
स्नेहा खरेल
डीडीटी अर्थात् डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरोइथेन । यो एउटा स्वादविहीन सेतो धूलो हो । यसलाई एकजना अष्ट्रियन वैज्ञानिकले सन् १८७४ मा तयार पारेका थिए । किसान र स्वास्थ्यकर्मीहरुबीच किटनाशक औषधिको रुपमा केही दशक अघिसम्म अत्यन्त लोकप्रिय डीडीटीलाई हाल संसारका अधिकांश देशहरुमा यसको उत्पादन र प्रयोग गर्नमा प्रतिबन्ध लगाइएको छ । भारतको एउटा कारखानावाहेक संसारका कुनै पनि देशमा आधिकारिक रुपमा यसको उत्पादन हुने गरेको छैन । नेपालमा भने भारत तथा अन्य देशका पुरानो स्टकबाट डीडीटी आयात गरी प्रयोग भई नै रहेको पाइएको छ । डीडीटीबाट प्राकृतिक वातावरण तथा मानिसको स्वास्थ्यमा लामो समयपछि पनि प्रतिकुल असरहरु पर्ने देखिएका छन् ।डीडीटीलाई किटनाशक औषधिको रुपमा प्रयोग गर्न सकिने तथ्य सन् १९३९ मा स्वीस वैज्ञानिक ‘पाउल मुलर’ ले पत्ता लगाएका हुन् । उनलाई यसवापत सन् १९४८ को नोवेल पुरस्कार पनि प्रदान गरिएको थियो ।
संयोगवश १९ औ शताब्दीका एक रसायनविज्ञ ओथ्मर जिड्लरले सन् १८७४ मा डाइक्लोरो–डाइफेनिल–ट्रिक्लोरोथिन अथवा डीडीटीको आविष्कार गरेका थिए । तर, उनले यसको लागि व्यावहारिक मूल्य थाहा पाउन सकेनन् । यो सन् १९३९ सम्म थिएन जब स्वीट्जरल्याण्डका पाउल मुल्लरले यसको कीटनाशक तत्वको अवलोकन गरे, यो सन् १९४२ मा जर्मन कम्पनी जे । आर. जेइजीद्वारा आधिकारिक भएको थियो र केही वर्षमै विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने कीटनाशक औषधि बन्न पुग्यो ।
वास्तवमा मानिसहरुलाई अकाल मृत्युबाट जोगाउन, कृषि उत्पादन बढाउन र अन्न भण्डार गर्दा कीराहरुबाट हुने क्षतिलाई जोगाउन संभवत ः डीडीटी को जत्तिको योगदान अन्य कुनै किटनाशक औषधिबाट भएको छैन । यसको उपयोगिताबाट प्रभावित भएर बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले एकपटक यसलाई अचम्मको धूलो भनेका थिए ।
द्वितीय विश्वयुद्धको समयमा किटनाशक औषधिको रुपमा यसको प्रयोग निकै भयो । त्यसपछि यसको प्रयोग मलेरिया फैलाउने लामखुट्टे, तथा अन्य विभिन्न रोगका जीवाणु बाहक कीराहरुलाई मार्न घर वरिपरि, खेतबारी , फलफूल, बगैँचाहरुमा र अन्न भण्डारमा पनि अत्यधिक हुनथाल्यो ।
सन् १९४० देखि सन् १९८० को दशकसम्म यसको प्रयोग संसारका हरेक कुनामा अत्यधिक रुपका भयो । सन् १९७० मा मात्रै विश्वमा यसको उत्पादन १,७५,००० टन पुगेको थियो । डीडीटीका हानिकारक असरहरुबारे सन् १९६२ मै वातावरण लेखिका राचेल कार्सनले उनको चर्चित पुस्तक ‘साइलेन्ट स्प्रिङ्ग’ मा उल्लेख गरेकी थिइन् । तर, डीडीटीको असर मानिसमा तत्काल नदेखिने, धूलोले छालामा असर देखाउने तथा यसबाट वातावरण तथा मानिसको स्वास्थ्यमा पर्ने हानिकारक असरहरुबारे अध्ययरत अनुसन्धान प्रशस्त भै नसकेकाले यसको प्रयोग सन् १९८० को दशकसम्म बढ्दै नै रह्यो ।
आज कुनै एउटा ठाउँमा डीडीटी छरिएको छ भने यसको असर छरेको ठाउँ भन्दा धैरै टाढा र धेरै समय पछिसम्म देखा पर्न सक्छ । डीडीटीको कारणबाट मानिसहरुमा क्यान्सर, रगत तथा नसासम्बन्धी रोग, बच्चा जन्मदा नै अपाग हुने, महिलाहरुमा गर्भपतन हुने तथा मगज, मुगौला र कलेजोमा क्षति पुग्ने गर्दछ ।
डीडीटी लामो समयसम्म वातावरणमा जम्मा भएर रहन सक्छ, यो पानी तथा वोसोमा घुल्छ र मिर्गौला, अण्डकोष, कलेजो तथा अन्य बोसे तन्तुहरुमा जम्मा हुन्छ । यो जीवित वस्तुहरुमा आहार चक्र पानी तथा हावाको माध्यमबाट प्रवेश गर्दछ । यसरी प्रवेश गर्दा यसको मात्रा बढ्दै जान्छ ।
एक परीक्षणबाट थाहा भएअनुसार ०.१ माइक्रोग्राम प्रतिलिटर डीडीटीको मात्राले पानीमा पाइने सुक्ष्म वनस्पतिहरुको प्रकाश संरलेषण क्रिया तथा वनस्पतिक वृद्धि ठप्प गराइदिन सक्छ ।
माछा, भ्यागुता तथा पानीमा पाइने अन्य जीवजन्तुहरुलाई डीडीटी अति नै हानिकारक हुन्छ । यसले ती जन्तुहहको वृद्धि तथा सन्तान उत्पादनमा असर पार्ने तथा भ्रुणलाई क्षति पुग्ने देखिएको छ । डीडीटीले चमेराहरुलाई पनि असर पुग्याउँछ तर मौरी र गड्यौलाहरुलाई भने कम क्षति पुग्ने देखिएको छ । डीडीटी मानिसमा पानी, हावा, एवं चरा, माछा तथा स्तनधारी जन्तुको माध्यमबाट प्रवेश गर्दछ । समग्रमा, जैविक तथा रासायनिक प्रकृयाबाट नटुक्रिने, लामो समयसम्म बातारणमा रहनसक्ने, आहारा, पानी, हावाको माध्यमबाट एकबाट अर्काेमा सर्ने तथा चराचुरुङ्गी, माछा भ्यागुता, घरेलु गाईवस्तु एवं अन्तत मानिसलाई पनि असर पु¥याउने भएकोले डीडीटीलाई अत्यन्त हानिकारक यौगिकको रुपमा लिइएको छ । ‘रिचेल कार्सन’ ले कृत्रिमरुपमा तयार पारिएका यंस्ता किटनाशक औषधीहरुलाई ‘मृत्यु निम्त्याउने’ भनेकी छन् ।
नेपालमा डीडीटीलाई सन् १९५० को दशकमा भित्र्याइएको थियो । तराई, काठमाण्डौ उपत्यका र मध्य पहाडी क्षेत्रका सुगम जिल्लाहरुमा यसको प्रयोग विगतमा निकै भयो । विगतमा गरिएको परीक्षण अनुसार काठमाण्डौ उपत्यकामा दूध । मासु तथा अन्य खाद्य परिकारहरुमा पाइएको डीडीटीको मात्रा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन तथा विश्व स्वास्थ्य संगठनले तोकेको हदभन्दा धेरै माथि रहेको पाइएको छ ।
वास्तवमा सकेसम्म डीडीटी मात्र होइन, कृत्रिम रुपमा तयार पारिएका अन्य किटनाशंक औषधिहरुको प्रयोग गर्नु भन्दा रोग किराहरूलाई जैविक प्रकृयाबाट नियन्त्रण गरिनु वातावरण तथा स्वास्थ्यको दृष्टिले अत्यन्त राम्रो हुन्छ । तसर्थ, नेपालमा तत्काल डीडीटी तथा अन्य हानिकारक किटनाशक औषधिको प्रयोगमा रोकलगाई निम, बकैनो, तीतेपाती, असुरो आदिको रसबाट तयार पारिएका जैविक नियन्त्रणका उपायहरुबारे अध्ययन अनुसन्धानमा प्रोत्साहन दिइनु अति आवश्यक देखिएको छ ।