जनतामा फर्किएको माओवादी अभियान

 सम्पादकीय

नेकपा माओवादी केन्द्रले जनतासँग सम्बन्ध विस्तार गर्ने भन्दै ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गरेको छ । झापाबाट सुरु भएको अभियान मोरङ आइपुगेको छ । तराई मधेशका २२ जिल्लामा सञ्चार भई सुदुपश्चिमको कञ्चनपुरमा पुगेर समापन हुने अभियान नागरिकलाई जागरुक बनाउने, आफ्ना कमजोरी सच्याउने र जनताको समस्या अनुभूत गर्ने अभियान रहेको माओवादीले जनाएको छ । पछिल्लो समयमा राजनीतिक दल र राजनीतिप्रति नै नागरिक तहमा बढिरहेको असन्तुष्टिबीच माओवादीले अभियान सञ्चालन गरेको छ । झापाबाट सुरु भएको यो अभियानमा नागरिकको व्यापक सहभागिता, प्रचण्डसँग अन्तरक्रिया गर्न देखिएको चासो, नागरिक तहबाट आएको ज्ञापनपत्रहरूजस्ता विषयले माओवादीप्रति जनताको सकारात्मक भाव पैदा गरेको देखिन्छ ।

माओवादी नेतृत्वको पछिल्लो सरकारले सुशासन, जनजीविका सुधार, भ्रष्टाचार नियन्त्रण तथा नागरिकका मुद्दाहरू सम्बोधन गर्न चालेका कदमहरू सकारात्मक मानिएका छन् । काँग्रेस र एमालेको अहिलेको सरकारभन्दा प्रचण्ड नेतृत्वको सरकार नागरिक स्तरमा धेरै सफल र सकारात्मक रहेको अनुभूति भएको देखिन्छ । यही प्रभाव अभियानमा पनि झल्किएको छ । माओवादीको यो अभियान केवल औपचारिकता मात्र नभई जनतासँगको अन्तरसंवादको अवसरका रूपमा अगाडि बढिरहेको देखिन्छ । नागरिकका गुनासा सुन्ने, उनीहरूको वास्तविक समस्या बुझ्ने र तिनको समाधानका लागि प्रयास गर्ने यो अभियानले पार्टीलाई पुनः जनस्तरमा स्थापित गर्ने आधार तयार गरिरहेको छ । माओवादीले विगतमा सशस्त्र आन्दोलनमार्फत राज्य व्यवस्थामा ठूलो परिवर्तन ल्याएको थियो । तर, सत्ता प्राप्तिपछिको चरणमा केही कमजोरीहरू देखिए, जसका कारण पार्टीको जनआधार खस्किएको थियो । अहिलेको अभियान भने जनतासँगको टुटेको सम्बन्ध पुनःस्थापित गर्न, नयाँ जोशसहित जनताबीच फर्किन र २०६४ को जनसमर्थन फर्काउन केन्द्रित देखिन्छ ।

यो अभियानले पार्टीलाई सशक्त बनाउने विश्वास माओवादी नेताहरूले लिएका छन् । स्थानीय समुदायसँगको अन्तरक्रियामा प्रचण्डले उत्पीडित समुदाय, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न विशेष जोड दिएका छन् । आदिवासी जनजाति समुदायसँगको संवाद, स्थानीय संस्कृतिप्रतिको सम्मान, पुराना कम्युनिष्ट अभियन्ताहरूको सम्मान, सहिद परिवारसँगको भेटघाट तथा समाजवादी क्रान्तिको आधार तयार गर्ने प्रतिबद्धताले अभियानलाई थप प्रभावकारी बनाएको छ । यो अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको पार्टी एकतालाई मजबुत बनाउनु हो । पछिल्लो समय माओवादीभित्र देखिएको आन्तरिक असन्तुष्टि र गुटबन्दीबारे विभिन्न अड्कलबाजी भइरहेका बेला अभियानले एकताको सन्देश प्रवाह गरेको छ । प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुनसँगको आत्मीयता देखाउनु, नेताहरूबीच सामूहिक सहकार्य देखिनु, मर्निङ वाकमा सामूहिक सहभागिता जस्ता घटनाले माओवादी पुनः एकताबद्ध रहेको सन्देश दिएको छ । नागरिकबीच नेताहरु दिनभर अन्तरक्रियामा रहने, नागरिकबीचमा चिया, खाजा र खाना खाने, नागरिककै बिचमा बास बस्ने कार्यले नेतृत्वलाई जनतासँग नजिक बनाएको छ ।

माओवादीले अबको चरणमा कसरी जनमनोविज्ञानलाई संगठित गर्न सक्छ भन्नेमा उसको भविश्य निर्भर रहनेछ । अभियानबाट उठेका नागरिकका मागहरूलाई सम्बोधन गर्दै आफ्नो कार्यनीतिमा थप सुधार गर्न सकेमा मात्र जनसमर्थन बलियो हुनसक्छ । यदि अभियान केवल प्रचारको भरमा सीमित रह्यो भने लामो समयसम्म प्रभाव कायम गर्न गाह्रो हुनेछ । निष्कर्षमा, माओवादीको यो अभियान केवल जागरण मात्र नभई पार्टी पुनःस्थापनाको अवसर पनि हो । सुशासन, जनअपेक्षाको सम्बोधन, भ्रष्टाचार नियन्त्रण तथा समाजवादी आधार निर्माणको स्पष्ट खाका बनाएर अघि बढेमा मात्र माओवादी आफ्नो पुरानो उचाइमा फर्किन सक्नेछ ।

बुधबार, १४ फागुन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर