विराटनगर । प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शनका लागि गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको छ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शनको तयारी गरेको थियो ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको तयारी गरिरहेकै बेला प्रहरीले हस्तक्षेप गरेको छ ।
१२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका एक दर्जन भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो । रास्वपाका नेता गणेश पराजुलीले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएकाले प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको बताए ।
प्रहरीले अहिले निषेधित क्षेत्रमा प्रवेश नगर्न र गरेको खण्डमा पक्राउ गर्ने चेतावनीसहित माइकिङ गरिरहेको छ। यस्तै रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेको उनले जानकारी दिएका छन् ।
९रास्वपा०ले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएको छ ।
आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडपसमेत भइरहेको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको जनाएको छ ।