कोशी सरकारमा काँग्रेस सहभागी हुँदै, चार मन्त्रालय पाउने सहमति, मन्त्री छान्न सकस

विराटनगर । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेपाली काँग्रेस कोशी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा काँग्रेस चार मन्त्रालयसहित सहभागी हुने भएको हो ।

मुख्यमन्त्री कार्की र कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री उद्वव थापासहितका नेताहरुको छलफलले मन्त्रालय भागबन्डा टुंगो लागेको नेताहरुले बताएका छन् । प्रदेश सरकारमा कांग्रेस चार मन्त्री र एक राज्यमन्त्रीसहित सहभागी हुनेछ ।

कांग्रेसले माओवादीले छाडेको मन्त्रालय पाउनेछ भने अहिले मुख्यमन्त्रीकै मातहमा रहेको कृषि मन्त्रालय काँग्रेसलाईलिन मुख्यमन्त्रीले प्रस्ताव गरेका छन् । काँग्रेस संसलदीय दलका नेता नेता उद्धव थापाका अनुसार कांग्रेसले अहिले खाली रहेका मन्त्रालय लिन सहमत छ । ‘एमाले र हाम्रोबीचमा खासै समस्या छैन’ थापाले भने, ‘एमालेसँगको छलफल करिब टुंगिएकै छ, बरु हाम्रो आफ्नो छलफल टुंगिएको छैन ।’

शनिबार काठमाडौंमा मुख्यमन्त्रीसँग भएको छलफलमा मन्त्रालयको भावबण्डाबारे सकारात्मक कुरा भएको जानकारी दिँदै थापाले सहमतिलाई लिपिबद्ध गर्ने आफ्नो प्रस्ताब रहेको बताए । यसअघि माओवादीले सम्हालेका तीन मन्त्रालय र खाली रहेको कृषि मन्त्रालय लिन काँग्रेस सकारात्मक रहेको र त्यसबारे एमालेसँग सहमति भएको उनले जानकारी दिए ।

माओवादी मन्त्रीहरुले राजीनामा दिएपछि शुक्रबारबाट प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र र पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली छ । यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै खाली छ । काँग्रेस अब ती मन्त्रालय लिएर सरकारका सहभागी हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय रहेको प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री बहाल छन् । मुख्यमन्त्री कार्कीसहित एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, आन्तरिक मामिला मन्त्रालयमा लिलाबल्लभ अधिकारी, सामाविक विकास मन्त्रालयमा पाँचकर्ण राई र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयमा एकराज कार्की मन्त्री छन् । यस्तै सिर्जना राई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्री छन् ।

नेपाली काँग्रेसले सरकारमा आलोपाले गर्नेबारे पनि लिखित सहमित गर्नुपर्ने अडान राखेको थियो । तर, मुख्यमन्त्री कार्कीले आलोपालो केन्द्रको निर्णयका आधारमा हुने भन्दै त्यसमा सहमति गर्न तयार भएनन् ।

चार मन्त्रालय पाउने सहमति भएपनि सरकारमा को–को जाने भन्ने निर्णय काँग्रेसले गर्न सकेको छैन । काँग्रेमा मन्त्री बन्न एक दर्जनभन्दा धेरै आकांक्षी रहेका छन् । आकांक्षी धेरै रहेकोले काँग्रेस सरकारमा सहभागी हुन अझै केहि दिन लाग्नसक्ने थापाले बताएका छन् ।

कांग्रेसका चार मन्त्रीमध्ये २ जना देउवा पक्षबाट, एक जना डा.शेखर कोइराला पक्षबाट र एक जना कृष्णप्रसाद सिटौला पक्षबाट पठाउने तयारी रहेको स्रोतले जनाएको छ । तर, शेखर पक्षले २ मन्त्री मागेको छ । जसले गर्दा सहमति भइसकेको छैन ।

खोटाङका भूपेन्द्र राई, इलामका गोविन्द गिरी, मोरङका भीम पराजुली र मानबहादुर लिम्बु, ताप्लेजुङका खगेनसिंह हाङ्गाम, झापाका भूमिप्रसाद राजवंशी, सोलुखुम्बुका डोल्मा तामाङ मन्त्रीका मुख्य आकांक्षी हुन् । यस्तै यसअघि मन्त्री रहिसकेका उदयपुरका हिमाल कार्की र ओखलढुंगाका प्रदिप सुनुवारले पनि जोडबल लगाइरहेको बताइन्छ । यस्तै एक जनालाई काँग्रेसले राज्यमन्त्री बनाउने बुझिएको छ ।

सोमबारसम्ममा कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने दल नेता थापाले बताएका छन् । मुख्यमन्त्री कार्कीले कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी भएको र त्यसबारे करिब सहमतिमा पुगिएको जानकारी दिएका छन् ।

आइतबार, १३ साउन, २०८१, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर