विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा हाल ३१ जना कोरोना सङक्रमित बिरामीहरु छन् । अस्पतालमा रहेका उदयपुरबाट ल्याइएका २८, झापाका २ र भोजपुरका एक जनाको अवस्था सामान्य छ ।
अस्पतालमा रहेकाहरुमा कोरोनाको सामान्य लक्षणहरु पनि देखा नपरेको चिकित्सकले बताएका छन् । सामान्यतः कोरोना सङक्रमितमा उच्च ज्वरो, घाँटी दुख्ने तथा साँस फेर्न गाह्रो हुने लगायतका लक्षणहरु देखिने गर्दछन । तर, प्रदेश १ का संक्रमितमा कुनै समस्या छैन ।
अस्पतालमा उपचाररत ३१ जना कोरोना सङक्रमितहरु मध्ये २९ जना मुस्लिम समुदायका हुन् । उनीहरु सबैको नियमित रगतको नमुना परिक्षण भईरहेको छ । ६० वर्षमाथिका ३ जनामा मधुमेह र १ जनामा उच्च रक्तचापको समस्या रहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्टडेन्ट डा. सङगीता कौशल मिश्राले जानकारी दिनुभयो ।
संक्रमितहरुमध्ये पहिलो चरणमा भर्ना भएका १३ जनाको शुक्रबार स्वाबको नमुना संकलन गरिएको छ । संक्रमित विरामीको हरेक १४ दिनमा स्वाब परीक्षण गर्ने गरिन्छ । यो परीक्षणमा पोजेटिभ रिपोर्ट आएका अर्को १४ दिन उनीहरु अस्पताल बस्नुपर्नेछ भने नेगेटिभ रिपोर्ट आएमा लगातार दुई परीक्षण गरी डिस्चार्ज गरिन्छ ।
उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले पुर्ण सुरक्षा र सर्तकताका साथ कोरोना संक्रमित बिरामीहरुकोे उपचार गरिरहेका छन । यद्यपि उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको डा.दिपक सिग्देलले बताउनुभयो ।
संक्रमणको जोखिम न्युनीकरण तथा रोकथामका लागी प्रदेश नं. १ सरकारले विराटनगरमा कोभिड–१९ उपचार केन्द्र तथा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिशेष अस्पतालको निर्माण गरेको छ । आवश्यक परेको खण्डमा धरानको बि.पी कोईराला अस्पतालको बेड क्षमता वृद्धि गरेर १ हजार बेडको कोरोना बिशेष अस्पताल बनाउन सकिने प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहत्ताले बताउनुभयो । प्रदेश नं. १ मा मात्रै कुल ३ ठाँउबाट नियमित स्वाबको नमुना परिक्षण भईरहेको छ ।
प्रदेश नं. १ मा कोरोना संक्रमणको जोखिम न्युनीकरण तथा रोकथाम गर्न प्रदेश सरकारले बिशेषतः आफ्नो उपचार क्षमता बढाउने बिषयमा जोड दिएको छ । यसका साथै प्रदेश सरकारले समुदाय स्तरबाट कोरोना भाईरसको सङक्रमण फैलिन नदिन लकडाउनको पुर्ण पालना गर्न सम्पुर्ण प्रदेशबासीमा आग्रहसमेत गरेको छ ।