भारतबाट विराटनगर आउँदा पीसीआर रिपोर्ट अनिवार्य

विराटनगर । भारतमा तीब्रगतिले फैलिरहेको कोरोना संक्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले भारतबाट नेपाल प्रवेश गर्नेहरुले कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र र ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।

पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले जोखिमकै कारण उपभोग्य वस्तुको किनमेलका लागि भारतीय बजार जोगवनी जाने प्रवृत्ति नियन्त्रण गर्ने निर्णय पनि गरेको छ ।

स्वास्थ्य सुरक्षालाई कडाई गरेपनि बैठकले तत्काल कुनैपनि प्रकारको बन्दाबन्दी वा निषेधाज्ञा गर्ने विषयमा भने छलफल गरेको छैन । संक्रमण रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै भारतबाट हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सीमा क्षेत्रमा परीक्षणलाई तीब बनाउने, एण्टिजेन परीक्षणबाट पोजिटिभ देखिएमा पिसिआर परीक्षण गर्न पठाउने र रिपोर्ट पोजिटिभ आएको खण्डमा अवस्था हेरी आइसोलेसन वा अस्पताल पठाउने प्रवन्ध मिलाउने निर्णय गरेको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई होल्डिङ सेन्टरमा होल्ड गरिराख्ने र संक्रमित पहिचान भएमा विराटनगरका विभिन्न स्थानलाई आइसोलेनका लागि तयारी अवस्थामा राख्न विराटनगर महानगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले विराटनगरको जैन भवन, अतिथि सदन, मारवाडी सेवा सदन, काली मन्दिर, आर.आर.एन.विराटनगरको भवनलाई आइसोलेसन स्थलको रुपमा प्रयोग गर्न महानगरलाई आग्रह गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपनि तत्काल स्वास्थ्य सुरक्षा र सर्तकताका बिषयमा आम नागरिकलाई सचेत गराउने तर्फ बढी जोड दिएको मोरङका सहायक प्रजिअ महेशराज तिम्सिनाले बताए ।

बैठकले अत्यावश्यक काम बाहेक सीमा वारपार नगर्न, स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्ने, अनिवार्य मास्क प्रयोग नगरे १०० रुपैयाँ जरिवाना गराउने, स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्न, र अवस्था हेरेर माघ १ गतेपछि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार, २८ पुष, २०७८, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर