थापालाई कारवाही सिफारीस गर्ने दुई नेताको बढुवा !

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई संगठित सदस्यबाट हटाउन सिफारिस गर्ने समितिका संयोजक र सदस्यहरु उपल्लो तहमा बढुवा भएका छन् ।

गत जेठ ३१ गते नेकपा एमाले जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीका नेता र कार्यकर्तालाई मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनको विषयलाई लिएर स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोध्नु अगाडि छानविन गर्न एक समिति बनाइएको थियो ।

खानेपानीको निर्वाचनमा पार्टीले उठाएको उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार उठाएको भन्दै महानगरपालिकाका अध्यक्ष थापासहित तीन जनालाई उक्त छानविन समितिको सिफारिसका आधारमा जिल्ला कमिटीले पदमुक्त गर्दै साधारण सदस्यसमेत निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त समितिले अध्यक्ष थापा, महानगरका उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईको साधारण सदस्यता निलम्बन गर्न सिफारिस गरेको थियो ।

सोही प्रकरणलाई लिएर संगठन कमिटीका अध्यक्ष कार्कीले तीन सदस्य छानबिन समिति बनाएका थिए । जेष्ठ १८ गते बसेको एमाले मोरङको बैठकले सो प्रकरणमा छानबिन गर्न जिल्ला कमिटी उपसचिव शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी समिति गठन गरेको थियो । भुजेल र थापाले कारबाही गर्न सिफारिस गरेका थिए भने बस्नेतले फरक मत राखेका थिए ।

आइतबार विराटनगरमा बसेको नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय बैठकले सिफारिस गर्ने समितिको संयोजक भुजेललाई सङ्गठन कमिटीको उपाध्यक्ष र थापालाई सचिव पदमा मनोनित गरेको छ । हस्ताक्षर नगरेका बस्नेतलाई भने माथिल्लो जिम्मेवारी दिइएको छैन । उनी विराटनगर महानगर १ का वडाध्यक्ष हुन् । सचिव पदमा बढुवा भएका थापा र बस्नेत यसअघि जिल्ला सदस्यको समान पदमा थिए ।

सचिवालय बैठकले उप–सचिवमा दुई जनालाई मनोनित गरेको छ । उपसचिवमा सन्तोष साह र सोम थापालाई मनोनित गरिएको एमाले स्थायी कमिटी सदस्य शेरधन राईले बताए ।

समयमा जिल्ला अधिवेशन गर्न नसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले उपाध्यक्ष कार्कीको नेतृत्वमा नयाँ कमिटी बनाएका थिए । प्रदेश कमिटीको सचिवालय बैठकले आइतबार सो कमिटीको पदाधिकारीलाई पूर्णता दिएको हो ।

आइतबारकै सचिवालय बैठकले महानर कमिटीका अध्यक्षसहितका नेतालाई गरिएको कारबाही बारे अध्ययन गर्न कार्यदल पनि बनाएको छ । प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको संयाजक्तोमा तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलको सदस्यहरुमा प्रदेश कमिटीका उप–सचिव देवान राई र प्रदेश कमिटी सचिवालय सदस्य होम थापा छन् । ‘कार्यदलले कारवाहीको सिफारीसको प्रक्रिया र औचित्यका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउने छ,’ स्थायी कमिटी सदस्य राईले भने ‘त्यसपछि मात्रै कारवाहीको अनुमोदन हुने नहुने निर्णयमा प्रदेश कमिटी पुग्छ ।’ थापालगायतका महानगरका नेताको कारवाहीको विषयले पार्टीभित्र समस्या पर्थ थालेपछि थामथुम गर्न कार्यदल बनाइएको अनुमान एमाले नेताहरुले गरेका छन् ।

सोमबार, १८ असार, २०८१, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर