विराटगनर । वर्षभरि मेहनत गरि लगाएको अन्नबाली पछिल्लो समय निलगाईको चरण क्षेत्र बन्दै गएपछि स्थानीय कृषक चिन्तित बनेका छन् ।
निलगाईका कारण बालीनाली नष्ट हुन थालेपछि सुनसरीको दक्षिणी गाउँपालिका देवानगञ्जका कृषकहरु चिन्तित बनेका हुन् । दर्जन बढीको समुहमा जङ्गलबाट गाउँ प्रवेश गरेका निलगाईको हुलले मानवीय क्षति नगरेपनि स्थानीय कृषकको बालीनाली भने खाइदिने गरेको उनीहरुले बताएका छन् ।
विगत २ वर्षयता देवानगञ्जको सो क्षेत्रमा निलगाई देखिन थालेको स्थानीयको भनाइ छ । ‘दिनभरि स्थानीयको खेतमा चर्ने निलगाई मानिसलाई देखेपछि तर्किएर भाग्छ,’ स्थानीय रञ्जित पासवानले भने, ‘तर अन्नबाली खाएर नोक्सान गर्छ ।’
बिषेशगरि उखु र मकैखेती हुने देवानगञ्ज–५ स्थित साहेबगञ्ज क्षेत्र यतिबेला निलगाईको मुख्य आश्रयस्थल बनेको छ । स्थानीयको जानकारी अनुसार साहेबगञ्जको सो क्षेत्रमा १५ वटा भन्दा बढी निलगाईले आश्रय लिएका छन् । प्रायःजसो रातको समयमा निस्कने निलगाईको समुहले स्थानियको बालीनालीमा क्षति पु¥याउने गरेको देवानगञ्ज–५ का महानन्द मेहता बताउँछन् ।
देवानगञ्जमा आश्रित निलगाई सो समुह गाउँपालिकाको उत्तरतर्फ रहेको कोशी टप्पु बन्यजन्तु आरक्षबाट भागेर आएको हुनसक्ने स्थानीयको अनुमान छ । जङ्गलक्षेत्र अतिक्रमण भएर मानव बस्तीको विकास, जलवायु परिवर्तन र जनावरहरुलाई आहारको अभाव लगायतका कारणले निलगाईहरु अनुकुल बासस्थानको खोजीमा गाउँ प्रवेश गरेको हुनसक्ने सुनसरीको भुटाहास्थित हरिनगरा सब डिभिजन वन कार्यालयको आशङ्का छ । निलगाई नेपाल सरकारको संरक्षण सुचीमा नभएपनि जङ्गली जनावर भएकाले यसको संरक्षणको सवालमा कोशी टप्पु वन्यजन्तु आरक्षसँगको सहकार्यमा ठोस कदम चाल्ने तयारी भईरहेको भुटाहास्थित कार्यालयका सहायक वन अधिकृत राजेन्द्र प्रसाद यादवले बताए ।
निलगाई भने नेपाल लगायतका एसियाली राष्ट्रहरूमा पाइने ठुलो प्रजातिको मृग हो । यसलाई ‘घोडगधा’ वा ‘लिलीगाई’ को नामले पनि चिनिन्छ । यसको गाईजस्तै कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौं, घाँटीमा लामा रौंका गुच्छा तथा बराँठको जस्तो रङ्ग हुन्छ ।