विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्ना १ सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । मन्त्रालयमै बिहीबार पत्रकार सम्मेलन गरी उनले आफूले गरेका नीतिगत कामसम्बन्धी १३ बुँदा सार्वजनिक गरेका हुन् ।
उनले आफू मन्त्री भएपछि सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिरहेको बताए । उनले सार्वजनिक गरेको पहिलो नम्बरमा सहकारीमा बचतकर्ताहरुको बचत रकमलाई व्यवस्थित गर्न र सहकारीको नियमन गर्न सहज बनाउन सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोगसम्बन्धी कार्यविधि ल्याएको बताए । जसअनुसार उक्त सफ्टवेयरमा १७ वटा कम्पनी सूचिकृत भएको र सूचिकृत कम्पनीहरुमार्फत १ हजार ३ सय सहकारीमा प्रयोग सुरु गरिएको उनले बताएका छन् ।
यस्तै उनले सहकारी संस्थालाई संकटग्रस्त सहकारी घोषणा गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्न विद्यमान प्रदेश सहकारी ऐनमा संशोधन गरी अध्यादेश ल्याएर सहकारीको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरिएको, प्रदेशबाट खोरेत मुक्त गर्न खोरेत रोग नियन्त्रण आयोजना संचालन सम्बन्धी कार्यवधि स्वीकृत गरी कार्यान्वयन गरेको र इलाम जिल्लाको १० वटै स्थानीय तहहरुलाई खोरेत मुक्त बनाउन जोनिङ सहित खोप कार्यक्रम संचालन गरिएको, प्रदेश कृषि व्यवसाय प्रबद्र्धन अनुदान (दोस्रो संशोधन) नियमावल्ीलाई संशोधन गरी कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि मस्यौदा स्वीकृत गरेको, प्रदेशमै बिउ बिजन उत्पादन, परीक्षण, प्रशोधन तथा विक्री वितरण सम्बन्धी कार्यलाई नियमन गरी गुणस्तरीय बिउको उत्पादनका लागि प्रदेश बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रीपरिषदबाट स्वीकृत गरिएको उल्लेख छ ।
यस्तै प्रदेशमा जिवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण विक्री वितरण प्रयोग बिसर्जन जस्ता कार्यलाई व्यवस्थित गर्न प्रदेश जिवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रीपरिषदबाट स्वीकृत गरेको, प्रदेश औद्योगिक व्यवसाय (पहिलो संशोधन) विधेयक राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको उल्लेख छ ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति कार्यक्रम संचालन मार्गदर्शन २०८१ जारी गरेको, वृद्धिमुखी उद्यमशीलता तथा रोजगार प्रबद्र्धन कार्यक्रम कार्यविधि २०८१ को मस्यौदा तयार गरी सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको, स्टार्टअपलाई ब्याज अनुदान सहयोग उपलब्ध गराउने कार्यविधि मस्र्यादा तयार गरी स्वीकृतिको क्रममा रहेको पनि उनले बताए ।
यसैगरी स्थानीय कच्चा पदार्थ, साधन सिप प्रयोग गरी उत्पादित भएका वस्तु तथा सेवाको गुणस्तर र विश्वसनियता कायम राखी निर्यात प्रबद्र्धन तथा बजारीकरण गर्न प्रदेशका १० जिल्लामा लेवलिङ तथा प्याकेजिङ तालिम संचालन गर्ने क्रममा रहेको र दुई जिल्लामा सम्पन्न गरेको, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट पशु स्वास्थ्यमा सुधारको लागि १ लाखभन्दा बढी विभिन्न रोगविरुद्ध खोप कार्यक्रम संचालन गरिएको र पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत प्रदेशका ४ जिल्लाका १३ वटा स्थानीय तहका कृषकहरुका फलफूल बगैंचा स्थापनाका लागि आवदश माग गरी ती पालिकामा सामाजिक परिचालक र कृषक सहजकर्ताको समेत व्यवस्था गरेको मन्त्री हाङ्गामले जानकारी दिए ।