सत्तारुढ दलको सातबुँदे वक्तव्य : एकता कि डरको सन्देश

सत्तारुढ दलहरुले अहिले नै आफ्नो सरकार सडकबाटै फालिनसक्ने आँकलन कसरी गरे ? के अहिलेको परिस्थिति उनीहरुको प्रतिकूल भइसकेको हो ?

काठमाडौं । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । वक्तव्यमा सरकारको प्रतिरक्षा गरिएको छ भने सडकबाट सरकार ढाल्ने कुरालाई अस्वीकार गरिएको छ ।

तर, सत्तारुढ दलहरुले अहिले नै आफ्नो सरकार सडकबाटै फालिनसक्ने आँकलन कसरी गरे ? के अहिलेको परिस्थिति उनीहरुको प्रतिकूल भइसकेको हो ? यो प्रश्न अनुत्तरित छ ।

संयुक्त बक्तव्यको अन्तिम बुँदामा सरकारको स्थायित्वबारे उल्लेख गरिएको छ । ‘अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन्’, वक्तव्यमा भनिएको छ, ‘त्यसमाथि सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’
तर, अहिले सरकारलाई सडकबाट हटाउने विषयमा कसैले बोलेको छैन । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा सो पार्टीले केही विरोधका कार्यक्रमहरु गरिरहेको छ । यस्तै माओवादी केन्द्रले काठमाडौंमा जनसभा गर्दैछ । प्रतिपक्षमै रहेको राप्रपा नेपालले पनि विभिन्न स्थानमा सभा तथा जुलुसहरु गर्दै आएको छ । सो पार्टीले चाडबाड सकिएलगत्तै आन्दोलनमा जाने बताएको छ । तर, कुनै पनि आन्दोलनरत पक्षले सडकबाटै सरकार फाल्छु भनेका छैनन् ।

प्रमुख सत्ता साझेदार दल कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको निर्थक हल्ला चलेकाले बक्तव्य मार्फत् प्रष्टोक्ति दिनु परेको बताउँछन् । ‘यो सरकार बदलिन्छ, आज बदलिन्छ भोलि बदलिन्छ भन्ने खालका कुराहरु छन्, त्यसका पछाडि कुनै तर्क अर्थ केही पनि छैन, त्यो निर्थक र भ्रमपूर्ण कुरा हो’, गृहमन्त्री लेखकले बैठकपछि संचारकर्मीलाई भने, ‘अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिरहेको छ, त्यो (सरकार फेरिने) भ्रममा नपर्न आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

शनिबार, १० कार्तिक, २०८१, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर