कोशीमा मन्त्रालयको संख्या बढाउने मुख्यमन्त्रीको संकेत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारको क्रममा मन्त्रालयको संख्या बढ्नसक्ने संकेत गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले अहिलेसम्म मन्त्रालयको संख्या बढाउने पक्षमा आफू नहरको बताए । तर, केन्द्रमा गठबन्धनको सहमति अनुसार चल्नुपर्ने भएकोले बढाउने निर्देशनमा आएमा आफूले बढाउन बाध्य हुने उनको भनाइ थियो ।

नेपाली काँग्रेसभित्रको गुट व्यवस्थानमा मन्त्रालय भागबण्डामा कुरो नमिल्दा सरकार विस्तार हुन सकेको छैन । यसअघि मुख्यमन्त्री र काँग्रेसबीच काँग्रेसलाई खाली रहेका चार मन्त्रालय दिने सहमति भएपनि काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम न दिएको बेला मुख्यमन्त्रीले मन्त्रालयको संख्या बढ्नसक्ने संकेत गरेका हुन् ।

‘अहिलेसम्म मन्त्रालयको संख्या बढाउने पक्षमा म छैन, सकेसम्म बढाउनु हुँदैन भन्ने पक्षमा छु┌ उनले भने, ‘तर, केन्द्रीय गठबन्धनले बढाउने निर्देशन गरेमा बढ्नसक्छ ।’ यसअघि पहिलो पटक मुख्यमन्त्री भएको बेला नै १३ वटा मन्त्रालय अनावश्यक भएको भन्दै ९ वटामा झारेका कार्कीले कामको बोझको आधारमा प्रदेशका ११ वटासम्म मन्त्रालय हुनसक्ने बताए । ‘कामको बोझको आधारमा ११ वटासम्म मन्त्रालय हुनसक्छ’ उनले भने ‘तर, अहिले त्यस्तो बोझको महशुस भने भएको छैन ।’

अहिले कोशी प्रदेशमा ९ वटा मन्त्रालय रहेका छन् । उक्त मन्त्रालयमध्ये कांग्रेसको भागमा ४ र एमालेको भागमा ५ मन्त्रालय रहनेगरी सहमति भइसकेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले पत्रकारका प्रश्नको जवाफ दिने क्रममा मन्त्रालय थप्ने पक्षमा नरहेको पटक–पटक दोहोर्याउँदै विभाजन हुनसक्ने संकेत पनि गरिरहे । भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने धेरै काम रहेको र प्रदेशको एक तिहाईभन्दा धेरै बजेट भएकोले सो मन्त्रालय विभाजन गर्न सुझाब आएको उनको भनाइ थियो । ‘भौतिक मन्त्रालय विभाजनको सुझाब छ, काम र बजेट पनि धेरै छ’ उनले भने, ‘तर, पनि अहिले विभाजन गरिहाल्ने पक्षमा म छैन ।’

मुख्यमन्त्री कार्कीले काँग्रेस सरकारमा आउन ढिलाइ हुनुको कारण आफूलाई जानकारी नभएको बताउँदै मन्त्रालय थप गर्ने विषयमा पनि औपचारिक कुराकानी नभएको बताए । यद्यपी त्यसबारेको चर्चा भने सुनको उनले स्वीकार गरे । काँग्रेस संसदीय दलका नेता र काँग्रेस सभापतिले पनि मन्त्रालय विभाजनबारे नभनेकोले औपचारिक कुराकानी भने नभएको उनको भनाइ छ ।

काङ्ग्रेसकै कारण सरकार विस्तारमा ढिलाई भएको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले काँग्रेसको नाम आउनसाथ सरकारले पूर्णता पाउने बताए । तर, अहिलेको अवस्था हेर्दा भदौयता सरकार विस्तार हुने संभावना नदेखिएको उनको भनाइ छ । ‘आज काँग्रेस नेताहरुसँग भएको थियो’ उनले भने, ‘अब सरकार विस्तारमा भदौ लाग्ने जस्तो देखिएको छ ।’

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले काँग्रेसले माग गरेजस्तो बजेट पुनःलेखन नहुने स्पष्ट पारे । बजेटमा नमिलेको विषयहरु कानुनी प्रबन्ध अनुसार मिलाइने भन्दै उनले त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहमति लिइने बताए ।

सरकारले पूर्णता नपाएको कारण प्रदेशसभा बैठक बोलाउन ढिलाइ भएको बताउँदै मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षले संसदको बैठक राख्न गरेको माग सकारात्मक भएको बताए । यसअघि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल संसद बैठक राख्न माग गरेको सन्दर्भमा मुख्यमन्त्री कार्कीले कतिपय बिधेयकहरु पास गर्नुपर्ने अवस्था रहेकोले संसद बैठक छिट्टै बस्ने बताए ।

प्रदेशसभाका ७ वटा संसदीय समितिहरुको सभापति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसमेतको सहमतिमा छिट्टै टुंगो लगाउने पनि मुख्यमन्त्री कार्कीले बताएका छन् ।

आइतबार, २७ साउन, २०८१, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर