अविरल वर्षाले देशका मुख्य राजमार्गहरू अवरुद्ध

विराटनगर । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध भएको छ । विशेषगरी कोशी र बागमती प्रदेशका सडक सञ्जालमा पहिरो र बाढीका कारण ठूला अवरोधहरू देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका अनुसार, निरन्तरको वर्षाले भोटखोला गाउँपालिका–४, बरुणखोला क्षेत्रमा पहिरो खस्दा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग बुधबार साँझ ७ बजेदेखि नै बन्द रहेको र हालसम्म मर्मत कार्य सुरु हुन नसकेको जनाइएको छ । वर्षा नरोकिएकाले पहिरो हटाउने काममा चुनौती थपिएको छ ।

यसैगरी, इलाममा चक्रवात ‘मोन्था’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै मेची राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा अस्थायी रूपमा रोक लगाइएको छ । सम्भावित दुर्घटनाबाट बच्न र नागरिकको सुरक्षाका लागि अर्को सूचना जारी नभएसम्मका लागि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ का विभिन्न स्थानमा (माम्तीखोला, डालाबेसी, बुल्ढुङ्गा) पहिरो खसेका कारण बीपी राजमार्ग एकतर्फी मात्र सुचारु छ । स्थानीय प्रशासनका अनुसार, सडकमा खसेको माटो र ढुंगाको थुप्रो हटाउने काम भइरहेको छ । यद्यपि, राजमार्ग पूर्ण रूपमा सुचारु हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

उता, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुलमा पूर्ण क्षति पुर्‍याएको छ । पुल अवरुद्ध भएसँगै सीमा नाकाबाट हुने मालसामान ढुवानी र सर्वसाधारणको आवागमन पूर्णरूपमा रोकिएको छ ।

कार्तिक १३, २०८२, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर