उदयपुरका १३ संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ, भुल्केमा पुनः परीक्षणको तयारी

भुल्के बस्तीका ५८ परिवारका २८८ जनाको पुनः परीक्षण गरिने

विराटनगर । विराटनगर स्थित कोशी अस्पताल अन्तगर्ततको कोरोना उपचार केन्द्रमा रहेका १३ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ ।

गत वैशाख ५ गते संक्रमित पुष्टि भएका १२ जना र ६ गते संक्रमित पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरिएकाहरुको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले पहिलो चरणमा संक्रमित भएकाहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी आएको बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने संक्रमित भेटिएका १३ जनाको आइतबार गरिएको दोश्रो पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।

स्वाब परीक्षण गरेको कोशी अस्पतालले भने त्यसबारे औपचारिक जानकारी दिएको छैन । अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा.संगिता मिश्राले थप संक्रमितको पनि पुनः स्वाब संकलन गरिएको बताउँदै भोलिसम्म सबैको रिपोर्ट आउने जानकारी दिनुभएको छ ।

उनीहरुको अब तेस्रो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा कोरोनामुक्त भएको स्पष्ट हुने र उनीहरुलाई डिस्चार्ज गरिनेछ । कोरोना संक्रमितको १४ दिनमा पिसिआर परीक्षण गर्ने गरिन्छ ।

नुरी मस्जिदमा बस्ने १६ जनामध्ये १२ भारतीय र एक नेपालीमा पहिलो चरणमा कोरोना देखिएको थियो । मस्जिदका १३ जनामा संक्रमण देखिएपछि गरिएको पुनः परीक्षणमा मस्जिदमा बस्ने थप ३ नेपाली पनि संक्रमित पाइएका थिए भने आसपासको बस्तीका थप १२ जनामा कोरोना देखिएको थियो । उनीहरु सबैको कोरोना उपचार केन्द्रमै उपचार भइहरको छ ।

भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । कोरोना संक्रमणको केन्द्र भुल्के बनेपछि उदयपुरमा ६ सय ६९ जनाको स्वाब सङ्कलन गरि परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा पुनः परीक्षण हुने
यसैबीच २८ जना कोरोना संक्रमित भेटिएको भुल्केको मुस्लिम टोलमा पुनः कोरोना भाइरस परीक्षण गरिने भएको छ । मुस्लिम टोलमा संक्रमणको जोखिम रहेकाले पून परीक्षण गर्न लागिएको हो ।

५३ मुस्लिम परिवारका २८८ जनाको स्वाब संकलन गरि पुन परीक्षण गरिनेछ । मंगलबारबाट परीक्षणको काम सुरु हुनेछ । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भुल्केमा जोखिम रहेकाले पुनः परीक्षण गर्न लागिएको बताउनुभयो ।

भुल्केमा रहेकाहरुको परीक्षणका लागि सोमबार प्रदेशबाट थ्रोट स्वाब संकलन गर्ने भिटिएम पुगेको छ । ल्याबसँग समन्वय गरेर परीक्षण क्षमताको आधारमा स्वाब संकलन गरिने सुवेदीले बताउनुभयो ।

सोमबार, २२ बैशाख, २०७७, रातीको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर