विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक हार्डवेयर व्यवसायी जेल चलान भएका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानी कारागार चलान भएका हुन् ।
विराटनगर १० घर भई विराटनगर ७ हाटखोलामा बस्ने बियानीले विराटनगर ३ मा हार्डबेयर पसल सञ्चालन गर्दै आएका थिए । आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो । कार्यालयका कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।
कार्यालयले गरेको अनुसन्धानमा बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिएको पत्रमा उल्लेख छ । राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो । सोमबार जारी भएको पुर्जी अनुसार उनी मोरङ कारागार चलान भएको राजश्व कार्यालयले जनाएको छ ।
तीन महिनादेखि मूल्य अभिवृद्धि कर (भ्याट) छलीको अनुसन्धान गरिरहेको राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरले बियानीलाई पक्राउ गरेको थियो । उनलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार कारागार चलान गरिएको छ ।
राजस्व छली गरेको रकम र हुन आउने बिगो रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि बिहानीलाई विभागकै सहमतिमा थुनामा राख्न कारागार पठाइएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । यो कारबाही आन्तरिक राजस्व कार्यालय विराटनगरको इतिहासमै पहिलो भएको प्रमुख कर अधिकृत भुपालमान शाक्यले बताए । यसअघि कर छलिका घटनामा कारबाही भएको भएपनि कारागार चलान गरिएका घटना भने थिएनन् ।
सामान्यतया यस्ता प्रकरणमा धरौटीमा छुट्ने गरेपनि यो प्रकरणको गम्भीरता र ठूलो रकमका कारण मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) बमोजिम थुनामा पठाइएको हो । ऐनले धरौटी नराखेमा वा जेथा जमानी नदिएमा ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नसक्ने अधिकार दिएको छ ।
आन्तरिक राजस्व कार्यालय प्रमुख शाक्यका अनुसार बियानीले वस्तु तथा सेवाको कारोबार नै नगरी नक्कली भ्याट बिल मात्र जारी गरी राजस्व छली गरेका थिए । ‘यो एक योजनाबद्ध र संगठित अपराध हो,’ उनले भने, ‘फेक कारोबार खडा गर्ने, नक्कली बिल काटेर क्रेडिट दाबी गर्ने र कारोबार ठूलो देखाएर बैंकबाट ऋण लिने जस्ता बहुआयामिक अपराध यसमा जोडिएको देखिन्छ ।’
अनुसन्धानका क्रममा तीन आर्थिक वर्ष २०७९÷८०, २०८०÷८१ र २०८१÷०८२ को चैतसम्मको अवधिमा सो बराबरको राजश्व छली गरेको पाइएको हो । बियानीले वस्तु नै बिक्री नगरी जारी गरिएको नक्कली विजकको मूल्यमा करिब ८६ करोड रुपैयाँको छली भएको छ । यस्तै झुटा तथा नक्कली कर विजक प्रयोग गरी २२ करोडभन्दा बढीको क्रेडिट दाबी गरिएको छ ।
दुवै छलीको बिगो र त्यसमा लाग्ने शतप्रतिशत जरिवाना जोडेर कूल १ अर्ब ३१ करोड ४६ लाख ९४ हजार ८६७ रुपैयाँ असुलउपर गर्न माग दाबी गरिएको हो । यो प्रकरणमा एउटा व्यक्ति मात्र नभई ठूलै गिरोह संलग्न भएको राजस्वको आशंका छ । ‘यो घटनाले एउटा ठूलो सञ्जालको पर्दाफास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘अनुसन्धानको दायरा फराकिलो बनाइएको छ र यसमा संलग्न अन्य व्यक्ति तथा फर्महरू पनि चाँडै कानुनको कठघरामा आउनेछन् ।’
आन्तरिक राजस्व विभाग र कार्यालयको यो सक्रियताले राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने र अवैध कारोबार निरुत्साहित हुने अपेक्षा गरिएको छ । यो प्रकरणमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । छानविनको अन्तिम प्रतिवेदन आएपछि मात्रै अन्य विषय खुल्ने शाक्यले बताए ।