संखुवासभा । मोन्था चक्रवातको कारण लगातार वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह संखुवासभा प्रशासनले आग्रह गरेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्वारा जारी सूचनामा अत्यधिक हिमपात र चिसो बढेको हुँदा मकालु आधार शिविरलगायत उत्तरी हिमाली क्षेत्रतर्फको पदयात्रा कात्तिकक १५ गतेसम्म नगर्न भनिएको हो ।
हिमपातका कारण उत्तरी क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुनसक्ने देखिएको प्रशासनले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले विशेष सावधानी अपनाउन निर्देशन दिएको हो ।
संखुवासभाको उच्च क्षेत्रमा पर्ने मकालु प्रहरी चौकी सेदुवाका प्रहरीहरूले विदेशी र स्वदेशी पर्यटकलाई मौसमी जानकारी दिँदै सचेत गराउँदै आएको प्रशासनले जनाएको छ । पर्यटकलाई बाटोघाटो, होटल र सुरक्षा व्यवस्थाबारे पनि निरन्तर जानकारी दिइँदै आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
हाल मकालु आधार शिविर क्षेत्रमा करिब ७० विदेशी पर्यटक र ६० नेपाली पर्यटक रहेको बताइएको छ । प्रहरीले तुम्लिङटार विमानस्थल, नुम र सेदुवामा मौसमी सचेतना अभियान सञ्चालन गरिरहेको डीएसपी मैनालीले बताए । पर्यटकलाई मौसम, बाटो र जोखिमबारे प्रत्यक्ष जानकारी दिँदै आएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लगातारको वर्षाले पहिरो जाने, सडक अवरुद्ध हुने तथा जनजीवन प्रभावित हुने खतरा बढेको छ । त्यसैले अत्यावश्यक काम बाहेक अनावश्यक यात्राबाट बच्न सबै नागरिकलाई आग्रह गरिएको छ ।
प्रशासनले पहिरोको जोखिम देखिएका क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ । नागरिकहरूलाई मौसम जानकारी नियमित सुन्न, नदी किनार, पहिरो सम्भावित स्थान तथा हिमाली क्षेत्र नजिकका बाटोहरूमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
