माओवादीमा ६४ फर्काउने चुनौतीपूर्ण बहस

विराटनगर । पहिलो संविधानसभा (२०६४ चैत २८ गते) निर्वाचनलाई लक्षित गर्दै तत्कालीन नेकपा (माओवादी)ले चैत २२ गते झापाको विर्तामोडमा आमसभाको आयोजना ग¥यो । त्यो आमसभा अप्रत्याशित र ऐतिहासिक रहेको माओवादीहरु बताउँछन् । दिउँसो एक बजे अध्यक्ष प्रचण्डलगायत नेताहरुले उक्त आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु बिर्तामोडमा तीन बजेपछि मात्रै पुगे । आमसभामा आएका मानिसहरू बिर्तामोड शहरभरि थिए । त्यो देखेपछि नेताहरुले कानेखुसी गरे, ‘ढिलो आएको कारण रिसाएर मानिसहरु फर्किए कि के हो ? ।’ तर, त्यस्तो नभएर सभास्थलमा पनि मानिसहरुको भीडभाड उस्तै धेरै थियो । अर्थात् विर्तामोड बजारभरी मानिस नै मानिस थिए । पूरै विर्तामोड बजार नै सभास्थल जस्तो बन्यो ।

त्यो सभालाई अहिले पनि माओवादीहरुले बिर्सन सक्दैनन् । त्यसैलाई आधार मान्दै प्रचण्डले अहिले आएर पनि भन्ने गर्छन्, ‘त्यसबेला झापाले हाम्रो जितको संकेत गरेको थियो । अहिले पनि झापाले जितको संकेत गरेको छ ।’ जितको संकेत गरेको विर्तामोडको सभापछि भएको २०६४ चैत २८ गतेको निर्वाचनमा माओवादीले झापामा ७ सिटमध्ये ५ वटामा जित्यो । एमालेका वरिष्ठ नेता केपी शर्मा ओली एक जना मामुली माओवादी कार्यकर्तासँगको प्रतिस्पर्धामा हारे । तत्कालीन गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि हार्नपुगे । मोरङमा पनि ९ वटा निर्वाचन क्षेत्रमा माओवादीले ४ वटा जित्यो । मोरङ २ बाट एमाले नेता भरतमोहन अधिकारी पराजित बने । उदयपुर, खोटाङ, सोलुखुम्बु, भोजपुर, संखुवासभा, धनकुटामा पनि माओवादीले सानदार विजय हासिल ग¥यो ।

तर, अहिले माओवादीले झापामा एउटा वडामा पनि जित निकाल्न सकेन । सुनसरीमा एउटा वडामा मात्रै जित्न सक्यो । मोरङमा बल्लतल्ल १ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको माओवादीले स्थानीय तहमा कुनै पनि प्रमुख वा अध्यक्ष जित्न सकेन । किन ? माओवादी अहिले यही प्रश्नको उत्तरसहित पूर्वी नेपाल र त्यसमा पनि झापा, मोरङ र सुनसरीमा केन्द्रीत भएको छ ।
माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा प्रस्तुत संक्षिप्त राजनीतिक प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकमा व्याख्या गर्दै भनेका छन्, ‘जनसंख्याको ठूलो केन्द्रीकरण रहेको उपत्यका, मधेश लगायतका ठूला सहर एवं उत्पादक शक्तिको सापेक्षरुपले विकास भएको पूर्वी नेपालमा संगठन र संघर्षको विकास गर्न विशेष जोड दिन आवश्यक छ ।’ जसका लागि माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान र २०८२ वैशाखमा मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा आधारित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान चलाउने निर्णय गरेर अहिले तराई–मधेशमा अभियान चलाइरहेको छ । सो अभियानमा झापा, मोरङ र सुनसरीबाट करिब ५ हजार मानिस अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको सो पार्टीको दाबी छ ।

निर्वाचनमा माओवादी

२०६४ सालमा नेकपा माओवादीले प्रत्यक्ष चुनावतर्फ २४० सिटमध्ये १२० सिट जितेको थियो । समानुपातिक मत परिणाममा माओवादीले लगभग ३१ प्रतिशत ल्याएको थियो । तर, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ जम्मा २५ सिटमात्रै जित्न सक्यो । समानुपातिक मत परिणाममा पनि माओवादीले १७ प्रतिशत हाराहारी मात्रै मत ल्यायो । त्यसपछिको २०७४ र २०७९ सालको निर्वाचनमा पनि माओवादीको ओरालो यात्रा जारी रह्यो । एमालेसँगको सहकार्यमा २०७४ मा प्रत्यक्षतर्फ ३२ सिट जितेको माओवादी २०७९ सालको निर्वाचनमा कांग्रेससँगको सहकार्यमा जम्मा १८ सिट जित्यो । समानुपातिक तर्फ पनि माओवादीको मत निरन्तर घट्दै गयो । २०६४ सालमा झण्डै ३१ प्रतिशत मत ल्याएको माओवादी २०७९ सालको निर्वाचनमा १२ प्रतिशतमा सीमित भयो ।

पूर्व नेपालमा त माओवादीको अवस्था झनै खराब भयो । २०६४ सालमा पहिलो दल बनेको माओवादी ७९ सालमा आइपुग्दा समानुपातिक मतको हिसावले चौथो नम्बरमा छ । २०७४ सालको निर्वाचनमा खसेको जम्मा सदर मत १७ लाख ३६ हजार ६२२ मा माओवादीले तेस्रो लोकप्रिय २ लाख ६ हजार ७८१ मत ल्याएको थियो । तर, २०७९ सालको निर्वाचनमा खसेको जम्मा सदर मत १८ लाख ९९ हजार १४४ मा माओवादीले प्रदेशसभातर्फको समानुपातिकमा चौथो हुँदै १ लाख ८१ हजार २४५ मत ल्यायो । जबकी अघिल्लो निर्वाचनमा ५७ हजार ३४२ मत ल्याएर पाँचौं बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी २०७९ सालको निर्वाचनमा १ लाख ९८ हजार ५११ मत ल्याउँदै तेस्रो बन्यो ।

उपनिर्वाचनले ब्यूँझिएको माओवादी

निरन्तर मत परिणाममा ओरालो यात्रा गरिरहेको माओवादीका लागि भने २०८१ मंसिर १५ गते सम्पन्न उपनिर्वाचनले भने प्राण दियो । ४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले प्रस्तुत भयो । एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झण्डा फहरायो । कोशी प्रदेशमा पनि १ पदमा अध्यक्ष र ७ वडाध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई र एक जना स्वतन्त्रले वडाध्यक्ष जिते ।

२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो । लोकप्रिय मतमा पनि माओवादी पहिलो देखियो । उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भयो । जसअनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले काङ्ग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा कांग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा कांग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ । यही परिणामलाई लिएर माओवादीले आगामी ८४ को निर्वाचनलाई ६४ मा जस्तै विजय हुने प्रचार गरिरहेको छ । माओवादीले त्यतिमात्रै भनेको छैन । समाजवादी क्रान्तिको आधार क्षेत्र पूर्वी नेपाल बन्ने व्याख्या गरिरहेको छ ।

माओवादीले कोशी प्रदेश र त्यसमा पनि झापा, मोरङ र सुनसरीलाई नै केन्द्रीत गर्नुको कारण अर्को पनि छ । यी तीन जिल्ला नेपालमै बढी जनसंख्या हुने पाँच जिल्लाको सूचीमा छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सबैभन्दा बढी काठमाडौंमा २० लाख १७ हजार ५३२ जनसंख्या छ । काठमाडौँपछि बढी जनसंख्या भएको दोस्रो जिल्ला मोरङमा ११ लाख ४७ हजार १८६ छ । तेस्रो ठूलो जिल्ला रुपन्देहीमा ११ लाख १८ हजार ९७५ जनसंख्या छ । त्यसपछि झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना छ । पाँचौं नम्बरमा रहेको सुनसरीको जनसंख्या ९ लाख ३४ हजार ४६१ रहेको छ । यसरी हेर्दा झापा, मोरङ र सुनसरीमा ३० लाख ७५ हजार ७३७ जनसंख्या छ ।

के भन्छन् माओवादी नेताहरु ?

माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो तीन जिल्लाबाट ५ हजारबढी मानिस आफ्नो पार्टीमा आएको दाबी गर्छन् । ‘साना साना धेरै कार्यक्रहरु भएका छन् । हामीले ५ हजार मानिसलाई प्रवेश गराउने लक्ष्य राखेका थियौं । त्यो करिब करिब पूरा भएको छ । त्यसमध्ये अन्य पार्टीमा रहेका पुराना माओवादीहरुलाई फर्काउने लक्ष्य पनि धेरै पूरा भएको छ,’ उनले भने, ‘अहिले सबै समीक्षा गर्न बाँकी छ । झापा र सुनसरीमा केही समस्या देखियो । मोरङको हकमा एउटा उचाइमा अगाडि बढ्यौं जस्तो लाग्छ । अहिलेको अभियानले आधार बनाएको छ । त्यसलाई व्यवस्थित ढंगले समीक्षा गरेर अगाडि बढ्दा धेरै राम्रो हुने देखिन्छ ।’

माओवादी झापा संयोजक राजु आचार्य (अग्नि) पनि अभियानले कार्यकर्तामा उर्जा भरेको बताउँछन् । ‘झापाको अभियान ऐतिहासिक सफल भयो । झापाका कार्यकर्ता नेताहरु प्रचण्डसँगै नाचे, हाँसे । अभियान सशक्त भयो । एउटा जागरण आएको छ । सबै जनताहरु उद्धेलित भए । सबै जनाले प्रचण्ड पुग्दा घरघरबाट फुलमाला लिएर स्वागत गरेका छन्,’ उनले भने, ‘आगामी राजनीतिका लागि हामीलाई धेरै सहज भएको छ ।’

माओेवादी मोरङका संयोजक विजय विश्वास थारुले अभियान मोरङमा धेरै राम्रो भएको दाबी गरे । ‘विभिन्न पार्टीहरूबाट ३ हजार जति प्रवेश भयो । सभाहरुमा उपस्थिति पनि ठूलो भयो । कर्सिया, रतुवामाई र कानेपोखरीका सभाहरु निक्कै राम्रो भयो । जनताहरु आकर्षित देखिए । यसले ६४ सालको भन्दा राम्रो अवस्था हुने देखाउँछ । यसलाई कायमै राख्नुपर्ने हाम्रो चुनौती हो,’ उनले भने ।

उता, सुनसरीका माओवादी नेता सन्तोष चौधरी (विश्व) ले मधेशी र थारु समुदायमा जागरण पैदा भएको दाबी गरे । ‘अभियान पनि हामीले मधेशी र थारुहरु लक्षित नै गरेका थियौं । दक्षिणी भेगमा रहेको बर्जु ताल अवलोकन भयो । देवानगञ्ज, गढीमा मुस्लिम समुदायसँग भएको छलफल उपलब्धीमूलक रहयो,’ उनले भने, ‘यो अभियानले पार्टी निर्माणमा धेरै ठूलो महत्व राखेको छ । किनभने अहिले प्रचण्डप्रति जनताको आकर्षण र उत्साह देखियो ।’

बुधबार, २१ फागुन, २०८१, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर