इटहरीको बजेट पास गरेपछि एमालेभित्र लफडा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । यसअघि बजेटको विरोधमा कार्यपालिकामा बहुमत रहेको एमाले रहेकोमा पार्टीका केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा सोमबार बजेट पास भएको थियो ।

उपमेयर, कार्यपालिका सदस्य र नगरसभाका सदस्यहरुको असन्तुष्टिबीच केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै बजेट पास गर्न निर्देशन दिएको भन्दै एमालेमा विवाद चर्केको छ । एमालेभित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।

उपमहानगरले ल्याएको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेटमा ९६ करोड आन्तरिक आय प्रक्षेपण गरिएको छ । गत असार १० गते वडाअध्यक्ष दिवस पोखरेलद्वारा प्रस्तुत विनियोजन विधेयक र अर्थ विधेयकमा नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिले असन्तुष्टि देखाएपछि नगरसभा नै बस्न सकेको थिएन ।

बजेट प्रस्तुत गर्ने समयमा बहिष्कार गरेका एमालेको सम्पूर्ण नगरसभा सदस्यहरू ३० गते बोलाइएको बैठकमा समेत विरोध जनाएर उपस्थित भएनन् । तर, असार मसान्तमा बजेट पास गर्नैपर्ने व्यवस्था अनुसार ३१ गते बोलाइएको बैठकमा भने एमाले विभाजित भएको थियो । सभामा उपमेयर सङ्गीता चौधरीसहित वडा नम्बर ३, ९, १० र १५ का वडाध्यक्षले बहिष्कार गरेका थिए भने बाँकी वडाध्यक्षसहित बहुमत नगरसभा सदस्यहरूले समर्थन गरेपछि बजेट पारित भयो ।

नेकपा एमाले इटहरी नगर किमिटीले यथास्थितिमा बजेट पास गर्न सकिने अवस्था नरहेकाले नगरसभामा सहभागी नहुन आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन दिएको थियो । तर, केन्द्रीय नेताहरुको निर्देशमा बहुमत नगरसभा सदस्य बैठकमा सहभागी भए । पार्टीको इटहरी उपमहानगरका नेतृत्वलाई वेवास्ता गर्दै नेताहरुले चलखेल गरेको आरोप एमाले कार्यकर्ताहरुले लगाएका छन् ।

बजेट पेश भएका दिनदेखि निरन्तर यथास्थितीमै पास गर्न नहुने बिषयमा लागेपनि अन्तिम समयमा आएर केन्द्रका नेताहरुको अनावश्यक हस्तक्षेपका कारण यस्तो अवस्था आएको एमाले इटहरी नगरमा अध्यक्ष रुपेश बस्नेतले बताएका छन् । पार्टीलाई कमजोर बनाएर निहित स्वार्थका लागि यस्तो गतिबिधि भएको उनको आरोप छ ।

केन्द्रीय सदस्य तयब हुसैनले वडाध्यक्षहरूलाई बोलाएर बजेट पारित गर्न निर्देशन दिएका थिए । वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरीको पहलमा एमालेका केन्द्रीय नेतासँग मेयर पौडेलले छलफल गरेपछि बजेट पारित गर्ने वातावरण बनेको हो ।

राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तर्जुमा समितिको बैठकको निर्णयपछि कार्यपालिकाबाट अनुमोदन नभई बजेट ल्याएकोले विरोध गरेको उपमेयर चौधरीको भनाइ छ । इटहरी उपमहानगरपालिकाको नगरसभामा र कार्यपालिकामा नेकपा एमालेको भारी बहुमत छ ।

पार्टीको अडानलाई लत्याएर नगरसभामा सहभागी भई बहुमतले बजेट पास गरेपछि एमालेका कार्यकर्ताले भने विरोध गर्दै त्यसमा संलग्न जनप्रतिनिधिहरूलाई स्पष्टीकरण लिई कारबाही हुनुपर्ने माग गरेका छन् । राजनीतिक बेइमान दलालहरूले पार्टी र नगरप्रति घात गरेको उनीहरुको आरोप छ ।

इटहरीले गत आर्थिक वर्षको भन्दा ३० प्रतिशत अर्था ८३ करोड बढीको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट घाटा ८३ करोड ६४ लाख २० हजार हाराहारीमा रहेको बेला बजेट बढाउनु गलत भएको तर्क एमाले जनप्रतिनिधिले गर्दै आएका थिए ।

एमालेबाट निर्वाचित नगर सदस्य दीपक घिमिरेले बजेट स्थानीय सरकार सञ्चालन ऐन भन्दा फरक तरिकाबाट सभामा बजेट पेस भएको भन्दै उपप्रमुखको अनुपस्थितिमै बजेट पास गरिएकोप्रति आपत्ती जनाएका छन् ।

पारित बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघीय ससर्त अनुदान चालुतर्फ ४९ करोड ४३ लाख र संघीय सशर्त अनुदान पुँजीगततर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै, संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो । प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ । संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।

खर्चतर्फ चालुमा १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत र पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५ प्रतिशत) बिनियोजन गरिएको छ ।

मङ्गलबार, ०१ साउन, २०८१, दिउँसोको ०४:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर