
जयप्रकाश आनन्द
मधेस प्रदेश सरकारको ‘बेटी बचाऔं, बेटी पढाऔं’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष सहित मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव सहित केही कर्मचारी उपर बिशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
यस बिषयमा अख्तियारले शुरूआति कारवाही थाल्दा मधेस प्रदेशका मुख्यमंत्रीको कार्यालयमा छापा मारेको थियो । त्यो कार्यालय भनेको मुख्यमन्त्रीको अफिस हो । प्रदेश मुख्य सचिवको होइन । यस कार्यालयमा भएका राम्रा नराम्रा सबै कार्यको जिम्मेवारी मुख्यमन्त्रीको हुन्छ । यस कारवाही बारे अख्तियारले ‘प्रारम्भिक छानबिनबाट मुख्यमन्त्री कार्यालयको संलग्नता देखिएकोले छापा मारिएको’ बताएको थियो । अख्तियारको यो वक्तव्य पत्र पत्रिकाहरूको अभिलेखमा सुरक्षित छ । यसपछि उपेन्द्र यादवको पार्टी जसपाले मुख्यमन्त्री अफिसको बचाव गरेको थियो । उपेन्द्रले यही निहूँमा लालबाबु राउतको पखेटा काट्न सोचेका थिए, तर यसबाट जसपा पनि नजोगिने बताइएपछि उनी चुप लागे । यद्यपि जसपाले सामान्य रूपमा बिरोध जनायो ।
उपेन्द्र यादव वर्तमान सत्ता गठबन्धनमा सामेल भएपछि भ्रष्टाचारको सवालमा पूर्व प्रम केपी शर्मा ओलीका बिरूद्ध सर्वाधिक मुखर रहेका हुन् । केही दिन अघि मात्र एक टिभी अन्तर्वार्तामा उपेन्द्रले सबै नेताहरूको कडाईका साथ सम्पत्तिको छानबिन गरिनु पर्ने बताएका कुरा मानिसहरूले बिर्सेका छैनन् । साईकल खरीद काण्डमा उनका मुख्यमन्त्रीको संलग्नता स्पष्ट छ । उपेन्द्रले मुख्यमन्त्रीलाई जोगाए । प्रम देउवाले उपेन्द्रको फरियाद बुझे ।
अहिले मधेस प्रदेशमा जसपाको प्रतिपक्षमा लोसपा रहेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी । जितेन्द्र सोनल प्रतिपक्षका नेता हुन् । तर, यत्रो ठूलो भ्रष्टाचार काण्डमा लोसपा मौन भएको छ । साईकल खरीद गरिदाँ आजका लोसपा पनि प्रदेश सरकारमा थियो । ‘हमाम के भितर सब नंगे होते है’ यस भनाइलाई आत्मसात गर्दै लोसपा मौन भएको छ । लोसपा यसरी प्रतिपक्षी धर्मबाट च्यूत भएको छ । सिके राउतको जनमत पार्टीले विरोध जनाउदै मुख्यमन्त्रीको राजिनामा मागेका छन् । हेर्नुछ, जनमत पार्टीले यस मुद्दालाई कसरी उठाउने हुन् ।
उपेन्द्र यादवमा मन नपरेका मानिसलाई फसाउन सक्ने र मन परेकालाई जोगाउन सक्ने ‘सदाबहार राज्यशक्ति’को गुण प्रवेश गरेको छ । यसले गर्दा ‘पंचायत काल’देखि आज पर्यन्तका सत्ताका दलालहरू, भ्रष्टहरूको आकर्षक अभ्यर्चन स्थल जसपा हो नै । मैले यसो लेख्दा अदालतबाट दोषी ठह¥याइएका भ्रष्टाचारीले यसो भन्न मिल्छ र ? धेरैले भन्लान् । तरपनि, म अन्तरआत्माबाट भन्दछु कि जसपा यस्ताहरूको अभयारण्य हो । उपेन्द्रका एक मुख्य लगानीकर्ता बदनाम ठेकेदार सांसद र स्वयं उपेन्द्रका नपाका हालै निर्वाचित मेयर भ्रष्टाचारको मुद्दाका कारण निलम्बित छन् । यही ठूलो प्रमाण हो ।
उपेन्द्रले मुख्यमन्त्री लालबाबुलाई जोगाएका छन् । तर, सुशासनको सवालमा मधेसी भावनालाई फसाएका छन् । नेपालका सात प्रदेशका सात मुख्यमन्त्री मध्ये एक आफ्नो पार्टीका भएकोमा गर्व गर्न सक्छन् । तर उनले जसपालाई परिवर्तनकारी ठानेर मत दिने मधेसी जनताको शीरलाई लज्जित बनाएका छन् । मधेसका चापलुस नागरिक समाज, मर्यादाहीन नौकरशाह, समान सोच बिरादरीका प्रतिपक्ष, जातीय अभिमानको भ्रममा डुबेका समाज, अकर्मण्य राजनीतिक कार्यकर्ताहरू र मधेसी राजनीतिक नेताहरूको ‘नथ’ (नाकको फुली) फुकाल्न अभ्यस्त एवं अनुभवी संघीय मालिकहरू रहुन्जेल उपेन्द्रले लालबाबुहरूलाई यस्ता कुकृत्यबाट पोषण दिन पाइरहने छन् ।
कहिलेसम्म हो थाहा छैन, तर आशा राखौं एक दिन मधेसी मतदाताहरूले पनि बुझ्ने छन् कि उपेन्द्र यादव ‘स्नानागारमा रेनकोट लगाएर नुहाउन खप्पिस छन् ।’ स्वच्छताको जलाधार रेनकोट बाहिरबाटै चुहिएर जान्छ ।