गिरीबन्धु टिस्टेटको जग्गा काण्डमा २ अर्बकोे चलखेल : कन्दङ्वा

त्यो सम्पत्ति गिरीबन्धु टि–स्टेटलाई खान दियो भने अरु ९ हजार बिघाभन्दा धेरै जग्गा जसले पनि खाँदा हुन्छ ।

२०२९ सालदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका झापाका लोकबन्धु कन्दङ्वाले ३५, ३६ सालदेखि सक्रिय राजनीति सुरु गरे । त्यसक्रममा उनी एमाले निकट विद्यार्थी संगठन अखिलको प्रारम्भिक कमिटीदेखि केन्द्रीय सदस्यसम्म भए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी अनारमनि गाविसका उपाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै विभिन्न सामाजिक संघ संगठनको पनि नेतृत्व लिएर काम गरेका उनी एमालेको झापा जिल्ला सचिवालय सदस्य हुँदै २०७७ सालमा एमाले विभाजित हुँदा नेकपा (एकीकृत समाजवादी) तिर लागे र केन्द्रीय सदस्य बने । केही समययता राजनीतिक गतिविधिबाट स्वतन्त्रजस्तो देखिएका कन्दङ्बा आइतबार झापामा आयोजित एक कार्यक्रमबाट माओवादी केन्द्रमा प्रवेश गरे । २०६०–०६१ सालमा उनले बहुचर्चित गिरिबन्धु टिस्टेटको जग्गा सट्टापट्टा गरेर बेचबिखन हुन थालेपछि त्यस विरुद्धमा अदालतदेखि सार्वजनिक अभियान पनि उनले चलाए । अदालतले र देशका ठूला पार्टीका नेता कार्यकर्ताबाट उनलाई साथ मिलेन । बीचैमा उक्त अभियान छोडेका उनी सर्वोच्च अदालतबाट केही महिना अगाडि आएको फैसलाबाट खुसी देखिन्छन् । त्यसबेला उनले के कस्तो व्यवहार भोगे ? उक्त जग्गा हड्प्ने चलखेलहरु के के भए ? जनमतको हिसाबले देशको लोकप्रिय पार्टी र संसद संख्याको हिसाबले देशको दोस्रो ठूलो पार्टी एमाले छोडेर जनमत र संसद संख्याको हिसाबले कमजोर माओवादीमा नै उनी किन प्रवेश गरे ? यी र यस्तै विषयमा हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश ः

तपाइँ लामो समय एमालेमा रहनु भयो । बिर्तामोडमा रहेको गिरीबन्धु टिस्टेटको जग्गा कब्जाविरुद्ध संघर्ष पनि गर्नुभयो । निष्ठाको राजनीति
पनि गरिरहनु भएकै थियो । अब जीवनको उत्तरार्धतिर ठूलो पार्टी एमाले छोडेर तुलनात्मकरुपमा कमजोर पार्टी माओवादीमा किन जानु भएको ?

– हामीजस्तो मान्छेले संख्या हेर्ने कुरा भएन । हामीले हेर्ने भनेको विचार र कार्यक्रम हो । जनताका समस्याहरू, देशका समस्याहरुसँग मिल्ने एजेण्डा कसले ल्याएको छ र त्यो पार्टी कोसँग जोडिन खोज्दैछ भन्ने मुख्य कुरा हो । एमाले जनताको समस्या र देशको समस्याको बारेमा जोडिँदैन भन्ने कुरा सरकारमा गएपछि पुष्टि भएको छ । एमाले विचारबाट स्खलित भएको त पहिले नै थाहा थियो । त्यसैकारण म चुप लागेर बसेको पनि थिएँ । तर, अहिले सरकारमा गएपछि केपी शर्मा ओली सरकारले बिजुलीको सन्दर्भमा र एनसेलको विषयमा जुन निर्णय ग¥यो त्यो निर्णय गर्दा एमालेका कुनै पनि तहका मान्छेहरुले यो गलत छ भनेर बोलेनन् । केपी ओलीले जे ग¥यो त्यही मान्ने भनेपछि त त्यहाँ विचारको राजनीति सकियो ।

जनताले बालेको बिजुली काटेर उद्योगीलाई दिएको बिजुलीको बिललाई फर्जी बिल भन्नुहुन्छ ? एनसेलको १६ अर्ब पैसा किस्ताबन्दीमा दिने कुरा ग¥यो । त्यो किन दिनु ? एनसेललाई उपभोक्ताले त नियमित पैसा तिरिरहेकै छन् नि ? त्यसले गर्दा एमाले र केपी शर्मा ओली देश र जनताको विषयमा गैरजिम्मेवार छन् । क्वालिटी लेस मान्छेको जमातले कुनै पनि रुपान्तरणको काम गर्न सक्दैन, देश पनि बचाउन सक्दैन । दलाल पूँजीपतिहरुलाई पार्टीको सम्पत्ति र देश बुझाउने भयो । त्यतिमध्येमा दम भएको, विचार भएको, जनताले साथ दिँदा देश बचाउने र जनताको आधारभूत समस्या समाधान गर्ने कुरामा माओवादीले गर्न सक्छ जस्तो लाग्यो । भएका नेताहरुमा पनि राजनीतिक र विचारमा पनि प्रचण्ड अलिक क्लियर देखियो । त्यही भएको कारण उहाँलाई साथ दिनुपर्छ भनेर म माओवादीमा गएको हुँ ।

माओवादी पनि त विभिन्न काण्डमा जोडिएको छ नि ! जनताले त एमाले, कांग्रेस र माओवादीलाई एउटै डालोमा राख्छन् हैन ?

– होइन, अहिले हामीले तुलनात्मक रुपले हेर्ने हो । माओवादी भिन्न छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएको बेला देखाएको हो । उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्नु भएको त हो नि । कारबाही सुरू गरेपछि भ्रष्टाचारीहरूलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको कुरा त प्रष्ट भएको छ नि । सरकारमा आइसकेपछि पनि भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दा जोगाउने तिर गएको देखिन्छ । यो माओवादी पार्टी, कांग्रेस र एमालेबीचको भिन्नता होइन र ?

तपाइँले माओवादीको चाहिं के सम्भावना देख्नुभयो ?

– सम्भावना भन्दा पनि अहिलेको एजेण्डा उसको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्थापित भएको छ । उसको त्यो एजेण्डा कांग्रेस र एमालेले छोएकै छैन । छोएको भए माओवादी जिरो हुन्थ्यो । त्यसैको आधारमा माओवादीले आफ्ना एजेण्डा र कार्यक्रम तय गर्नुपर्छ । त्यो भयो भने देश र जनता समृद्ध हुन्छन् । यहाँबाट माओवादी भाग्न पाउँदैन । अहिलेको संविधानलाई सुरक्षा गर्न सक्ने र देशलाई बचाउने कुराबाट प्रचण्ड भाग्नै पाउनुहुन्न । कांग्रेस र एमालेले त्यो काम गर्दैनन् । उनीहरुले गर्छु भन्दा पनि कसैले पत्याउँदैन । माओवादीले यही एजेण्डालाई अझ सशक्त रुपमा उठाएर अगाडि बढ्नुपर्छ ।

अर्को प्रसंगमा जाऔं । तपाइँले गिरीबन्धु टि–स्टेटको ५१ बिघा जग्गा प्लटिङ हुँदै गर्दा त्यसविरुद्ध अभियान चलाउनु भएको थियो । यस विषयमा थप भनिदिनु न ?
– झापा जिल्लामा चारवटा टि–स्टेटहरू छन् । त्यसमध्येको एउटा गिरीबन्धु टि–स्टेट पनि हो । यो चारवटा टि–स्टेटहरूलाई ५ सय बिघासम्म जग्गा चिया खेतीका लागि २१ सालको भूमिसुधार ऐनले दिएको हो । त्यो राजपत्रमा उल्लेख छ । त्यो ऐनले के भनेको छ भने चिया खेती सकिएको दिन त्यो जग्गा राज्यको हुन्छ । यसकारण यो बेच्न मिल्दैनथ्यो । मैले भनेको पनि त्यही हो । पहिले पहिले त सबै पार्टीले मलाई साथ दिए । तर, पछि सबैलाई उनीहरुले किने । मलाई त किन्न सकेनन् । न्यायाधीश पनि किने के गरे । बिलम्ब भयो मेरो मुद्दा पनि कमजोर भयो । अदालतले सुरुमा गलत फैसला ग¥यो । तर, यो ढिलो चाँडो यो मुद्दा पल्टिन्छ भन्ने मलाई लागेको थियो । त्यस्तै भयो पल्टियो । मलाई खुसी लागेको छ । त्यो राज्यकै सम्पत्ति हो । त्यो सम्पत्ति गिरीबन्धु टिस्टेटलाई खान दियो भने अरु ९ हजार बिघा भन्दा बेसी जग्गा जसले पनि खाँदा हुन्छ । त्यो काम गर्नुहुँदैन ।

त्यसबेला मुद्दामामिला गर्दा र सर्वोच्चको फैसला आउँदासम्मका परिदृश्यहरू चाहिं के के थिए ?

– त्यतिखेर माओवादी कार्यकर्ता पनि गिरीबन्धु टि)स्टेटकै पक्षमा लागे । मैले उनीहरुलाई कन्भिन्स गरें । एमाले, कांग्रेस पनि पैसा खाएर चुप बसे । आरके मैनाली पनि पैसा खाएर छोड्यो । म एक्लै लडिरहें । मैले सिधा भन्दा त्यो मुद्दा लड्दा मेरो गोजीका ३० औं लाख सकियो । फेरि अर्को ३० लाख खर्च गर्दा त मलाई पनि मज्जा नआउने भयो । सबै मिल्छन् मैले मात्रै लडाइँ किन गर्नु भन्ने भयो र मैले खर्च नगर्दा मलाई अदालतले हराइदियो । मैले त्यसबेला चिनेका न्यायाधीशहरु पनि रिटायर्ड भए अनि मलाई असहज पनि भयो । उनीहरुले आफू अनुकूलका मान्छे ल्याए र उनीहरुको पक्षमा सुरुमा फैसला आयो ।

त्यहाँ पैसाको चलखेल पनि धेरै भएको कुरा छ । तपाइँले चाहिँ के थाहा पाउनु भएको छ ?

– पैसा त जति पनि खर्च गरे नि ! मलाई धेरै थाहा छैन । तर, भन्नेहरुले भन्दा गिरीबन्धु टि–स्टेटको जग्गाबारे ७४ सालपछि भएको चलखेलमा केपी जीलाई २ सय करोडसम्म पैसा दिए भन्ने सुनेको हुँ । एक सय करोडको जिम्मा चाहिं सुन व्यापारी दिपक मलहोत्राले लिएको भन्ने सुनेको हुँ । त्यसबेला भूमिसुधार मन्त्री पद्मा अर्यालको नजिकको मान्छेले नै भनेको मैले सुनेको हुँ । काठमाडौंमै हुँदा म आरके मैनालीलाई भेट्न गएको थिएँ । त्यसबेला सितापाइलामा नातामा पद्मा अर्यालको भदैसँग भेट भयो । त्यसबेला उसले ड्याङ्गैसँगले भन्यो । उतैको पक्षको मान्छे भनेर हामीलाई भनेको थियो । तर, अप्ठ्यारोमा प¥यो । तर, मैले धेरै खोजी गरिन । यति पैसाको चलखेल भयो भनेर उसैले भनेको थियो ।

बुधबार, ०२ असोज, २०८१, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर