पर्यटनका २५ प्रतिशत आयोजना मन्त्रीको क्षेत्रमा :सयौं मठमन्दिरलाई टुक्रे बजेट

विराटनगर । सरकारमा रहने मन्त्रीहरुले बजेटको ठूलो हिस्सा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा लैजाने परम्परा कोशी प्रदेशमा चालु आर्थिक वर्षको बजेटमा उत्कर्ष देखिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईले बजेटको ठूलो हिस्सा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा लगेको विषय सांसदहरुले उठाइरहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री राई पूर्वाधार विकासको १० अर्ब बजेटमध्ये १ अर्ब बढि खोटाङमा लगेको बताइएको छ । त्यस्तै बजेटको ठूलो हिस्सा मुख्यमन्त्री कार्कीको जिल्ला झापामा गएको छ ।

आफ्नो क्षेत्रमा बजेट लैजानेमा पर्यटन, बन तथा वातावरण मन्त्री सदानन्द मण्डल पनि अगाडि देखिएका छन् । मन्त्रालय अन्तगर्तको पर्यटन विकास आयोजना मातहत रहेका करिब ५५० आयोजनामध्ये २५ प्रतिशत आयोजना सुनसरी र मन्त्री मण्डलकै क्षेत्रमा छन् ।

पर्यटन विकास आयोजनाले पर्यटनका पूर्वाधारको काम गर्ने गर्दछ । तर, मन्त्री मण्डलले बाटो निर्माणदेखि क्याम्पस तथा क्लबको गेट निर्माण र बजार सौन्दर्यकरणका सयौं योजना आफ्नो क्षेत्रमा हालेका छन् ।

पर्यटन विकास आयोजनाका ५५० आयोजनामध्ये १३० भन्दा धेरै आयोजना सुनसरीमा राखिएको बिनियोजन पुस्तिकामा देखिन्छ । ती आयोजनामध्ये ९० प्रतिशतभन्दा धेरै मन्त्री मण्डको निर्वाचन क्षेत्र सुनसरी ४(१) मा छन् ।

मन्त्री मण्डको निर्वाचन क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको सबै वडामा पर्यटनको बजेट छ । वडामा मात्र नभएर वडाका हरेक टोलमा बजेट राखिएको छ । कतिपय टोलमा त २ वटा शिर्षकमा बजेट छ । मन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने कोशी गाउँपालिकामा मात्रै करिब ५० , इनरुवा नगरपालिकामा २५, बराहक्षेत्रमा २५ र भोक्राहा नरसिंहमा १० भन्दा धेरै योजना छन् ।

मन्दिर निर्माण, थान निर्माण, कब्रस्थान निर्माण, सामुदायिक भवन, छटघाट निर्माण, धर्मशाला निर्माण, मन्दिर घेराबेरा, सडक सौन्दर्यकरण, क्लब भवन निर्माण, पार्क निर्माण जस्ता शिर्षकमा बजेट राखिएको छ । अधिकांश बजेट ५ लाख र १० लाखका छन् । कतिपय १५ लाख र २० लाखका आयोजना छन् । सबैभन्दा ठूलो बजेट मत्स्यगन्धा फनपार्क, कोशीमा ५ करोड र बराहक्षेत्रमा कुम्भमेलाको पूर्वाधार निर्माणमा १ करोड राखिएको छ ।

मन्त्री मण्डलले कोशी गाउँपालिकाको मण्डल टोलको डिहिबार थान निर्माण गर्न १० लाख र सोही टोलमा हनुमानजीको मन्दिर निर्माण गर्न अर्को १० लाख बजेट राखेका छन् । यस्तै कब्रस्थान कम्पाउण्ड गर्न १० लाख र अधुरो शिवपार्वती मन्दिर निर्माणमा १० लाख सोही स्थानमा बजेट छ ।

कोशी १ मा शिवपार्वती मन्दिरलाई ५ लाख, भोला टोलको डिहिबारथान निर्माणमा ५ लाख, लोकेश्वरनाथ शिव मन्दिर लौकहीलाई २० लाख, अकबर सिद्दिगी कब्रस्थानको घेराबारा ५ लाख, कालीमन्दिर बङ्गाली टोललाई २० लाख बजेट राखिएको छ । झडुवा कब्रस्थान कम्पाउन्ड ५ लाख, पश्चिम कुशाहाको डिहिबारथान ५ लाख, कालीमन्दिर निर्माण ११ लाख र कोशी माविमा सरस्वती मन्दिर निर्माण १० लाख बजेट राखिएको छ ।

कोशी ५ मा दारुलहोदा मदरसा बिश्रामालय निर्माणमा ५ लाख, शिवमन्दिर भन्टाबारीमा १५ लाख, बैठार चोकमा सामुदायिक बनको भवन बनाउन १० लाख, कोशी १ मा शिवपार्वती मन्दिर घेराबेरा १० लाख, हरिनगरा १ मा छटघाट निर्माण १० लाख, हरिनगरा ५ मा सत्संग भवन निर्माण ५ लाख, बराह १० मा रामजानकी मन्दिर घेराबेरा १० लाख र हरिनगरा ५ मा अनर्म कब्रिस्तान घेराबेरा १० लाख बजेट राखिएको छ । यस्तै बराह ११ मा हनुमान मन्दिर निर्माण ५ लाख, इनरुवा ४ मा हनुमान मन्दिर निर्माण २५ लाख, हरिनगरा ७ मा भोलानाथ मन्दिर ५ लाख, हरिनगरा मावि पार्क निर्माण ५ लाख, सुनसरी खोलमा घाट निर्माण १० लाख र कोशी १ को लोकेश्वरनाथ मन्दिरमा २० लाख बजेट मन्त्री मण्डलले राखेका छन् ।

मन्त्री मण्डलले कोशी २ को कालिमन्दिर २० लाख, कोशी २ को झडुवा कब्रिस्तान कम्पाउण्ड ५ लाख, भोक्राहा ८ को नुरपुर कब्रिस्तान घेराबेरा १० लाख, बराह ९ को दुर्गा मन्दिर पुनःनिर्माण २० लाख, बराह १० मा जनजाति भवन निर्माण ७ लाख, बराह ६ को शिबालय मन्दिर धर्मशाला निर्माण १० लाख, बराहक्षेत्र ११ को कमलेश्वर शिव मन्दिर घेराबेरा ७ लाख, बराह ११ को भगवति मन्दिर पुर्वाधार निर्माण १० लाख, कोशी ४ को रहुन टोल इदगाह कम्पाउण्ड ५ लाख, कोशी ४ कै खलिफ कब्रिस्तान घेराबारा ५ लाख र कोशी ४ कै राइन टोलको कब्रिस्तानको प्लास्टर ५ लाख रुपैयाँ बजेट राखेका छन् । पर्यटन विकास आयोजना अन्तर्गत नै इनरुवा ९ को राजदेवी रामजी बिहिबार थान निर्माण १० लाख, इनरुवा २ को रामजानकी मन्दिर ट्रष्ट निर्माण ७ लाख, इनरुवा १ को शिव मन्दिरमा २५ लाख, कोशी २ मटुकलाल मुसहर टोलमा दिनाभद्री मन्दिर निर्माण ६ लाख र पुरानो श्रीपुर १ काली मन्दिर निर्माण ५ लाख बजेट राखिएको छ ।

मन्त्रीको क्षेत्रमा पर्ने कोशीटप्पु बन्यजन्त आरक्ष जाने बाटो सौन्दर्यकरणमा २५ लाख, सुनसरी बहुमुखी क्याम्पसको पार्क सौन्दर्यकरण ५ लाख, प्रकाशपुर बजार सौन्दर्यकरणमा २० लाख, भान्टाबारी बजार सौन्दर्यकरण १५ लाख, चक्रघट्टी बजार सौन्दर्यकरणमा २५ लाख, जिल्ला प्रशासन कार्यालय सुनसरी सौन्दयकरणमा १० लाख, इनरुवा अस्पताल सौन्दर्यकरणमा ५ लाख र इनरुवा २ मा सौन्दर्यकरण गर्न १५ लाख बजेट हालिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका २ अकाहमा भगवती मन्दिर ५ लाख, भोक्राहाकै सिंहवाहिनी बनमा पार्क बनाउन १० लाख, सहिद ब्रह्मदेव उराउँ मण्डेला प्रवेशद्वार १० लाख, शैलेश मन्दिर निर्माण १० लाख, राम जानकी मन्दिर ५ लाख, भोक्राहा ४ को उराव र मेहता टोलमा राजाजी थान निर्माणमा ५ लाख बजेट छ । यस्तै इनरुवा ३ महेन्द्र चोकमा क्रियापुत्री भवन निर्माणमा ५ लाख ५० हजार, इनरुवा ६ मा ग्रामथान मर्मत ५ लाख बजेट राखिएको छ ।

मन्त्री मण्डलले पर्यटन विकास आयोजनाको मात्र नभएर बनतर्फको बजेट पनि आफ्नै निर्वाचना क्षेत्रमा खन्याएका छन् । डिभिजन बन कार्यालयमार्फत बराहक्षेत्र ७ मा साकेला पार्क निर्माण गर्न २५ लाख र जलाधार कार्यालयमार्फत इनरुवा ७ मा पार्क निर्माण गर्न २५ लाख बजेट पनि मन्त्रीकै क्षेत्रमा हालिएको छ ।

सुनसरीमा सयौं योजना लगेका मन्त्री मण्डलले सुनसरकै अन्य क्षेत्रमा भने थोरै मात्र आयोजना राखेका छन् । सुनसरी क्षेत्र नं. ३ (२) का एमाले सांसद रामदेव यादवले आफ्नो क्षेत्रमा जम्मा ८ लाख रुपैयाँ मात्रै बजेट रहेको बताए । उनी प्रदेशसभाको उद्योग पर्यटन वन वातावरण समितिका सभापतिसमेत हुन् ।

आइतबार, ०८ असार, २०८२, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर