‘खेताला स्वकीय’ : मन्त्री पदकै अपमान !

 सम्पादकीय

खेताला शिक्षक र हेल्मेट शिक्षकको कथा केहि समय पहिले खुबै चर्चामा थियो । आफ्नो जागिर भएको स्थानमा अर्कैलाई पढाउने जिम्मा दिएर शिक्षकहरु राजनीतिमा लागेको घटना केहि वर्षअघि धेरै देखिन्थ्यो । अहिले त्यो कम भएको छ । तर, अहिले भने मन्त्रीले नै ‘खेताला कर्मचारी’ राखेको विषय बाहिर आएको छ । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्वकीय सचिवमा नियुक्त गरेका सन्तोष मेहता मन्त्रालयमा अनुपस्थित छन् । उनको साटो दाजु अमृत मेहताले सचिवालयमा नियमित उपस्थिति जनाएर काम गरिरहेका छन् । स्वकीय सचिवको रूपमा काम गरिरहेकै बेला, उहाँलाई मन्त्रालयका कर्मचारीहरू सन्तोष भनेर चिन्ने, भ्रमण भत्ता बुझ्ने, मन्त्रीसँगै कार्यक्रममा उपस्थित हुने, तर आफ्नो वास्तविक नाम र हैसियत नखुलाउने कार्य गम्भीर अनियमितताको स्पष्ट प्रमाण हो । यस घटनाले नेपालको प्रदेश सरकार तथा प्रशासनमा चलिरहेको अपारदर्शिता, लापरबाही र शक्ति दुरुपयोगको कुरूप यथार्थ उजागर गरेको छ । स्वकीय सचिवजस्तो संवेदनशील जिम्मेवारीमा नियुक्त व्यक्तिको स्थानमा अर्कैले काम गर्नु, सरकारी सेवा प्रक्रियाको अपमान हो । कार्यक्षेत्रमा परिचय लुकाएर गर्ने काम केवल त्रुटि होइन, कानूनी रूपमा समेत आपत्तिजनक र दण्डनीय कार्य हो ।

मन्त्री मण्डलले अमृतलाई ‘सहयोगी’ भनेर सहजै पन्छिन खोजे पनि, सचिवालयमा अमृतको स्थायी उपस्थिति, फोन सम्पर्कमा उनीकै नम्बर, भ्रमण भत्ता उनीकै नाममा बुझिने कार्यहरूले प्रमाणित गर्छ कि उनी ‘अनौपचारिक सचिव’ भन्दा धेरै, प्रभावशाली भूमिकामा छन् । यस्तो अभ्यासले न केवल गणतान्त्रिक प्रणालीको मर्यादा खण्डित गर्छ, बरु सरकारी संयन्त्रमा देखिएको भ्रष्टाचार, शक्ति दुरुपयोग र नियमनहीनतालाई थप स्पष्ट पार्छ । मन्त्रीबाटै यस्तो अपारदर्शी र गैरकानुनी व्यवहार हुनु भनेको सार्वजनिक संस्थामाथि नागरिकको विश्वासलाई चोट पु¥याउनु हो । लोकतान्त्रिक प्रणालीमा नियुक्ति, पदपूर्ति, र कार्य सम्पादनका सबै प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्छ । नियुक्त व्यक्तिको स्थानमा अरूलाई काममा लगाउने कार्य केवल प्रशासनिक लापरवाही मात्र होइन, नैतिक र कानूनी दुवै हिसाबले आपत्तिजनक विषय हो ।

यो घटनाले प्रदेश सरकारभित्र अझै पनि आफन्तवाद, दलाली, र शक्ति केन्द्रित संरचनाको बलियो पकड देखाउँछ । मन्त्रालयका कर्मचारीहरूले समेत ‘कागजी प्रक्रिया मात्रै हेर्छौं, व्यक्तिको पहिचान चासो होइन’ भन्ने जवाफ दिइरहँदा, हाम्रो प्रशासनिक ढाँचा कति कमजोर छ भन्ने बुझ्न गाह्रो छैन । सरकारी संस्थाहरूमा कागजात, पहिचान, उपस्थिति र कार्य विभाजनमा यति गम्भीर त्रुटि हुनु भनेको संस्थागत ढिलासुस्ती र गैरजिम्मेवारीपनको खतरनाक संकेत हो । सवाल व्यक्तिको होइन, प्रणालीको हो । मन्त्री मण्डलले यदि अमृतलाई सहयोगी राख्न चाहेका थिए भने विधिसम्मत रूपमा नियुक्ति प्रक्रिया अगाडि बढाउनु पथ्र्यो । तर सचिवको जिम्मेवारीमा अर्कै व्यक्ति कार्यरत हुनु भनेको सरकारभित्रको गम्भीर शिथिलता हो । यो घटनाको यथाशीघ्र छानबिन हुनु जरूरी छ र दोषीहरूलाई कारबाही गरिनुपर्छ ।

जनताले निर्वाचित सरकारसँग पारदर्शिता, जवाफदेहिता र सुशासनको अपेक्षा राखेका हुन्छन् । यस्तो प्रकारको ‘खेताला सचिव’ संस्कृति कहिल्यै सह्य हुन सक्दैन । अब मन्त्रालयभित्रको पद्दतिमा सुधार ल्याउन, स्पष्टता कायम गर्न, र सरकारप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न निर्णायक कदम चाल्नु आवश्यक छ । किनभने लोकतन्त्र नाममा यस्तो लाजमर्दो अभ्यास चलिरहने हो भने, त्यो केवल व्यवस्थाको उपहास बन्न पुग्नेछ ।

मङ्गलबार, १४ जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर