विराटनगर । मोरङको लेटाङ–२, बुधबारेस्थित गौतम परिवारको आँगनमा अहिले खुसी होइन, शोकको भारी बिसाइएको छ । जहाँ केही समयअघिसम्म १३ वर्षीया अंशु गौतमको चञ्चल पाइला र निर्दोष हाँसो गुञ्जिन्थ्यो, त्यहाँ आज पीडा र आँसुको मौन चित्कार मात्रै छ । ‘हाम्रो त हाँसो नै हरायो, आँखाबाट आँसु कहिल्यै ओभाएन,’ हजुरबुबा श्रीविलास गौतम भक्कानिँदै भन्छन् । यो परिवारको पीडा शब्दमा वर्णन गर्न सकिनेभन्दा कैयौँ गुणा गहिरो छ ।

नातिनीको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा गौतम परिवार हरेक पल न्यायको आगोमा जलिरहेको छ । वि.सं. २०३४ सालमा ताप्लेजुङबाट मोरङ झरेदेखि नै सङ्घर्षको भुमरीमा पिल्सिएको यो परिवारलाई चिस्याङ खोलाले सुकुम्वासी बनायो । तर, जीवनभरका सबै दुःख एकातर्फ र नातिनी गुमाउनुको पीडा अर्कोतर्फ, श्रीविलासका लागि यो बज्रपात असह्य बनेको छ ।

घर नजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने हँसिली अंशु असोज २१ गते दिउँसो खेल्न जान्छु भनेर घरबाट निस्किएकी थिइन् । हजुरबुबा श्रीविलास त्यो अन्तिम क्षण सम्झँदै भन्छन्, ‘म जान्छु है बुबा’ भनेकी थिई । मैले नजा, यताउता नहिँड् भनेको थिएँ, तर एकैछिनमा गइहाली । त्यो नै उनको परिवारसँगको अन्तिम संवाद बन्यो ।

साँझसम्म अंशु नफर्केपछि परिवारको मनमा चिसो पस्यो । रात बित्यो, दिनहरू बिते, तर अंशुको कुनै खबर आएन । उनको पर्खाइमा परिवारले निद्रा र भोक सबै बिर्सियो ।

हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा अंशुको शव क्षतविक्षत अवस्थामा फेला पर्‍यो । त्यो दर्दनाक दृश्य सम्झँदा हजुरबुबाको मुटु आज पनि काँप्छ ।‘कसैले फोन गरेर लास छ भन्यो, म दौडेर गएँ,’उनी भन्छन्,‘एउटा चप्पल एकातिर, अर्को अलि पर थियो । नातिनीको चप्पल देख्नेबित्तिकै उसकी आमा बेहोस भइन् । शरीरका अंगहरू छुट्टिएका थिए, टाउको कुहिएको थियो । त्यो दृश्य देखेपछि म पनि बेहोस जस्तै भएँ ।

अहिले अंशुका बुबा नवीन र आमा विना अर्धचेत अवस्थामा छन् । छोरीको हत्याको पीडाले उनीहरूलाई विक्षिप्त बनाएको छ । हजुरआमा दिनभर घरको बरण्डामा बसेर नातिनी पढ्ने स्कुलतर्फ हेरेर टोलाइरहन्छिन् । घरमा कोही नयाँ मान्छे पुग्नेबित्तिकै उनी सोध्छिन्, केही खबर आयो कि ?

गौतम परिवारले एउटै मात्र माग राखेको छ– न्याय । हत्यारा पक्राउ नपरेसम्म र उसलाई कानूनी कठघरामा नउभ्याएसम्म अंशुको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनीहरूको अडान छ । अंशुको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

मोरङ प्रहरीले घटनाको अनुसन्धान साँघुरिँदै गएको र छिट्टै अपराधीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)र प्रदेश प्रहरीका विशेष टोली पनि खटिएका छन् ।

तर, प्रहरीको आश्वासनले मात्र गौतम परिवारको मनमा लागेको घाउमा मलम लाग्न सकेको छैन । हजुरबुबा श्रीविलास भन्छन्, ‘अपराधी पत्ता लागेपछि केही सन्तोष हुन्थ्यो कि ! जे हुनु भइगयो, अब कराएर, रोएर मेरी नातिनी फर्केर आउँदिन । तर, यस्तो गर्नेलाई कडाभन्दा कडा सजाय हुनैपर्छ ।’

अंशुको आत्माले शान्ति र उनको हत्याराले सजाय नपाएसम्म, गौतम परिवारको यो आँगनमा खुसी फर्किने छैन । उनीहरूको आँखामा आँसु मात्र होइन, आक्रोश र न्यायको भोक पनि छ, जुन राज्यले पूरा गर्नुपर्छ ।