कोशीका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

कोशीका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

विराटनगर । विभिन्न दुर्घटनामा हात गुमाएका कोशी प्रदेशका २०४ जना व्यक्तिलाई कृत्रिम हात वितरण गरिने भएको छ।

करुणा फाउन्डेसन र जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको हो ।

दुर्घटना, करेन्ट, विभन्न्न संक्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको संख्या बढ्दै गएको बेला कृत्रिम हात प्रदान गर्न लागिएको हो । देशभर करिब ५० हजारभन्दा बढी व्यक्ति विभिन्न प्रकारका कृत्रिम अंगको प्रयोग गरिरहेको फाउण्डेसनले जनाएको छ ।

करुणाको कृत्रिम हातको आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएपछि, देशभरका जम्मा ४२८ जना व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीबद्ध गरिएको छ । करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा आगामी कात्तिक १७ गतेदेखि २६ गतेसम्म, २०८२ सुनसरीको इटहरीमा निःशुल्क हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात वितरण तथा जडान गर्नेछ ।

कार्यक्रममार्फत पहिलो चरणमा २०४ जनालाई कृत्रिम हात जडान गरिनेछ । लाभग्राहीहरूको विवरण देशभरबाट सङ्कलन गरिएको भएपनि पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई कृत्रिम हात निःशुल्क वितरण गरिने संस्थाले जनाएको छ।

कृत्रिम हात जडानको लागी जर्मन, न्युजिल्याण्ड र युगान्डाका विज्ञहसहितको प्राविधिक टोली नेपाल आउँनेछन् । कृत्रिम हात जडानपछि लाभग्राहीहरूले आफ्नो दैनिकीका कामहरू खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यवसायिक कामहरू गर्नसक्ने बताइएको छ ।

शिविरमा भोजपुरका १०, इलामका ३, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुंगाका १९, पाँचथरका २२, सोलुखुम्बुका ८, सुनसरीका ८, तेह्रथुमका २ र उदयपुरका २५ जनालाई कृत्रिम हात जडान गरिने आयोजकले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्