ओली शैलीको विरोधको अर्थ

 सम्पादकीय

नेपालको प्रमुख राजनीतिक दलहरूमध्ये एक नेकपा एमालेलाई पछिल्लो समयमा आन्तरिक लोकतन्त्र नभएको दलको रुपमा चित्रित गर्ने गरिन्छ । खासगरि एमाले विभाजन भएपछि पार्टीभित्र अध्यक्ष केपी ओलीको एकलौटी चलिरहेको छ । यतिसम्म कि उनको आलोचना गर्नेहरुलाई पार्टीमा टिक्न समस्या छन् । भीम रावल पार्टीबाट निष्काशनमा परिसकेका छन् भने विन्दा पाण्डे, उषाकिरण तिम्सिना र विमल कार्कीहरु निलम्बनमा छन् । यद्यपी ओलीको यो शैलीले एमालेभित्र असन्तुष्टि भने भुसको आगोजस्तै फैलाएको देखिन्छ । जसले गर्दा पार्टीभित्र आन्तरिक असन्तोष र प्रतिस्पर्धा बढ्दै गएको छ । विशेषतः कोशी प्रदेश र प्रदेशका जिल्लाहरुमा भएको एमालेको अधिवेशन र नेतृत्व चयन प्रक्रियाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई गम्भीर चुनौती दिएको छ ।

ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि अधिकांश जिल्लामा निर्वाचनबाट नेतृत्व चयन हुनु र कतिपय स्थानमा संस्थापन पक्षकै उम्मेदवार पराजित हुनु, एमालेभित्रको शक्ति सन्तुलनमा परिवर्तनको संकेत हुनसक्छ ।झापामा मात्र सर्वसम्मत नेतृत्व चयन हुन सकेको भएपनि अन्य १३ जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु ओलीको एकल पकड कमजोर हुँदै गएको देखाउने संकेत हो । झापामा प्रेम गिरीलाई अध्यक्ष र शिव ढुंगेललाई उपाध्यक्ष बनाएर सहमति जुटाइएको थियो । तर, अन्यत्र भने यो सम्भव भएन । निर्वाचनका क्रममा ताप्लेजुङ, इलाम, सुनसरी, भोजपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु लगायतका जिल्लाहरूमा ओलीनिकट उम्मेदवारहरूले विजय हासिल गरेपनि मोरङ, तेह्रथुम, उदयपुर, धनकुटा लगायतका जिल्लाहरूमा उनीहरूको अपेक्षा विपरीत नतिजा आयो । धनकुटामा ओलीको समर्थन पाएका भनिएका र शेरधन राईले अगाडि सारेका उम्मेदवार पराजित हुनु विशेष महत्वको विषय हो । प्रदेश इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईबीचको प्रतिस्पर्धाले पार्टीभित्रको गहिरिँदो ध्रुवीकरण देखाएको छ । मोरङमा संस्थापन पक्षलाई सशक्त चुनौती दिँदै इतर पक्षले विजय हासिल गर्नु ओली नेतृत्वको लागि ठूलो राजनीतिक सन्देश हो ।

एमाले कोशी प्रदेश अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । ओली पक्षधर घनश्याम खतिवडा विजयी भए पनि उनलाई चुनौती दिने विनोद ढकालले उल्लेखनीय मत ल्याएका थिए । ढकाल पराजित भएपनि असन्तुष्ट पक्षले जिल्ला अधिवेशनहरूमा आफ्नो प्रभाव देखाएको छ । मोरङमा संस्थापन पक्ष पराजित हुनु, ओलीको प्रभाव क्षेत्रमै असन्तोष बढ्दै गएको स्पष्ट संकेत हो । एमालेभित्रको आन्तरिक असहमति र प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिन्छ । तर, यदि यी असन्तुष्टिहरू गहिरिएर पार्टीभित्र गुटबन्दी बलियो हुँदै गयो भने त्यसले एमालेको एकतामा ठूलो असर पार्नसक्छ । अध्यक्ष ओलीले बलपूर्वक सर्वसम्मत नेतृत्व निर्माण गर्ने प्रयास गरे तापनि वास्तविकता फरक देखिएको छ । संस्थापन पक्षलाई चुनौती दिँदै आएका नेताहरूले पार्टीभित्र स्थान बनाउन थालेका छन्, जसले भावी नेतृत्व परिवर्तनको संकेत गर्न सक्छ । सो पक्षले पार्टीमा विद्या भण्डारीलाई ल्याउन चाहेको चर्चा हुने गरेको छ । एमालेले आफ्नो आन्तरिक असन्तोषलाई व्यवस्थापन गर्न सक्दैन भने यसको प्रभाव राष्ट्रिय राजनीतिमा पनि पर्नेछ ।

बुधबार, ०५ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर