काम गर्दै आएको छ । महमनगरकाबाट जारी ‘विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ ले विपद्् व्यवस्थापनका विभिन्न पक्षलाई समेट्दै स्थानीय तहमा प्रभावकारी व्यवस्थापनको आधार तयार गरेको छ ।
महानगरपालिकाले नगर प्रमुखको नेतृत्वमा विभिन्न सरकारी, गैरसरकारी र सामुदायिक प्रतिनिधिहरूसहितको महानगर विपद्् व्यवस्थापन समितिको गठन गरी विपद्् व्यवस्थापनका सबै पक्षमा निर्णय र कार्यान्वयन गर्ने काम गर्दै आएको महानगरपालिकाले जनाएको छ । महानगर विपद्् व्यवस्थापन समितिले विपद््को जोखिम मूल्याङ्कन गर्ने, योजना बनाउने, जनचेतना अभियान सञ्चालन गर्ने र उद्धार कार्यमा समन्वय गर्ने काम गर्छ । सो समितिका सदस्यहरूमा विभिन्न सरकारी निकाय, सुरक्षा संयन्त्र, स्वास्थ्य सेवा, शिक्षण संस्था, गैरसरकारी संस्था र स्थानीय समुदायका प्रतिनिधिहरू हुन्छन् । प्रत्येक वडामा १५ सदस्यीय स्वयंसेवक टोली गठन गरी तालिम पनि दिइएको छ ।
महानगरपालिकाले विपद््को समयमा राहत र पुनःस्थापनाका लागि एक करोड रुपियाँको विशेष कोष पनि स्थापना गरेको छ । महानगरको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रतिमा पोखरेलका अनुसार तत्काल स्रोत परिचालन गर्न ८–१० लाख रुपियाँसम्मको आपतकालीन कोषको व्यवस्था गरिएको छ । कुनै विपद् आइपरेमा महानगरपालिकाले तत्काल उद्धार र राहातको काम गर्ने गरेको महानगर प्रहरी प्रमुख राजन पौडेल बताउनुहुन्छ । उद्धारलाई प्रभावकारी बनाउन पर्याप्त स्रोत र दक्ष जनशक्तिको अभाव कायमै रहेको उहाँको प्रतिक्रिया छ ।
विपद् व्यवस्थापनमा महानगरपालिकाको तर्फबाट स्थानीय अनुकुलन योजना (लापा), स्थानीय विपद् तथा जलवायु उत्थान परियोजना र हाम्रो कन्सल्टेन्सी फिदिमले समेत विराटनगर क्षेत्रको विपद् व्यवस्थापन सम्वन्धी कार्य गर्दै आएको छ । ती संस्थाले महानगरपालिकाभित्रको विपद्् सम्वन्धी विषयहरू पहिचान गर्ने, विपद्को प्रभाव विश्लेषण गर्ने र विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूको भूमिकाका विषयमा सुझाव सहितको रणनीतिक कार्ययोजना महानगरमा प्रस्तुत गर्दछन् ।
लामो समयदेखि विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको संस्था लापाका कार्यकारी प्रमुख सूर्य दाहालका अनुसार विराटनगरमा मुख्यरुपमा वाढी डुवान, शीतलहरी र आगलागी सम्वन्धी विपद्बाट जनजीवन प्रभावित हुने गर्दछ । वाढीडुवान न्यूनीकरणका लागि ढलनिकास र तटवन्धन निर्माणको कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ । शीतलहरीको समयमा हुने प्रभाव न्यूनीकरणका लागि दीर्घकालीनरुपमा बस्तीसुधार र आवास व्यवस्थापनमा ध्यान पु¥याउनु पर्ने लापाको अध्ययनले देखाएको छ । आगलागीबाट हुने विपद्् न्यूनीकरणका लागि दमकलको प्रभावकारितामा ध्यान दिनुपर्ने देखिन्छ । जसरी महानगरभित्र अत्याधुनिक अग्ला–अग्ला भवन निर्माण भइरहेका छन्, दमकलको क्षमता र प्रभावकारिता पनि सोही अनुसार सुधार गर्न आवश्यक छ ।
महानगरपालिकाभित्र हुने विपद्का घटनामा नेपाल रेडक्रस सोसाइटीले पनि आवश्यक सहयोगात्मक सहकार्य गर्दछ । रेडक्रस सोसाइटीको अनुभवमा पनि बाढी, डुवान, आगलागी, शीतलहर र नदी कटान नै विपद्का प्रमुख कारण हुन् । रेडक्रस सोसाइटी कोशी प्रदेश कार्यालयका प्रशासन अधिकृत सञ्जय कामतका अनुसार रेडक्रसले आवश्यक परेमा विपद्मा परेकाहरूलाई महानगरपालिकाको समन्वयमा रगत लगायत उद्धारका सामग्री उपलव्ध गराउने गर्दछ । विपद् न्यूनीकरणका लागि जनचेतनामूलक सन्देश प्रवाह प्रभावकारी हुनुपर्ने रेडक्रसको सुझाव छ ।
विराटनगर महानगरपालिकाका सबै वडाहरूको प्राकृतिक, भौतिक संरचना तथा आर्थिक–सामाजिक संरचनागत रुपमा पृथक–पृथक विशेषताहरू रहेकाले विपद् जोखिमको प्रकृति र विशेषता पनि पृथक–पृथक नै पाउन सकिन्छ । विपद्का दृष्टिकोणले न्यून प्रभाव रहेको वडा नंं. १० का वडाध्यक्ष अर्जुन गिरीका अनुसार सबैजसो वडाहरूले आफ्नो आवश्यकतालाई ध्यानमा राखेर विपद् व्यवस्थापनको तयारी गर्ने गर्दछन् ।
प्रदेशस्तरीय विपद्् व्यवस्थापनको अवस्था
प्रदेश योजना आयोगको प्रक्षेपण अनुसार कोशी प्रदेशमा विपद्््जन्य घटनाबाट वार्षिक ६२ करोड अर्थात कुल गार्हस्थ उत्पादनको ०.८१ प्रतिशतको हाराहारीमा क्षति हुने गर्दछ । विपद््को जोखिमलाई न्यूनीकरण गर्ने ध्येयका साथ कोशी प्रदेश सरकारले पनि विपद्् व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित गरेको छ । उच्च जोखिमबाट जनजीवन प्रभावित हुने ठाउँमा प्राथमिकता अनुसार नै विपद्् व्यवस्थापनको काम गर्ने गरेको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीका अनुसार बहुविपद््को उच्च जोखिमलाई ध्यानमा राखेर कोशी प्रदेश सरकारले २०७९ सालमा आठवर्षे (२०७९–२०८७) ‘प्रदेश विपद्् व्यवस्थापन रणनीतिक कार्ययोजना’ तयार गरेको छ । रणनीतिक कार्ययोजना र विश्वव्यापी कार्यढाचा तथा नेपाल सरकारद्वारा तय गरिएका प्राथमिकताका क्षेत्रलाई आधार मानेर चारवटा रणनीतिक क्षेत्र, १९ वटा रणनीति र १ सय ४४ वटा रणनीतिक क्रियाकलाप पहिचान गरिएको छ ।
यसअघि नै प्रदेशलाई विपद्् र जलवायुजन्य जोखिम न्यूनीकरण गरी सुरक्षित, स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माण गर्न ‘प्रदेश विपद्् व्यवस्थापन नीति २०७८’ बनाई कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । यिनै नीति र रणनीतिको आधारमा प्रदेश सरकारले हरेकवर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत विपद्् व्यवस्थापनका लागि कार्यक्रम सहित रकम विनियोजन गर्दै आएको छ ।
मन्त्रालयबाट जारी आय–व्यय विवरण (बजेट) अनुसार आर्थिक वर्ष २०८९–०८० मा प्रदेशको समग्र विपद्् व्यवस्थापनका लागि १४ करोड ५० लाख रुपियाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०८०–०८१ मा विपद्् व्यवस्थापन कार्यका लागि ११ करोड ६८ लाख रुपियाँ छुट्याइएको थियो । चालू आर्थिक वर्ष २०८१–०८२ मा विपद््् व्यवस्थापनको लागि प्रदेशका १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरिएको छ । यही अवधिमा वारुणयन्त्र लगायतका उपकरण समेत हस्तान्त्तरण भएको छ भने ८९ वटा प्रहरी भवन तथा ब्यारेक निर्माणको कार्य समेत प्रदेश सरकारबाट सम्पन्न भएको छ । एघारवटा प्रहरी भवन निर्माणको क्रममा रहेकोे जनाइएको छ ।
विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबैभन्दा ठूलो तयारी विषयगत सचेतना जागृत गराउनु हो । आफ्नो ठाउँको सम्भावित विपद््बारे व्यक्ति, टोल समिति, स्थानीय तह प्रदेश र संघीय सरकार अन्तर्गतका सबै निकायहरू सचेत रहन जरुरी हुन्छ । विपद््को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखेर जोखिम व्यवस्थापन, उद्धार र राहतमा ध्यानदिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मातहलाई निर्देशन समेत दिनुभएको छ । विराटनगर महानगरपालिकामा प्राकृतिक, मानव निर्मित, स्वास्थ्यसम्बन्धी र सामाजिक–आर्थिक विपद्् हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर प्रत्येक विपद््को प्रभाव कम गर्नका लागि तयारी, सचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक छ ।