अवैध उत्खनन्मा अख्तियारको छानविन

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं. २ र ४ मा पर्ने लामाखोला नजिकको बरपानी गाउँमा नम्वरी भनेर उत्खनन गरिएको जग्गा नक्कली भएको पाइएको छ । नम्वरी जग्गाबाट उत्खनन गरी बिक्री गरिएको ढुंगा, गिट्टी, बालुवा र माटोको जग्गा नक्कली र आइइएकातिर उत्खनन अर्कोतिर भएको पाइएको हो ।

अवैध भनेर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विस्तृत रूपमा छानविन थालेपछि नम्करी भएको जग्गा झुटो र आइइ (प्रारम्भिक वातावरणीय मूल्याकन) प्रतिवेदनसमेत गलत भएको पाइएको हो ।

चौदण्डीगढी नगरपालिकाका मेयरको मिलेमत्तोमा अवैध उत्खनन भएको भन्दै चौदण्डीगढी नगरपालिका–७ का वडा अध्यक्ष केशव अधिकारीले अख्तियारमा उजुरी दिएका थिए । त्यसपछि गएको शुक्रबार अदुअआको इटहरी कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको थियो ।

अख्तियारको टोलीले नम्बरी भनिएको जग्गा नक्कली भएको पत्ता लगाएको उजुरी दर्ता गर्ने वडा अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘लामाखोला बरपानी गाउँको सात घरको जग्गा देखाइएको छ । त्यो जग्गा सबै कागजमा देखिएपनि उत्खनन गरिएको स्थानमा देखिएको भेटिएन ।’

अख्तियारबाट चार जनाको टोलीले अवैध उत्खनन क्षेत्रको विस्तृत रूपमा छानविनको लागि अनुसन्धान अघि बढाएको छ । नगरपालिकाले उत्खनन गर्न दिएको सात घरको जग्गामध्ये बेदबहादुर मगर, दिलबहादुर मगर, लालबहादुर कामीको जग्गा नम्वरी भएको र आइइ पनि गरेको देखिएको छ । तर, उत्खनन खोलाको बाँध र वन क्षेत्रमा गरिएको भेटिएको अधिकारीलेब बताए ।

नम्वरी भनिएको जग्गा छविलाल राई, मैनाकला राई, गोबिन्दबहादुर विष्ट, सरस्वती विष्टको जग्गा नभेटिएको उनको भनाइ छ । माडीबास खोला नजिक रहेको धनीको नाम नखुलेको १० कठ्ठा जग्गामा आइइ गरिएको तर, वन र खोला क्षेत्रमा गएर उत्खनन गरिएको पाइएको उनले बताए ।

अख्तियार स्रोतले पनि नम्वरी भनिएको जग्गा फेक रहेको तथा आइइ एकातिर र उत्खनन अर्कोतिर भएको पाइएको बताएका छन् । ‘अहिले हामी उत्खननको नापजाँचमा छौं । विस्तृतमा भन्न मिल्दैन’ स्रोतले भन्यो, ‘चौदण्डीगढी नगरपालिकाकै वडा नं. ५, ६ र ७ वडाको करमेज खोला, द्वार खोला क्षेत्रमा उत्खनन गरिएको क्षेत्रको उजुरीमाथि पनि अध्ययन भइरहेको छ ।’

अवैध उत्खननको विरुद्ध संघर्ष समितिको संयोजक बरपानी गाउँका स्थानीय पुष्पराज सुवेदीले अख्तियारसँगै नापी कार्यालयका प्रतिनिधि, वन कार्यालयका प्रतिनिधि तथा सरोकारवालासहितको टोलीले जग्गा एकिन गरेको बताएका छन् । नगरपालिकाले गएको वैशाख ७ गते स्थानीय सांग्लो छोयलिङ्ग कन्स्ट्रक्सन प्रालिलाई उत्खननको लागि ठेक्का दिएको थियो ।

नगरपालिकामा मेयर कालुमान लामाको नातामा पर्ने निरज घिसिङ तामाङ सञ्चालन रहेको सांग्लो छोयलिङ्ग कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । चौदण्डीगढी नगरपालिका–२ का पूर्व वडा अध्यक्ष सन्तोष सुवेदीले अवैध उत्खनन मात्र नभएर करोडौं राजस्व छली भएको आरोप लगाएका छन् ।

उत्खननले जमिन, मानव बस्ती, कुलो लगायतका सार्वजनिक संरचनामा असर पुगेको स्थानीयको भनाइ छ । गएको वैशाख ७ गतेबाट उत्खनन सुरु गरिएको थियो । त्यसपछि विवाद भएपछि जिल्ला समन्वय समितिको अनुगमन समितिले रोकेको थियो । अनुगमन समितिले पनि अवैध उत्खनन भएको पुष्टि गरेको थियो ।

एसियन हाइवे निर्माण गरिरहेको एक चाइनिज कम्पनीलाई एक लाख घनमिटर दिने मौखिक सम्झौता भएको र त्यही अनुसार १० हजार घनमिटर अहिले उत्खनन भएको नगरपालिकाको भनाइ छ ।

बुधबार, ०१ जेठ, २०८२, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर