छिमेकी मुलुकको द्वन्दले उब्जाएको आशंका

 विमल लामिछाने

पछिल्लो समय भारत र पकिस्तानको चिसिएको सम्बन्धले नेपाललाई पनि प्रत्यक्ष असर पुग्नसक्ने आँकलन हुँदै आएको छ । सामाजिक सञ्जालहरुमा आउने यस्ता विषयहरुले कहिलेकाही ठूलो रुप लिनपनि सक्छन् । तर आम नेपालीको चाहना छिमेकी मुलुकहरुसँगको सम्बन्ध खल्बलिन दिनु हुँदैन भन्ने नै हो ।

यहाँ पछिल्लो समय भारत र पाकिस्तानविचको चिसिएको सम्बन्धबारे अध्यायन गर्नुकासाथै छिमेकी मुलुकको सम्बन्धबारे चर्चा गर्न खोजिएको छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन । सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव र हानाहानको स्थिति सिर्जना गर्यो ।

दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास माथि नै प्रश्न उठेको छ । यो स्वभाविक पनि हो । यसले सार्कको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।
तर, हाम्रो चाहना छिमेकी मुलुक मिल्नुपर्छ भन्ने नै हो । छिमेकी राष्ट्रहरूले अन्तर्निभरताको सिद्धान्तलाई व्यवहारमा उतार्नुको अर्थ परनिर्भरतामा सीमित नरही, पारस्परिक सहयोग सद्भाव आदानप्रदान तथा असल छिमेक सम्बन्ध अनुरूप आत्मनिर्भरतातर्फ उन्मुख रहनु हो ।

आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई व्यवहारमा उतार्नुको अर्थ राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता, अविभाज्यता र सार्वभौमिकताको रक्षा गर्दै त्यसभित्र आ–आफ्नो हक, अधिकार र राष्ट्रिय पहिचान सुरक्षित राख्नु हो । शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सामाजिक–सांस्कृतिक सिद्धान्तबाट नेपाल र भारतको सम्बन्धमा ‘रोटी र बेटीको अवधारणा’ आएको पाइन्छ तर यो अवधारणा एकअर्काको सामाजिक–सांस्कृतिक अस्तित्वविरुद्ध विचलन ल्याउन प्रयोगमा आएको होइन ।
प्राचीन एसियाली सभ्यताको ऐतिहासिक जगबाट उठेको नेपाल अन्तर्राष्ट्रिय समुदायको एउटा महत्वपूर्ण अङ्ग हो । नेपालले आफ्ना दुई सँधियार र सबै राष्ट्रसँग असंलग्न, समदूरी, समसामीप्य र पञ्चशील सिद्धान्त लगायतका आधारमा स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्दै आएको छ ।

छिमेकी मुलुकको सम्बन्धभित्र नेपाली सीमासँग जोडिएका खुल्ला सीमाक्षेत्रहरुले पनि महत्व राखेका छन् । ताप्लेजुङको झिन्साङचुली, इलामको पशुपतिनगर, झापाको मेचीनगर,महेशपुर–कचनाकवल, मोरङको रानी भन्सार, विरगञ्जको भन्सार नाका, नवलपरासीको सुस्ता, हुम्लाको हिल्सा, दार्चुलाको व्यास गाउँपालिका, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी–चाँदनीभित्रका नाकाहरुमध्ये कतिपय सीमावर्ती नाकाहरु नेपाल र भारतका नागरिकको ओहोर दोहोर गर्ने बजारिया बाटाभएका नाका हुन् । यी नाकाहरुले छोएका बजारमा दैनिक लाग्ने हाटहरुमा नेपाली र भारतीय नागरिकहरुको ब्यापारिक सहकार्यले चाहेर पनि सम्बन्ध टुट्न नसक्ने अवस्थामा पुर्याएको सहज अनुभूति हुन्छ ।

यहाँ प्रश्न सहअस्तित्वको मात्र नभएर आत्मनिर्भरता र परनिर्भरताको पनि हो । परनिर्भरताले दीर्घकालीनरूपमा गरिबी निवारण गर्न सक्दैन । जबसम्म आत्मनिर्भरताका लागि अपनत्व ग्रहण गर्ने खालको राष्ट्रिय विधि, प्रविधि, शिक्षा पद्धतिलाई इमानदारपूर्वक स्वदेशी माटोमा उत्पादन गरी ज्ञान, सेवा र वस्तु वितरण, हस्तान्तरण गर्न सकिँदैन तबसम्म ठूलो संख्यामा स्वावलम्बी देशभक्त तयार गर्न अझै दशकौं लाग्न सक्छ । राष्ट्रहरू साना वा ठूला हुन सक्छन् तर, सबैको सार्वभौम शक्ति बराबर हुनुपर्छ भन्ने सैद्धान्तिक मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय समुदायमाझ परस्परमा ‘रोटी बेटी सम्बन्ध’ स्थापित हुँदै आएको छ ।
चीन–नेपाल–भारत त्रिदेशीय परम्परागत सम्बन्धमा आ–आफ्नो सार्वभौमसत्तालाई बलियो बनाउने उपायका रूपमा वैवाहिक कूटनीतिक सम्बन्धमा जोड दिने गरेको पाइन्थ्यो । जस्तैः भृकुटी र भोटका राजा स्रङचङगम्पोको वैवाहिक सम्बन्ध, भोगादेवी र भारतका राजा शूरसेनको वैवाहिक सम्बन्ध आदि । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध सौहार्दपूर्ण रहेजस्तै नेपाल र चीनबीच पनि रोटी बेटीको सम्बन्ध सौहार्दपूर्ण रहिआएको इतिहास पाइन्छ । तर, भारतको चिनसँगको सम्बन्ध सम्बन्ध दूर हँुदै जानुमा सहअस्तित्वको लडाइँ हो भन्न सकिन्छ ।

दुवै देशसँगको हाम्रो सम्बन्धमा नेपाली सीमावर्ती स्थानीयवासीका स्वास्थ्य, शिक्षा, खाद्य, सुरक्षा, रोजगार हुन् । अपितु, सीमावर्ती मित्रराष्ट्रका स्थानीयवासीको आँखा अगाडि उभिँदा समृद्ध, सुखी, स्वाभिमान नेपाली भएर शिर उच्च राख्नसक्ने बनाउन अझै धेरै काम गर्न बाँकी छ । नेपाल समृद्ध हुँदा नै सँधियार मित्रराष्ट्रको साख उँचो हुन्छ । यसका निम्ति राज्य अझै चनाखो बन्नुपर्ने देखिन्छ । यसलाई थप स्थापित र सुमधुर बनाउनु राज्यको दायित्व हो ।

सोमबार, २९ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर