मेयरले मुद्दा छाडे, सहयोद्धाले हर्क साम्पाङको साथ

विराटनगर । धरान उपमहानगरपालिका १३ स्थित फुस्रेका कुमार कटुवालले गएको स्थानीय तहको निर्वाचनमा धरानमा हर्क साम्पाङलाई मेयर पदमा जिताउन निकट सहयोगीको भूमिका निर्वाह गरेका थिए । बाटो बिराएका दलहरूलाई सबक सिकाउन उनी स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेरै सक्रिय भए । अहिले धरानमा देखिएका जति पनि समस्या छन् ती सबै दलहरूकै कारणले आएको उनको बुझाइ थियो । त्यसैले उनले मेयर पदमा साम्पाङलाई जिताउने र जितेपछि सफल मेयर बनाउने योजना सुनाउँदै टोलटोलमा घुमे ।

त्यसबेला मेयर साम्पाङले उठाएको मुद्दामा चित्त बुझेर निःस्वार्थ सहयोग गरेको उनी बताउँछन् । चुनावी एजेण्डा र घोषणा पत्र बनाउने मध्येका कटुवाल पनि एक हुन् । ‘२०७९ को चुनावभन्दा अगाडि भएको क्लोज क्याम्पमा यस पटक मेयर जिताउने र २०८४ को निर्वाचनमा वडादेखि सबै पदमा स्वतन्त्रलाई जिताउने भनेर छलफल र तयारी गरेका थियौं । जसमा २० वटै वडामा २ ÷२ जनाको दरले वडा अध्यक्षका लागि व्यक्तिहरुलाई तयारी राख्ने । एक जना वडामा उठ्ने र अर्काे पटक अर्काेले सघाउने गरी सहमति भएको थियो,’ उनले भने ।

कटुवालले थपे ‘ती दुई जनाले वडामा देखिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्या उठान गर्ने, वडामै समस्या समाधान गर्न दबाब दिने । वडाले समाधान नगरे मेयरलाई बोलाएर समाधान गर्न लगाउनेसम्मको तयारी थियो । तर, चुनाव जितेपछि मेयरले सबै बिर्सिए । हामीले ६ महिनापछि ती कुरा सम्झाउन खोज्दा बरु ढुङ्गो बोल्थ्यो होला मेयर बोलेनन् ।’ त्यसपछि कटुवालले उनको साथ छोडे ।

मेयरलाई सरसल्लाह तथा सुझाव नदिए पनि श्रमदानमा भने हिँडिरहेको उनले बताए । यस पटक खानेपानीको मूल्य वृद्धि गरेपछि भने अब धरानका मेयर ट्रयाकभन्दा बाहिर गइसकेको निष्कर्षमा आफूहरु पुगेको उनले बताए ।धरानमा १० राजनीतिक दलले खानेपानी महशुल वृद्धिको विरोध गरेका थिए । कटुवाल भने त्यस आन्दोलनमा पनि सहभागी छैनन् । ‘अब हर्ककै मुद्दा १० राजनीतिक दलले समातेका छन्,’ उनले भने, ‘अब यही मुद्दाले उनीहरु सच्चिने कि सकिने भन्ने टुंगो लगाउँछ । तर हर्क साम्पाङले एजेण्डा छोडिसकेकाले ट्रयाकमा फर्किने सम्भावना छैन ।’

सोही वडाका मदन राईले पनि साम्पाङको साथ छोडेका छन् । उनी पनि त्यसबेलाका एक जना चुनावी कमान्डर हुन् । चुनाव जिताउन पैसाको व्यवस्थापन गर्नेदेखि पोस्टर, पम्पलेट टाँस्ने र कार्यकर्ता परिचालन गर्नेसम्मका काम गर्थे उनी । खानेपानी संस्थानका पूर्व सुपरभाइजरको रुपमा लामो समय काम गरेकाले खानेपानीको विषयमा उनी अनुभवी हुन् । खानेपानी आपूर्ति सहज बनाउने र भ्रष्टलाई कारबाही गर्ने मुद्दा उठाएका कारण मदन हर्क साम्पाङलाई जसैगरी जिताउन लागिपरेका थिए ।

धरान खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगलाई बेवास्ता गर्दै गैरकानुनी तरबरले शुल्क वृद्धि गरेपछि मदन मेयरसँग रुष्ट छन् । साउन १ गतेदेखि लागू हुने गरी साम्पाङले धरानमा खानेपानीको महशुल तथा शुल्क वृद्धि गरे । तर उपभोक्ता र दलहरुले विरोध गरेपछि नयाँ शुल्क लागू हुन सकेन । त्यतिमात्र होइन आइतबार उनी बढाएको शुल्क स्थगित गरी पुरानै शुल्क कायम राख्न बाध्य बने ।

मेयर साम्पाङले गठन गरेको बोर्डप्रति नै मदनले प्रश्न उठाएका छन् । उनले बोर्डको वैधानिकता नै नरहेको आरोप लगाएका छन् । ०७७ सालमा खानेपानी संस्थानलाई गाभेर धरान उपमहानगरपालिकाको मातहतमा रहने गरी खानेपानी व्यवस्थापन बोर्ड गठन भएको थियो । बोर्ड भने अघिल्लो मेयर तिलक राईले गठन गरेका हुन् । त्यतिबेला साम्पाङ आफैंले बोर्ड गठनको विरोध गरेका थिए । जसलार्य राजनीतिक दलहरूले समर्थन जनाएका थिए । त्यसबेला गठन भएको ६ सदस्यीय बोर्डमा राजनीतिक नेताहरुसमेत सदस्य थिए ।

मेयर राईले आफू निर्वाचित भएपछि एक पटक पनि बोर्डको बैठक नराखेको आरोप खेपेका थिए । बोर्डका सदस्य सचिव राजु पोखरेल, पदेन सदस्य विजय श्रेष्ठ तथा राजनीतिक दलहरूको तर्फबाट श्याम पोखरेल र मनोज भट्टराई थिए । खानेपानी विज्ञको रूपमा रहेका देवराज श्रेष्ठको पदावधि सकिएको छ । बोर्डमा प्रदेश सरकारको खानेपानी डिभिजनका उपसचिव पनि पदेन सदस्य रहने व्यवस्था छ । अहिलेसम्म बोर्डले नै पूर्णता नपाएकाले यो अवैधानिक रहेको खानेपानी संस्थानका पूर्व कर्मचारी मदनले बताए ।

मदनको र कुमारको कुरा करिब मिल्दाजुल्दा छन् । ‘चुनावमा जितेर गएपछि २० ओटै वडामा खानेपानीको व्यवस्थापन गर्न खानेपानी उपभोक्ता समिति गठन गर्ने पहिलो एजेन्डा थियो,’ मदनले भने ‘निर्वाचित भएको ४ महिनापछि त्यो एजेण्डा बढाउन फायल लिएर जाँदा मेयरले तोकसमेत लगाउन नमोपछि म उनलाई भेट्न फेरि दोहो¥याएर गएको छैन ।’ चुनावी घोषणापत्र र त्यतिबेला तयार पारेको एजेण्डा कार्यान्वयनमा मेयरबाट साथ नपाएपछि मदनले उपमहानगरको काममा चासो दिन छाडेर घरव्यवहारमै व्यस्त भइरहेका छन् ।

‘ट्रयाक छोडेपछि कसको के लाग्छ र !,’ उनले भने, ‘हिजो महिनौंसम्म उहाँकै आन्दोलनमा साथ दिएर हिँडेका हौं । चुनावको समयमा झोला बोकियो । पम्प्लेट टाँसियो, छपाइयो, प्रचार गरियो । पदमा पुगेपछि सबै बिर्सिनुभयो, मुद्दा छोड्नुभयो अनि हामी चुपचाप बस्यौं ।’

धरानमा खानेपानीको मुद्दा उचालेरै दुई जना चुनाव जितेर मेयर पदमा पुगे । तर दुवैले त्यो मुद्दा छाडेको धरानवासीको आरोप छ । तत्कालीन मेयर तिलक राई र वर्तमान प्रमुख हर्क साम्पाङले आफूले उठाएको स्थानीयहरु बताउँछन् । गत स्थानीय तह निर्वाचनमा मुद्दा छाडेकै कारण तत्कालीन मेयर तिलक राईले पराजय भोग्नु परेको उनीहरुको दाबी छ ।
विरोधीको कुरा नसुन्दा मेयर आलोचित भइरहेको धरानकै महिला अनुपमा सुनुवार बताउँछिन् । ‘सल्लाह दियो भने पनि युटुबर भेला गराएर नामै लिएर गाली गरिहाल्नुहुन्छ,’ उनले भनिन् ‘उहाँले सामाजिक संजाल मार्फत नै फलानोप्रति किन नबोलेको भनेर उकास्नु हुन्छ । अनि उहाँका समर्थकले सामाजिक संजालमा रिप लेख्न थालिहाल्छन् ।’

स्थानीय ध्रुव नारायण श्रेष्ठले पनि मेयरले अरू कसैसँग सल्लाह नगरी ५ वर्षका लागि जनताले मलाई जिताएका हुन् मैले जे गर्दा पनि भइहाल्छ भन्ने भाव देखाउँदा समस्या भएको बताए ।

धरान १५ का वडाध्यक्ष नरेश इवारमले सेवा शुल्क बढाउने कुरामा एकलौटी निर्णय गरेका कारण जनता आन्दोलनमा जानु परेको बताए । मेयरको एकलौटी निर्णयले जनताले केही समय दुःख पाएको उनले बताए ।
धरानका घनश्याम तिम्सिनाले श्रमदान अभियानका लागि एक व्यक्ति एक सय रुपैयाँ सहयोग अभियान चलाएको स्मरण गरे । ‘राम्रो काम गरेको देखेर अभियान नै चलाएर रकम संकलन गरी पाइप किनिदिएका थियौं,’ उनले भने ‘अहिले उनकै विरोध गर्नु परेको छ ।’ राम्रो काम गर्दा समर्थन र नराम्रो काम गर्दा विरोध गर्ने उनले बताए ।

यस्तो थियो नयाँ मूल्य

मूल्य बढाउनु अघि १÷२ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ लाग्ने गरेको थियो मेयर हर्क साम्पाङले बढाएर २० हजार रुपैयाँ पु¥याए । यस्तै ४÷३ को पाइपमा नयाँ धारा जडान गर्दा २५ हजार तोकिदिए । जुन यसअघि १० हजार रुपैयाँमा जडान गर्न सकिन्थ्यो । बोर्डले १ इन्चको पाइपको धारा जडान गर्न ५० हजार शुल्क तोक्यो । यसअघि त्यसको शुल्क १५ हजार रुपैयाँ थियो । उनले डेढ इन्च पाइपमा पानी जडान गर्न ७५ हजार रुपैयाँ शुल्क तोकिदिए । जुन पहिले २० हजारमा जडान गर्न सकिन्थ्यो । यस्तै उनले अनेकौं महशुल र शुल्कहरुमा वृद्धि गरेका थिए । जुन स्थानीय उपभोक्ता र राजनीतिक दलहरुको आन्दोलबाट फिर्ता भएको छ ।

मङ्गलबार, २९ साउन, २०८१, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर