विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार उर्फ ‘मन्टु’ १६ महिना जेल बसेर निस्किएपछि पनि ऋण दिएका सर्वसाधारणलाई झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने गरेको पाइएको छ।
मिटरब्याजुको नाममा आर्थिक विपन्न, अशिक्षित र कमजोर वर्गका मानिसहरूलाई आर्थिक र मानसिक रूपले पीडा दिने मन्टुको श्रृंखला जेल बाहिर आएपछि झनै भयावह बन्दै गएको हो।
मन्टुले मोरङको विराटनगर–२ की ५२ वर्षीया मन्जु शर्माविरुद्ध १३ फागुन २०८१ मा मोरङ जिल्ला अदालतमा ‘लेनदेन’ सम्बन्धी मुद्दा दायर गरेका छन्। उनीमाथि २ लाख रुपैयाँको साँवा र ब्याजसहित ३ लाख ९९ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने मन्टुको दाबी छ।
पीडित मन्जुको भनाइ अनुसार मन्टुसँग २०७१ साल फागुन २५ गते ५० हजार रुपैयाँ मात्र लिएकी थिइन्। तर मन्टुले २ लाख रुपैयाँको कपाली तमसुक बनाएका थिए।
चार वर्षभित्रै मन्जुले ऋण चुक्ता गर्न ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिन्। त्यसबेला उनले विराटनगर २ मा रहेको ११ धुर जग्गासमेत बिक्री गरिन्। ऋण फिर्ता गरिसकेपछि मन्टुसँग तमसुक फिर्ता माग्दा उनले बहाना गरिरहे। केही समयपछि मन्टु ठगी र अपराधिक लाभको अभियोगमा जेल गएपछि मन्जु जेलसम्म पुगेर पनि तमसुक मागिन्, तर उनको मागलाई बेवास्ता गरियो।
‘मैले त ऋण तिरेर सकेँ, घरजग्गा बेचेँ, तमसुक माग्दा दिँदैन, अहिले आएर अदालतबाट मुद्दा पर्यो। छानाबाट खसेजस्तो भएँ,’ मन्जुले अदालतमा दायर भएको उजुरी पत्र देखाउँदै भनिन्। अहिले उनी श्रीमान् र दुई नातिनीसहित भाडाको घरमा बस्दैछिन्। अदालतको तारेखमा धाउनु उनको बाध्यता बनिसकेको छ।

प्रशासनमा मन्टुबाट पीडितको लाइन
मन्टुबाट पीडित भएकाहरूका अनुसार जेलबाट छुटेपछि उनले झनै बढी आतंक मच्चाउन थालेका छन्। धम्की दिने, पत्र पठाउने, फर्जी तमसुक देखाउने अनि अदालतमा मुद्दा हाल्ने उनको शैलीमा कुनै परिवर्तन आएको छैन।
मन्टुबाट पीडितहरूले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै २० जनाले मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको जानकारी गराएका छन्। उजुरी दिनेमा गुल्जार मियाँ, दिलिप कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवट, साजिद मियाँ, परमेश्वर कामत, दीपक कुमार राय लगायत छन्।
मन्टुको आतंक फेरि सुरु भएकोले हामीले सामुहिक रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको सुनवर्षी नगरपालिका–४ का अमित यादवले बताए। ‘जेलबाट छुटेपछि आएर हामीले फिर्ता पाएको जग्गाको पैसा माग्न थाले। हुलाकमार्फत धम्कीपूर्ण चिठी पठाएका छन्, उनले भने, ‘मन्टुले हामीसँग फिर्ता लिएको जग्गाको पैसा दिनु नत्र कानुनी कारबाही गर्ने धम्की दिए। त्यसपछि हामीले प्रशासन गुहारेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने ।

२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्ने गरेको सर्वसाधारणको भनाइ छ। पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए। तर अब फेरि मन्टुले अझै पैसा तिर्नु बाँकी छु भन्दै पत्र पठाएर त्रास फैलाइरहेको उनीहरूको गुनासो छ।
मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए। २०७८ माघ १३ मा मन्टु मोरङ अदालतमा मुद्दा दायर भएको थियो।
मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ठगी र अपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो।
२०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिए। त्यसपछि उनी मोरङ कारागार चलान भए।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडी बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे। त्यसबेला निवेदकहरू र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियारलाई अख्तियारी दिएका थिए।
सोही सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो। २०७९ जेठ ९ सफाइ पाएर मन्टु जेलमुक्त भए। जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७जना मध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका हुन्।
यता प्रशासन भने अहिलेसम्म निष्क्रिय जस्तै देखिन्छ। उजुरी परेपनि प्रभावकारी छानबिन र तत्काल कारबाही नहुँदा पीडितहरू अझ त्रसित छन्।
