विराटनगर । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले देशका सबै माओवादी धारासहितका वामपन्थी कम्युनिष्टहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै एकताका लागि आह्वान गरेका हुन्। प्रचण्डले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौतीहरू समाधान गर्न वामपन्थी एकता अपरिहार्य रहेको बताएका छन्।
आफ्नो सन्देशमा अहिले देशमा विभिन्न जटिलताहरू देखा परेको प्रचण्डले उल्लेख गरेका छन्। जनअपेक्षा पूरा गर्न र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि ऐतिहासिक जिम्मेवारी आइपरेको प्रचण्डको भनाइ छ। देशले भोगिरहेका समस्या र संकटहरूको समाधान केवल अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहेको उनले प्रष्ट पारेका हुन्।
प्रचण्डले देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण हुनुपर्नेमा जोड दिएका छन्। साथै, लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य पनि अपरिहार्य बनेको उनले बताए। उनको अपिलको मुख्य जोड राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवाद निर्माणको आधार तयार पार्नुमा रहेको देखिन्छ। यसका लागि माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो भन्ने उनको ठहर छ।
यस सत्यलाई आत्मसात् गर्दै, प्रचण्डले देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन आग्रह गरेका छन्। उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गरेका छन्।
एकताका लागि निरन्तर प्रयास
प्रचण्डको यो आह्वान पछिल्लो समय माओवादी केन्द्रले विभिन्न वामपन्थी शक्तिहरूसँग गरिरहेको एकता प्रयासको निरन्तरताको रूपमा आएको छ। माओवादी केन्द्रले नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग एकताका लागि छलफल चलाउँदै आएको छ। ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताका लागि माओवादी केन्द्रले पटकपटक वार्ता गरेको छ। यद्यपि, केही सैद्धान्तिक र सांगठनिक विषयमा अझै सहमति हुन बाँकी छ।
यस्तै, नेकपा एकीकृत समाजवादीसँग पनि माओवादी केन्द्रको एकताका लागि संवाद चलिरहेको छ। यी छलफलहरूले वामपन्थी शक्तिहरूबीच एकताको वातावरण बनाउन मद्दत पुर्याएका छन्। प्रचण्डको यो अपिलले छरिएर रहेका वामपन्थी शक्तिहरूलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा थप प्रभावकारी भूमिका खेल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


