
पुण्य पी अधिकारी
गोखरकाली टायर उद्योग, जनकपुर चुरोट कारखाना, रोपवे सेवा, हेटौँडा कपडा उद्योग, चाइनिज इट्टा फ्याक्ट्री, ट्रली बस सेवा, भृकुटी कागज कारखाना, बाँसबारी जुत्ता कारखाना, हिमाल सिमेण्ट फ्याक्ट्री, विराटनगर जुट मिल यि लगायत अरू धेरै उद्योग एक समयमा नेपाली उद्योगका पहिचान थिए । २०४६ सालको परिर्वतनपछि यि नेपाली पहिचान भएका र नेपाली माटो सुहाउँदो वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरू सरकारका मन्त्री र कर्मचारीको मनमौजीले क्रमश जीर्ण हुँदै गए । अधिकांश उद्योग कमिसनको चक्करमा बन्द भए । भएका उद्योगको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन भन्दा ति उद्योगहरूको अस्तित्व नामेट पार्नका लागि नीतिगत भ्रष्टाचार सरकारले गर्यो । अन्त्यमा नेपालका महत्वपूर्ण उद्योगहरू बन्द भए । बहुदलीय व्यवस्थापछि अरू खाले संरचनामा परिर्वतन आएपनि सरकार चलाउनेहरूले सीमित फाइदाका लागि राष्ट्रिय लगानीका उद्योगहरूलाई तारो बनाए । जसको दुर्दशा अहिले आम नेपालीले भोग्नु परेको छ । परनिर्भरताका कारण नेपाली रुपैयाँ डलर साट्दैमा ठिक्क छ । अर्थतन्त्र कमजोर भएका कारण मूल्यवृद्धिको मार खेप्नु परेको छ । राष्ट्रपतिले साउन १० गते सार्वजनिक गरेको एउटा विवरण अनुसार वार्षिक १७ खर्बको बजेटमा १७ खर्ब नै व्यापार घाटा छ । यसको मतलव देशमा उत्पादन हुने वस्तु तथा सेवा नगण्य छन् । आयात मात्र छ । देशमा ठूला उद्योगधन्दा नभएका कारण कर र विप्रेषणले मात्र मुलुक चलिरहेको छ ।
गोरखकाली टायर उद्योग बन्द हुनुअघि यसको विश्वसनियता एकदमै थियो । वार्षिक करोडौँ रुपैयाँको नेपाली टायर जापान निर्यात हुने गरेको थियो । विश्वमा मजबूत गाडी बनाउने कम्पनीका रूपमा ख्याति कमाएको टोयटालगायतले नेपालको गोरखकाली टायर प्रयोग गर्ने गरेका थिए । अहिले अवस्था फेरिएको छ । राज्यकै कारण गोरखकाली टायर उद्योग इतिहास भएको छ । शाही नेपाल वायु सेवा निगमले नेपालमा हवाई यातायातको सुरूआत गर्दा थाइ एयर र कतार एयरवेजले शाही नेपाल वायु सेवा निगमसँग जहाज भाडामा लिएर सेवा सुरूआत गरेका थिए । आज थाइ एयरले विश्वमा नै सुविधायुक्त हवाई सेवा सञ्चालन गरीरहेको छ भने कतार एयरवेजले विश्वभर ५ सय ओटा भन्दा बढी बोइङ्गले सेवा दिइरहेको छ । नेपाल वायु सेवा निगम खर्च धान्न नसक्ने भएर वार्षिक रूपमा अर्बौँ रुपैया दिएर सरकारले सञ्चालन गरीरहेको छ । नेपाली उद्योग सबै धरासयी हुनुका पछाडि नीगिगत भ्रष्टाचार र दण्डहीनता नै मुख्य कारण रहेको छ ।
साउन १० गते प्रदेश १ को राजधानी विराटनगर आएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र वडुले विराटनगर जुटमिलको भग्नावशेषको अवलोकन पश्चात जुट मिल पुन सञ्चालन गर्ने बताए । मन्त्रीको भनाइ विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएपछि कतिपयले मन्त्रीको भनाइ पत्याउने कि नपत्याउने भन्दैछन् । कतिपयले जुटमिल सञ्चालन होइन, बरू सङ्ग्राहलय बनाए उपयुक्त हुने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । राज्यकै नीतिगत दोहनका कारण बन्द भएको देशकै ज्येष्ठ उद्योग सञ्चालन गर्न असम्भव त नहोला । तर राज्यले ति कुरालाई महत्व दिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्व मन्त्री प्रेम आलेले बिना अध्ययन सुनसरीको अमडुवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भाषण गरे । मन्त्रीको सो भाषण धेरैले पत्याएनन् । सस्तो लोकप्रियताका लागि जे मन लाग्छ त्यही भन्ने संस्कार पुन उद्योग मन्त्री वडुले दोहो¥याएका छन् ।
बन्द भएका उद्योगलाई सञ्चालन गर्नु राज्यको प्रमुख दायित्व नै हो । तर, क्षणिक फाइदा र क्षणिक आनन्दका लागि देशमा स्थापित कलकारखाना र उद्योगधन्दा बन्द गर्ने काम राज्यले गरीरहेको छ । विराटनगर जुटमिलले उत्पादन गर्ने वस्तु तथा सेवा एक समय भारतसहित तेस्रो मुलुकमा अत्यधिक निर्यात हुने गरेको थियो । अहिले बङ्गलादेशबाट नेपालले वार्षिक अबौँ रुपैयामा जुटका तयारी सामान आयात गरीरहेको छ ।
विराटनगर जुटमिल सञ्चालन गर्ने उद्योगमन्त्री वडुको सोच स्वागत योग्य छ । तर उद्योग सञ्चालन हुने नहुने राम्रो अध्ययन नगरी मन्त्रीजस्ता जिम्मेवार व्यक्तिले हुचुवाका भरमा बोल्दा जनताले पत्याउने कि नपत्याउने दोधार सिर्जना भएको छ ।