विराटनगर । पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमण नदेखिएकोमा आइतबार एकैदिन १० जना संक्रमित थपिएका छन् ।
नेपालगञ्जको प्रयोगशालामा परीक्षण गर्दा ९ जना र बिरगञ्जमा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
नेपालगञ्जमा संक्रमित भेटिएका ५ पुरुष र ४ महिला ७ देखि ५८ वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई नेपालगञ्ज अस्पतालमा ल्याउने काम भइरहेको देवकोटाले बताउनुभयो ।
यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण देखिएको हो । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडाअध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।
उनमा कोरोना संक्रमणको पुष्टि भएसँगै उनका परिवारका सदस्यहरुको समेत स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये १६ जना निको भएका छन्। निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।