काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरूको खण्डन गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले उक्त हल्लालाई भ्रमपूर्ण र निराधार भनेको छ ।
‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ,’सचिवालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
सचिवालयले कुनै पनि मन्त्रीलाई नियुक्त गर्ने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने र यस्तो निर्णय कसैको दबाब वा प्रभावमा हुन नसक्ने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा गृहमन्त्री अर्यालको कार्यसम्पादनको प्रशंसा गरिएको छ । ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सचिवालयले यस्तो संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र त्यस्ता हल्लाहरूमा विश्वास नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।


