नेकपा प्रदेश १ को अध्यक्षमा बस्नेत, कार्की र राईद्वय सह–इन्चार्ज

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा अध्यक्ष र सह–इन्चार्ज टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले अध्यक्ष र सहईञ्चार्ज तोकेको हो ।

बैठकले अध्यक्षमा घनेन्द्र बस्नेतलाई तोकेको छ । बस्नेत यसअघि मोरङ इञ्चार्ज हुनुहुन्थ्यो । प्रदेश अध्यक्ष देवराज घिमिरे ओली पक्षमा लागेपछि बस्नेतलाई जिम्मेवारी दिइएको हो ।

बैठकले सुरेन्द्र (राम) कार्की, राजेन्द्र राई र जयन्ती राईलाई सहईञ्चार्ज बनाउने निर्णय पनि गरेको छ । प्रदेश कमिटिका इञ्चार्ज भीम आचार्य, सह–इञ्चार्ज सावित्रिकुमार काफ्ले र नरेश खरेल तथा सचिब सुरेशकुमार राई प्रचण्ड–नेपाल पक्षमै छन् । ओली पक्षमा प्रदेशका पदाधिकारीमध्ये सह–इञ्चार्ज रहनुभएका मुख्यमन्त्री शेरधन राई र अध्यक्ष घिमिरे मात्र लागेका छन् ।

बैठकले आगामी १६ गते देशव्यापी शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ ।बैठकले केपी ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी शक्ति प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार, ०२ माघ, २०७७, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर