
गणेश लम्साल
मालवहाक सवारीको ठक्करले मजदुरको मृत्यु । बसले ठक्कर दिँदा राजमार्गमा साइकलमा यात्रा गर्ने व्यक्तिको मृत्यु । सवारी दुर्घटनामा साइकलमा सवार विद्यार्थीको मृत्यु ।यी केही उदाहरण मात्र हुन् । प्रदेश १ मा साइकलमा यात्रा गरेकै कारण ठूला सवारीको दुर्घटनमा परेर ज्यान गुमाउनेहरुको संख्या वर्षेनी बढ्दो छ ।
सुनसरी र मोरङमा पर्ने विराटनगर इटहरी, विराटनगर रंगेली, र विराटनगर विराटचौक क्षेत्रका उद्योगहरुमा काम गर्ने मजदुहरुहरु राजमार्गमा अलग्गै साइकल लेन नहुँदा वषौँ देखि दुर्घटनाको जोखिम झेल्न बाध्य भैरहेका छन् । मजदुर संगठनहरुका अनुसार साइकल लेन नहुँदा वर्षेनी ७ देखि १० जना मजदुरहरुले ज्यान गुमाइरहेका छन् । दुर्घटनामा घाइते र अपाङ्ग हुनेको संख्या पनि बढ्दै गएको छ ।
उद्योग संगठन मोरङकाअनुसार उत्तर दक्षिण कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर, दुहवी हुँदै इटहरीसम्म ३०० बढी उद्योगहरु छन् । पूर्वतर्फ विराटनगर–कटहरी–रंगेली क्षेत्रमा पनि ५० भन्दा बढी उद्योगहरु छन् । यसैगरी उत्तरपूर्वमा पर्ने विराटनगर विराटचौक क्षेत्रमा पनि दुई दर्जनजति उद्योगहरु छन् । यसबाहेक विराटनगर महानगर भित्रपनि सयौं साना ठूला विभिन्न उद्योग र व्यापारिक प्रतिष्ठानहरु छन् ।
यी सबै उद्योगमा र व्यापारिक प्रतिष्ठानहरुमा गाउँगाउँका मजदुरहरु साइकलमा चढेर काम गर्न आउने जाने गर्दछन् । सीमावर्ति भारतीय क्षेत्रहरुबाट पनि सयौं मजदुहरु साइकल चढेरै काम गर्न आउने जाने गरेका छन् । यसबाहेक निजी मजदुरी गरेर जीविका चलाउन पनि सयौँ मजदुहरु साइकलमा यात्रा गरेर सहर बजारका चोकहरुमा पुग्नछन् र साँझ घर फर्किन्छन् । यसबाहेक साइकलमा चढेर आवतजावत गर्ने सर्वसधारणहरु पनि धेरै छन् ।
सँधै यातायातको चाप र जाम हुने कोशी राजमार्ग अन्तरगतको सुनसरी मोरङ, कटहरी रंगेली र विराटनगर विराटचौक औद्योगिक करिडोरमा काम गर्नेदेखि निजी मजदुरी गर्ने पढ्न आउने जाने हजारौँ साइकल यात्री मजदुर, र सर्वसाधारण आवत–जावत गर्छन् । तर , वर्षाैदेखि दुर्घटनाको जोखिम भोगिरहे पनि ति कुनै पनि राजमार्गमा अझै साइकल लेन बनेका छैनन् ।
मजदुर संगठनहरुकाअनुसार सुनसरी मोरङका उद्योगमा २० हजार बढी मजदुर काम गर्छन् । तीमध्ये १० हजार जति राजमार्गमा साइकल कुदाएर काम गर्न जाने आउने गर्दछन् । तर साँधुरो र यातायातको जाम भइरहने राजमार्गमा अलग्गै साइकल लेन नहुँदा उनीहरु सँधै दुर्घटनाको जोखिममा हुने गर्दछन् ।
विराटनगरसँग जोडिएको कोशी राजमार्ग मात्र नभएर कटहरी रंगेली र विराटचौकको मार्गमा सार्वजनिक साना ठूला मात्र नभएर नीजि यातायात पनि उतिनै बाक्लो कुद्ने गर्दछ । बढ्दो जनधनत्वसँगै सवारी साधनको चाप पनि उत्तिकै बढ्दो छ । देशको चौथो ठूलो भन्सार नाका भएकोले मालवहाक ट्रक, कन्टेनरहरु बाक्लो आवतजावत गर्दछन् । जसले गर्दा राजमार्गमा साइकलमा यात्रा गर्ने यात्रीहरु दुर्घटनाको उच्चजोखिममा हुन्छन् । राजमार्गमा साँझबिहान यात्रा गर्ने साइकल यात्रीहरुमा धेरै जना करिडोरका उद्योगमा काम गर्ने मजदुहरु नै हुने गरेका छन् ।
मजदुहरुले मात्र नभएर विद्यार्थी र सर्वसाधारणहरुले साइकलमा यात्रा गरेकै कारण दुर्घटनामा परेर ज्यान गुमाउन बाध्य भैरहेकोले साइकल लेन अति आवश्यक छ भनेर अझै कसैले पनि सवाल बनाउन सकेका छैनन् । प्रहरीले साइकल यात्रीहरुको अलग्गै दुर्घटनाको तथ्यांक राख्ने गरेको छैन । करिडोरमा साइकल लेन सहितको सडक निर्माण गर्ने गराउनेबारे संघ र प्रदेश सरकार पनि गम्भीर देखिएका छैनन् ।यसैले करिडोरमा काम गर्ने मजदुरहरुको सुरक्षाका लागि राजमार्गमा साइकल लेनको अति नै आवश्यकता देखिएको छ । तर पैदल हिड्ने फुटपाथसमेत व्यवस्थित नभएको अवस्थामा अलग्गै साइकल लेन संघ छैन भन्दै वेवास्ता गर्ने गरिएको छ ।
उत्तर दक्षिण व्यपारिक मार्ग विस्तार निर्देशनालय स्थापना गरेर सरकारले कोशी राजमार्ग अन्र्तगतको रानी विराटनगर इटहरी धरान सडक–खण्ड आयोजना कार्यालय मार्फत सडक फराकिलो बनायो । तर, सिक्स लेन (६ लाइन) को सडक स्तरोन्नति गरिने भनेर फोर लेन स्तरोन्नति गरेपनि साइकल लेनको व्यवस्था गरिएको छैन । स्तरोन्नति गरिएका सडक किनारमा पनि बालुवा गिटी र अन्य सामग्री थुपार्ने, ग्यारेज पसल राख्ने, सवारी साधनहरु जथाभावी हुने पार्किङ रोक्न नसक्नाले पनि साइकल यात्रीहरु जोखिमा परिरहेका छन् । व्यस्त सडकमा गुड्ने ठूलो सवारी साधन र अनियन्त्रित गतिकाको जोखिममा सबैभन्दा धेरै साइकल र पैदलयात्रीहरु पर्दै आएका छन् ।
उल्लेखित रुटहरुमा मात्र होइन महानगरभित्रका सडकहरुमा पनि साइकल लेनको अभाव छ । महानगरका सडकहरुमा फुटपाथ पनि क्लियर छैनन् । अलग्गै साइकल लेन र फुटपाथ नहुँदा साइकलमा यात्रा गर्ने विद्यार्थी, मजदुर, र सर्वसाधारण सबैतिर जोखिममा छन् र उनीहरुले दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।
साइकलमा यात्रा गर्न रमाउने वतावरणप्रेमी र शौखिनहरुले पनि साइकल लेन अभाव महशुस गरिरहेका छन् । इन्धनको प्रयोग घट्ने, प्रदुषण घट्ने भएकोले साइकल कुदाउन प्रोत्साहन गरिदैं आएको छ । ईन्धनको खपत घटाउन, स्वच्छ वातावरणका लागि र प्रदुषण घटाउनका लागि साइकल चलाउन प्रोत्साहन गरिदै आएको छ । तर साइकलयात्रीको सुरक्षाको चिन्ता कसैले गरेको पाइदैन । साइकलयात्रीलाई हेयको दृष्टिले हेर्ने गरिएको छ ।
के साइकल चलाउनु पाप वा अपराध हो ? के साइकल चलाउनेलाई सुरक्षित यात्रा गर्ने हक छैन ? यदि छ भने अलग्गै साइकल लेन नभए पनि सडकलाई सुरक्षित रेखाङ्कन गरी साइकल लेनको अभ्यास गर्न किन बेवास्ता गरिदैछ ?