विराटनगर । नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । कटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता आचार्यले पटक – पटक संसदलाई भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मोरङ क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमनलाल मोदी, प्रदेशसभा सदस्य ४(१) उम्मेदवार गुरुराज घिमिरे र ४(२) का काँग्रेसका उम्मेदवार भीम पराजुलीलाई भोट माग्दै आचार्यले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेकोले गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराउनुपर्ने बताए ।
उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए । ‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन’, उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।’
उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने उनले बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेदवार अमनलाल मोदीले यस क्षेत्रको अधुरा काम पुरा गर्दै पाँच वर्षमा स्वास्थ्य, शिक्षा, कृषी, पूर्वाधार विकासमा काम गर्ने बताए । देशको परिवर्तनको आन्दोलनमा आफूले धेरै लगानी गरेको भन्दै जनताको मुक्तिको लागि सधैँ लड्दै आएको उनले सुनाए ।
उनले आफू माओवादी केन्द्रको भन्दा पनि गठबन्धनको साझा उम्मेदवार भएको बताए । ‘म मोरङ क्षेत्र नं. ४ को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ,’ उनले भने ।
कार्यक्रममा प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं. ४ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता उनले जनाए ।
आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । जनताको अवस्था बदल्नुपर्ने भएकोले विकास र रोजगार सृजनामा जोड दिने उनले बताए । ‘मोरङ क्षेत्र नं. ४ को विकासको जग बसाउने काम महेश आचार्यले गर्नुभयो । त्यसपछि यहाँको विकासमा अमनलाल मोदीको पनि योगदान उत्तिकै रहेको छ । त्यही भएर फेरि उम्मेदवार बन्नु भएको छ । हामी सबैले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गरि जिताउनुपर्नेछ,’ उनले भने ।
कार्यक्रममा मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताए । आफूले विराटनगर महानगरपालिकाको कुसलतापूर्वक नेतृत्व गरेकोले प्रदेशको विकासमा पनि त्यसरी नै लाग्ने बताए ।
स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथामिकता राखेर काम गर्ने उनले बताए । कटहरीको कृषि बजार लाई व्यविस्थत गर्दै यहाँको विकासमा लागिपर्ने पराजुलीको भनाइ थियो ।
KATI BARSHAMA BIRATNAGAT JHAREKO ?BHOT MAAGNE ADHIKAAR TIMI JATA CONGRESS LAAI CHAINA HEKKA HOS